साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कर्णाली प्रदेशका चार सांसद पदमुक्त

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएका चारजना सांसद पद मुक्त भएका छन् । प्रदेशसभा नियमावलीको दफा १९१ बमोजिम सातौ अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले संसद्लाई जानकारी गराएपछि सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाको पद रिक्त भएको हो ।

राजनैनिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४(१) बमोजिम आवश्यक कार्यार्थ प्रदेशसभामा प्रदेशसभा सदस्यबाट निष्कासन गरिएको पत्र एमालेले संसद् सचिवालयमा दर्ता गराएको थियो । उक्त पत्रलाई आज बसेको संसद् बैठकमा सभामुख शाहीले दल त्यागसम्बन्धी नियमावलीअनुसार संसद्लाई जानकारी गराउनु भएको हो । पद रिक्त भएका चारजना सांसदले वैशाख ३ गते मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए ।

एमाले संसदीय दलको बैठकले विपक्षमा मतदान गर्ने ह्वीप जारी गरे पनि दलको ह्वीप उल्लंघन गरी गैरजिम्मेवार, असंसदीय र लज्जास्पद गतिविधि गरेको एमालेको ठहर छ । उनीहरुले फ्लोर क्रस गरी संसदीय लोकतन्त्र र दलीय पद्दतीमाथि आँच आउने काम गरेको भन्दै वैशाख १० गतेदेखि लागू हुन गरी नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एमाले प्रदेशसभा संसदीय दलको सदस्य, प्रदेशसभा सदस्य र पार्टीको साधारण सदस्यसमेतबाट निष्कासन गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३, प्रदेशसभा नियमावली २०७४, नेकपा एमाले प्रदेशसभा संसदीय दलको विधान २०७७ बमोजिम फ्लोर क्रस गर्ने चार जनालाई प्रदेशसभा सदस्य पदबाट निष्कासन गरिएको संसदीय दलका नेता यामलाल कँडेलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ । फ्लोर क्रस गरी मतदान गर्ने  ज्वाला यसभन्दा अघि आर्थिक मामिला तथा योजनामन्त्री, बुढा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री हुनुहुन्थ्यो । अहिले फ्लोर क्रस गर्ने चारजनामध्ये ज्वालाबाहेक तीनजना मन्त्री हुनुभएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ३ : ४९ बजे