एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको सोमबारदेखि सुरु भएको बैठक आज पुनः बस्ने भएको छ  

ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान भवन च्यासलमा आज अपरान्ह ३ः०० बजे केन्द्रीय कमिटी बैठक पुनः बस्न लागेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

सोमबार पनि एमालेको केन्द्रीय कमिटी बैठक बसेको थियो। उक्त बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२  सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदलाई  कारवाही गर्ने  जनाएको थियो । 

एमालेले वरिष्ठ नेता नेपालसहितका सांसदले पार्टी विधि विधान र पार्टी निर्णयविरुद्ध प्रधानमन्त्रीलाई मतदान गरेकाले स्पष्टीकरण सोधिएको  जनाएको छ ।

आइतबार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्दा एमालेका २२  सांसदले पार्टी निर्णयविरुद्ध विश्वासका पक्षमा मतदान गर्नुभएको थियो । 
 

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : ५५ बजे