आइतबारदेखि विद्युत् सेवा अवरुद्ध

डोटी – लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढीमा आइतबारदेखि विद्युत् सेवा बन्द भएको छ । 

घण्टौँसम्म विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक मारमा परेका छन् । आइतबार राति साढे १२ बजेदेखि जिल्ला सदरमुकामको विद्युत् सेवा अवरुद्ध भएको हो । दिपायल सिलगढी नगरपालिका–५ बागठाटादेखि जिल्ला सदरमुकाम सिलगढीको शैलेश्वरी मन्दिरको बीचमा पर्ने लाइनमा खराबी आएपछि यहाँको विद्युत् लाइन अवरुद्ध भएको डोटी साना जल विद्युत् वितरण कार्यालय दिपायलले जनाएको छ । 

    अवरुद्ध भएको विद्युत् सेवा पुनः सञ्चालनका लागि कर्मचारी खटिए पनि लगातारको वर्षाका कारण समस्या पत्ता लगाउन नसकिएको विद्युत् कार्यालयका प्रमुख कपिल जोशीले बताउनुभयो । अवरुद्ध विद्युत् सेवा मर्मतका लागि प्राविधिक टोली अहिले पनि काममै खटिएको उहाँले जानकारी दिनुभयो । विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी कार्यालयको कामकाज आज दिनभरि प्रभावित हुनाका साथै उद्योग, कलकारखाना, घरायसी कामकाजलगायत एफएम रेडियो र   पत्रपत्रिकासमेत प्रसारण तथा प्रसारण हुन सकेका छैनन् । 

गर्मीको समयमा पनि अवरुद्ध विद्युत् सेवा समयमै पुनः सञ्चालन गर्नका लागि विद्युत् कर्मचारीले लापरबाही गरेको भन्दै यहाँका नागरिक आक्रोशित बनेका छन् ।

रासस

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १० : २६ बजे