सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले दोस्रो पुस्ताको निष्कर्ष : १० बुँदे सहमतिलाई कार्यन्वयन गरी पार्टीलाई एकताबद्ध बनाइने  

काठमाडौं । एमालेको दोस्रो पुस्ताका नेताहरुको आज बसेको बैठकले एमाले कार्यादलले तयार पारेको १० बुँदालाई दुबै पक्षले कार्यन्वयन गर्नु पर्ने निश्कर्ष निकालेको छ । आज सिंहदरबार स्थित एमाले संसदीय दलको कार्यालयमा विघटन गरिएको कार्यादलका सदस्यहरु बीच  भएको छलफलमा दुबै पक्षका नेताहरुले कार्यदलको सहमतीलाई कार्यन्वयन नगर्नुको विकल्प नरहेको बताएका हुन । बैठकपछि जानकारी दिनुहुँदै एमाले संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङले नयाँ सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढाएर पार्टीलाई एकताबद्ध बनाउने निष्कर्ष निकालिएको जानकारी दिनुभयो ।

कार्यदलले गरेको सहमति पार्टी अध्यक्ष  ओली र वरिष्ठ नेता नेपाललाई बुझाइसकेको छ । पार्टीभित्र देखिएका विवाद समाधान गर्नका लागि गठित कार्यदलले गत असार २७ गते १० बुँदे सहमति गर्दै पार्टीलाई एकताबद्ध बनाउने निर्णय गरेको थियो । 
    
पार्टी सचिव गोकर्णराज विष्टले नयाँ सहमतिका आधारमा पार्टी एकता बचाउनका लागि छलफल गरिएको बताउनुभयो ।“एमालेलाई एकताबद्ध गर्न आमपार्टीपङ्क्ति चिन्तित रहेको छ”, उहाँले भन्नुभयो, “पार्टीप्रति कार्यकर्तामा देखा परेको अन्योलता र चिन्तालाई दूर गर्नका लागि पार्टीलाई फेरि पनि एकताबद्ध बनाउन सन्देशका लागि भेटघाट गरेको हौँ ।”

    छलफलमा पार्टी उपाध्यक्ष भीमबहादुर रावल, उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, सचिवद्वय प्रदीप ज्ञवाली, भीमप्रसाद आचार्य र पृथ्वीसुब्बा गुरुङ लगायतको सहभागी हुनुहुन्थ्यो  ।  

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १ : ४२ बजे