सुनको मूल्यमा नयाँ कीर्तिमान

बिग्रिएको छवि सुधार्न देउवाको बालुवाटार प्रवेश

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौ पटक प्रधानमन्त्रीका रुपमा बालुवाटार प्रवेश गर्नुभएको छ । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै भाग्यमानी सुदुरपश्चिमका नेतामा पर्नुहुन्छ। आफ्नो राजनीतिक जीवनमा आलोचकबाट प्रजातन्त्र दरबारलाई लगेर बुझाएको भन्ने आरोप खेप्दै आउनुभएका देउवाको यसअघिका चार कार्यकालपनि खासै सम्झन लायक छैनन । पटक पटक सत्ताको नेतृत्व गरिसक्नुभएका देउवालाई यतिबेला सत्ताको नेतृत्व हस्तान्तरण गरेको जनताले खासै रुचाएका छैनन । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बन्नुभएका देउवाको अगाडिका ४ कार्यकालको अनुभब र विवादित छविका कारण देउवाले प्रधानमन्त्रीको जिम्मेवारीका रुपमा देशलाई केही उपलब्धी हासिल गराउन सक्नुहोला भन्ने विश्वास उनीहरुमा छैन । 

२०४६ सालको राजनीतिकपछि देउवा राजनीति चर्चाको केन्द्रमा पर्दै आउनुभएको छ । २०४६ सालको जनआन्दोलनपछि देउवा सुदूरपश्चिम क्षेत्रमा नेपाली कांग्रेस पार्टीको राजनैतिक प्रमुखको भूमिकामा हुनुहुन्थ्यो । २०४८ सालमा डलेलधुराबाट सांसद बन्नुभएका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री हुनुहुन्थ्यो । २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उहाँ पहिलोपटक संयुक्त सरकारको प्रधानमन्त्री बन्नुभएको थियो । त्यसबेलाको पहिलो कार्यकालमा नै उहाँ निकै नै आलोचित हुनुभएको थियो । उहाँकै नेतृत्वमा महाकाली सन्धी भयो जुन अहिले सम्म पनि विवादमा नै छ र त्यो देशको हितमा छैन भन्ने तर्कपनि रहदै आएको छ । पहिलो प्रधानमन्त्री हुँदा देउवाले ४८ जनाको मन्त्रीमण्डल बिस्तार गर्नुभएको थियो, जुन त्यसबेला धेरै मन्त्रीहरु सामेल गरेर मन्त्रिमण्डल बिस्तार गर्ने व्यक्तिका रुपमा पनि उहाँको चर्चा हुने गरेको थियो । पहिलो कार्यकालमा नै ‘सुन्दरी काण्ड’ लगायतको आरोप उहाँले खेप्नुपरेको थियो । देउवा नै प्रधानमन्त्री भएका बेला बाबुराम भट्टराई लगायतले ४० बुँदे मागपत्र बुझाएका थिए र त्यो पूरा नभएको भन्दै त्यसै वर्ष फागुन १ गतेदेखि माओवादीले देशमा सशस्त्र विद्रोह सुरु गरेको थियो। 

२०५८ साल साउनमा दोस्रो पटक देउवा प्रधानमन्त्री बन्नुभएको थियो । उहाँ प्रधानमन्त्री भएकै समय संसद विघठन भयो । त्यही घटनाले देउवाले प्रजातन्त्र दरबारमा बुझाएको भन्ने आरोप खेप्दै आउनुपरेको छ ।  त्यसै वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले देउवालाई सत्ताच्युत गर्नुभयो । ज्ञानेन्द्रको उक्त कदमविरुद्ध पाँच दल आन्दोलित बने। त्यसपछि २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनर्स्थापित गर्नुभयो। तर फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नै हातमा लिँदै देउवालाई असक्षम भन्दै हटाउनुभएको थियो। देउवालाई शाही सरकारले भ्रष्टाचारको अभियोगमा पक्राउ समेत गरेको थियो । 

केपी ओली नेतृत्वको एमाले–माओवादी गठबन्धन सरकार ढालेर प्रचण्डलाई प्रधानमन्त्री बनाउनुभएका देउवाले माओवादीकै समर्थनमा २०७४ जेठमा चौथोपटक सत्तारोहण गर्नुभएको थियो । तर प्रधानन्यायधीस सुशिला कार्कीलाई महाअभियोग लगाउने देखी ६४ जनासम्म मन्त्रिपरिषद बिस्तार गर्दा उहाँको थप आलोचना भएको थियो ।

सर्वोच्च अदालतको परमादेशबाट उहाँले आज पाँचौपटक प्रधानमन्त्री र मुलुकको कार्यकारीका रुपमा बालुवाटार प्रवेश गदै गर्दा धेरैले यसलाई विगतमा आफैले विगारेको छवि सुधार्ने मौकामात्र भएको टिप्पणी गरेका छन् । 
 

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १२ : १२ बजे