पराजित होइन, प्रतिपक्षी एमाले

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । एमालेकै  वरिष्ठ नेता माधव नेपाल शुरुदेखि नै आफ्नै अध्यक्षले नेतृत्व गरेको सरकारलाई ढालेर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन लाग्नुभएको थियो र स्वभाविक रुपमा देउवा प्रधानमन्त्री बन्नुभयो । देउवा सामान्य बहुमतको मात्रै होइन अधिकतम बहुमतको प्रधानमन्त्री बनिरहँदा कुण्ठा र बदलाको राजनीति गर्नेहरु सायद हर्षित भएको हुनुपर्छ । आफनै घरमा आगो लगाएर छिमेकीकोमा ओत खोज्ने र आफ्नै पार्टी समाप्त पारेर विपक्षीलाई सहयोग गर्ने यो प्रबृत्ति अवदेखि माधव प्रवृतिका रुपमा परिचित हुनेछ । ओलीलाई सत्ताबाट विस्थापित गर्न माधव नेपाल सफल त हुनुभयो तर आफनो ५० औं  बर्षको राजनीतिक जीवन र कम्युनिष्ट पार्टीको भविष्य नै समाप्त पार्नुभयो । त्यसो त देउवालाई विश्वासको मत दिनेहरुमा विगतमा ओलीलाई नै समर्थन गरेका र ओली मन्त्रिपरिषद्मा केही समय मन्त्री भएका व्यक्तिहरुपनि छन् । तर तिनको राजनीतिक पृष्ठभुमि विचारको होइन, पद, शक्ति र पैसाको हो । शक्ति र पैसाको खेलमा लाग्नेहरु जता आफ्नो भविष्य देख्छन त्यतै लाग्छन् । तिनलाई एमाले काँग्रेस माओवादी भन्नुको कुनै अर्थ रहदैन । संसदीय राजनीतिमा पार्टी महत्वपुर्ण हुन्छ र पार्टीको निर्देशन, ह्वीप अनिवार्य हुन्छ तर केपी शर्मा ओलीबिरुद्ध अदालतसमेतको सेटिङ्गमा पार्टीबाट निर्वाचित सांसदहरुलाई ह्वीप नलाग्ने र पार्टी निर्देशन नमान्दापनि हुने खालको जुन फैसला आयो  यी सवै त्यसकै प्रभावको परिणाम हुन् । 

झट्ट हेर्दा आज ओलीलाई पराजित र सत्ताच्युत गर्न असंसदीय र गैरदलिय मान्यतालाई स्थापित गर्न खोजिएको छ । भोलि यसले शेरबहादुर देउवा र प्रचण्डहरुलाई नै पिरोल्ने छ । राजनीतिमा यसले अराजकता र स्वछन्दताको विकृत श्रृखलाको निमार्ण गर्नेछ । अहिलेपनि प्रतिनिधिसभामा ओली नेतृत्वको नेकपा एमाले सबैभन्दा ठुलो पार्टी हो । राजनीतिक जनादेश ओली र एमालेको पक्षमा छ । ओली नेतृत्वको कारण देशभर एमाले शसक्त र थप प्रभावकारी भईरहँदा त्यसबाट हतोत्साहीत भएकाहरु र आफ्नो राजनीतिक जीवन समाप्त भएको ठान्नेहरु अपवित्र गठबन्धन बनाएर एमाले र ओलीबिरुद्ध लागेका हुन् भन्ने प्रष्टै छ । यो विचार सिद्धान्तको लडाँइ थिएन र होइन, यो केवल सत्ता, शक्ति र भागबण्ड को राजनीति हो । आफ्नै पार्टी र आफनै अध्यक्षलाई अपमान गरेर मान प्राप्त गरेको ठान्ने माधव प्रवृत्ति कम्युनिष्ट राजनीतिमा एउटा अर्को ‘लालगद्धार’ प्रबृतिका रुपमा परिचित हुनेछ । 

प्रधानमन्त्री बन्नुभएका शेर बहादुर देउवालाई बधाई छ, प्रधानमन्त्री ओलीले आरम्भ गरेका विकास र समृद्धिका कार्यक्रम लाई अघि बढाउनुहोस, देशलाई सहि नेतृत्व दिनुहोस, यो कामना त हामी गर्न सक्छौ तर ४/४ पटक असफल प्रधानमन्त्री भएका देउवा पाचौ पटक पनि असफलनै बन्नुहुन्छ भन्नलाई पर्खर्नु पर्दैन किनकी उहाँको पाँचौ पटकको प्रधानमन्त्री संयोगको प्रधानमन्त्री हो । देउवासँग देश विकास, दृष्टिकोण र भिजन खासै देखिदैन त्यसमापनि सवैलाई भाग पुरयाएर खुसी पार्दे सत्ताको नेतृत्व गर्नु चुनौती पुर्ण छ । 

एमाले अहिले सत्ताबाट प्रतिपक्षि दलको हैसियतमा पुगेको छ । यद्यपी जनादेश भने एमालेकै पक्षमा छ, त्यसैले निर्वतमान प्रधानमन्त्री ओलीले भनेजस्तै गुण र दोषको आधारमा अव समर्थन या बिराध गर्ने भुमिकामा उहाँ रहनुहुनेछ साथै देश व्यापी रुपमा निर्वाचनको तयारीमा लाग्नुहुनेछ । एमाले परमादेशवाला प्रधानमन्त्रीको पक्षमा होइन जनादेशवाला प्रधानमन्त्रीको पक्षमा छ, यो कुरा फेरि एमालेले प्रमाणित गर्ने छ । 
 

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १२ : ५४ बजे