पहिरोले सिलगढी–बझाङ जोड्ने सडक अवरुद्ध

डोटी । तीन दिनदेखिको लगातारको वर्षाका कारण पहिरो जाँदा जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ । 

उक्त सडकअन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि यातायात सञ्चालन गर्न समस्या हुनुका साथै नागरिकलाई जिल्ला सदरमुकाम सिलगढी आवतजावतमा समस्या भएको छ । 

पहिराले सडक अवरुद्ध गरेपछि बिरामीलाई जिल्ला अस्पताल लैजानदेखि गाउँमा अत्यावश्यक सामग्री ढुवानी गर्न समेत समस्या भएको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका मानबहादुर साउदले जानकारी दिनुभयो ।

यसैगरी उक्त पहिराले खानेपानीको मुहानका पाइपलाइन बगाएकाले सिलगढी बजारमा तीन दिनदेखि खानेपानीको हाहाकार भएको सिलगढी खानेपानी उपभोक्ता समितिका प्रमुख रामचन्द्र धामीले जानकारी दिनुभयो । 

उहाँका अनुसार पहिराले बगाएको खानेपानी मर्मतका लागि कर्मचारी खटिए पनि ठाउँ–ठाउँमा पहिरो गएकाले मर्मत गर्न सकिएको छैन । पहिरो पन्छाई अवरुद्ध सडक सञ्चालनका लागि कुनै पनि निकायबाट पहल नभएको भन्दै यहाँका नागरिक आक्रोशित बनेका अर्का स्थानीयवासी पहलसिंह साउदले जानकारी दिनुभयो । 

जिल्लामा अहिले पनि वर्षा भइरहेको छ ।रासस
 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ८ : ०३ बजे