‘काष्ठमण्डप’ विश्वकै लागि महत्वपूर्ण निधि हो : मुख्यमन्त्री पौडेल

बागमती –  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुरातात्विक महत्वको ‘काष्ठमण्डप’ विश्वकै लागि महत्वपूर्ण निधि भएको बताउनुभएको छ । पुनःनिर्माणको क्रममा रहेको काष्ठमण्डपको अवलोकनका क्रममा आज मुख्यमन्त्री पौडेलले काष्ठमण्डपले एक हजार ५०० वर्ष अगाडिको मानव सभ्यतामा नेपाली कला र संस्कृतिले प्राप्त गरेको उचाइलाई झल्काउने उल्लेख गर्नुभयो ।

विज्ञान र प्रविधिको वर्तमान युगमा निर्माणमा चुनौतीको रुपमा रहेको काष्ठमण्डप त्यसबेलाको साधनस्रोत प्रयोग गरेर कसरी बन्यो होला भन्दै धेरैको मनमा प्रश्न उब्जाउने काष्ठमण्डप आश्चर्यको केन्द्र रहेको बताउनुभयो । उहाँले प्रदेश सरकार यस्ता संरचनाको संरक्षण र सम्वद्र्धनमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । 

विसं २०७२ को भूकम्पमा ध्वस्त भएको काष्ठमण्डपको ९० प्रतिशत पुनःनिर्माण सम्पन्न भएको छ । झण्डै दुई हजार रुखको काठ प्रयोग हुने अनुमान गरिएको काष्ठमण्डपको पुनःनिर्माणमा हालसम्म १० हजार क्युफिटभन्दा बढी काठको प्रयोग भएको काष्ठमण्डप पुनःनिर्माण समितिका संयोजक तथा बागमती प्रदेशसभा सदस्य राजेश शाक्यले जानकारी दिनुभयो । 

“हामीले काष्ठमण्डपकै लागि भनेर रुख काटेका छैनाँै, विकास निर्माणका विभिन्न योजनामा काटिएका रुख काष्ठमण्डपको पुनःनिर्माणमा प्रयोग गरेका छौँ”, उहाँले भन्नुभयो । पाँचौँ शताब्दीमा एउटै रुखको काठबाट निर्माण भएको मानिएको काष्ठमण्डपमा प्रयोग भएको काठको परीक्षणमा पाँचौँ शताब्दीको काठ पाइएको उहाँले बताउनुभयो । काष्ठमण्डपको पुनःनिर्माण हालसम्म तीनपटक गरिएको पाइएको शाक्यले जानकारी दिनुभयो । सत्रौँ शताब्दीमा राजा प्रताप मल्लका बुबा राजा लक्ष्मीनरसिंह मल्लले काष्ठमण्डपको पुनःनिर्माण गरेका थिए । 

रासस

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १० : १९ बजे