केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न एमाले स्थायी कमिटी बैठक बस्दै 

काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । 

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ः०० बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक आयोजना गरिएको बताउनुभयो । 

यही साउन ४ गते १४औँ केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ः०० बजे बोलाइएको छ । उहाँका अनुसार पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाँकिएको छ ।

एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ । 

शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । शुक्रबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागिता रहेको थिएन । सो बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो । 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ३३ बजे