यस्तो छ आजको विनिमय दर

राष्ट्रपतिले गराउने शपथमात्रै शितल निवासमा गर्न बैशाखमै परिपत्र जारी

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ केहीबेरमा हुदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बिहीबार महान्यायाधिवक्तामा नियुक्त खातीको शपथ शुक्रबार दिउँसो सर्वोच्च अदालतमा हुने तय भएपछि राष्ट्रपति भण्डारीलाई विवादमा ल्याउने प्रयास भईरहेको छ । राष्ट्रपति भण्डारीले महान्यायाधिवक्तालाई शितलनिवासभन्दा अन्यत्र सपथ गराउन निर्देशन दिएको भन्ने जस्ता भ्रामक समाचार प्रसारण हुन थालेपछि सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले त्यसमा सत्यता नभएको बताउनुभयो ।

उहाँका अनुसार गएको बैशाखमा राष्ट्रपति कार्यालयले राष्ट्रपतिले गराउने बाहेकका शपथ सर्वोच्च अदालतमै व्यवस्थापन गर्न पत्र लेखेकाले त्यसैअनुसार नवनियुक्त महान्यायाधिवक्ता खातीको शपथ ग्रहण कार्यक्रम सर्वोच्चमै तय गरिएको बताउनुभयो ।

यसअघिका  महान्यायाधिवक्ताहरुले शितलनिवासमा राष्ट्रपतिको रोहवरमा शपथ लिने परिपार्टीलाई बैशाखदेखि परिर्वतन गरिएको स्रोतले बताएको छ । यसअघि सवैधानिक आयोगका सदस्यहरुले पनि सम्बन्धीत कार्यालयमा नै शपथ लिएका थिए । आजको शपथ ग्रहण कार्यक्रमपनि त्यसैको निरन्तरतामात्र भएको  स्रोतको दाबी छ। ‘यसमा यस्लाई गर्ने, उसलाई नगर्ने भन्ने कुरै होइन वैशाखदेखि राष्ट्रपतिले गर्ने शपथ यहाँ हुन्छ । उहाँले नगर्ने सपथ सम्बन्धीत कार्यालयमा नै हुन्छ भन्ने परिपत्र जारी भएको छ । यसलाई ठुलो मुद्धा बनाउन जरुरी छैन’ स्रोतले भन्यो ।

पछिल्लो समय राष्ट्रपति भण्डारीमाथी हुँदै नभएका आरोपहरु अस्वाभाविक रुपमा लाग्दै आएका छन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई नियुक्ति दिंदा संविधानको धारा राष्ट्रपतिले उल्लेख नगरेको भन्दै विवाद उत्पन्न गर्न खोजिएको थियो । शपथ र मन्त्रीहरुको कार्यविभाजनको पत्रलाई सच्याइयो भनेर प्रचार पनि गरिएको थियो तर राष्ट्रपति कार्यालयले त्यस बेलापनि पत्र सच्याइएको होइन भन्ने जवाफ दिएको थियो । 

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  २ : ४५ बजे