साफ यू–१७ च्याम्पियनसिप आजदेखि

दुई अध्यादेश पारित, दुई विधेयक टेबुल

कर्णाली – कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको दोस्रो बैठकबाट दुई अध्यादेश सर्वसम्मत पारित भएका छन् । दुईवटा विधेयक भने प्रदेशसभामा टेबुल गरिएको छ ।   

    प्रदेशसभाको आज बसेको बैठकमा सभामुख राजबहादुर शाहीले अनुमति दिएसँगै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रशासकीय कार्यविधि नियमित गर्ने पहिलो संशोधन अध्यादेश, २०७७ र प्रदेश लोकसेवा आयोग दोस्रो संशोधन अध्यादेश २०७७, स्वीकृत गरियोस् भनी सभासमक्ष प्रस्ताव गर्नुभएको थियो । प्रस्तावित दुवै अध्यादेश सभाबाट सर्वसम्मत पारित भएका छन् ।

    कानूनमन्त्री भण्डारीले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ सभासमक्ष टेबुल गर्नुभयो । सामाजिक विकासमन्त्री विमला केसीले पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, २०७६ सभासमक्ष टेबुल गर्नुभयो ।

    त्यस्तै, सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीले कर्णाली प्रदेशको स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथि संशोधन प्रस्ताव पारित भएको छलफलको प्रतिवेदन पेश गर्नुभएको थियो । 

    बैठकको विशेष समयमा नेकपा एमाले प्रदेशसभा दलका नेता यामलाल कँडेलले सरकारलाई जनभावनाअनुरुप अगाडि बढाउने मामिलामा सहयोग रहने बताउनुभयो । वैशाख ३ गतेको घटनालाई स्मरण गर्दै उहाँले कतिपय प्रदूषित कुराले नेकपा एमाले राष्ट्रव्यापी चर्चाको विषय बनेको र कर्णालीमा घटित घटना राजनीतिक अपराध भएको टिप्पणी गर्नुभयो । 

    प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले कर्णालीमा कोभिडको भयावह अवस्था देखापरेको जनाउँदै यसको व्यवस्थापनमा सरकारले ढिला गर्न नहुनेमा जोड दिनुभयो । 

    त्यसैगरी, प्रदेशसभा सदस्यद्वय ठम्मर विष्ट र पद्मा खड्काले कोरोनासँग सम्बन्धित चिकित्सकहरुको अभाव रहेको औँल्याउँदै प्रदेश सरकारले समन्वयको भूमिकालाई प्रभावकारी बनाएर लैजानुपर्ने सुझाव दिनुभएको थियो । प्रदेशसभाको तेस्रो बैठक वैशाख १४ गते अपराह्न २ बजे हुने सभामुख शाहीले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : १८ बजे