साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

कसैले रोक्न सक्दैन अजेय एमालेको पुनरोदय

जनादेशबाट प्रधानमन्त्री बन्नु भएका तर सर्वोच्च अदालतको परमादेशले पदबाट विस्थापित हुनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीेको सरकारी निवास बालुवाटार, काठमाडौँबाट विदाई र उहाँको निजी निवास बालकोट, भक्तपुरमा प्रवेश हुँदा सामेल भएका सो पार्टीका नेता तथा कार्यकर्ता र स्वतःस्फूर्तरूपमा सहभागि समर्थक एवं शुभचिन्तकका मुहारहरूमा निराशा होइन बरु आगामी आम निर्वाचनमा पुनः बहुमतसहित विजयी बनेर पुनरोदय हुने दृढ संकल्पका आभाहरू श्रव्यदृष्य र तस्वीरहरूमा सजिलै देख्न सकिन्थ्यो । अनि देख्न सकिन्थ्यो त्यहाँ— हत्केलाले सुर्य छेक्न सकिँदैन भन्ने सन्देश पुनः एकपटक प्रवाहित भइरहेको !

देशको कुनै एउटा महत्वपूर्ण पर्व झैँ प्रतीत हुने निवर्तमान कार्यकारी प्रमुखको सरकारी निवासबाट विदाई र निजी निवासमा स्वागतको समग्र प्रक्रियामा एमाले पार्टी पंक्तिले अभिव्यक्त गरेको उद्घोष र नेपाली जनताले सचेतनतापूर्वक दर्शाएको सहानुभूतिले निःसन्देह नेपाली राजनीतिक परिदृश्यमा बहुआयामिक महत्वका सन्देशहरू छाडेका छन् ।

सरकारबाट अस्वाभाविक रूपमा बर्हिगमनमा परेर पनि असाध्यै संयमित र सन्तुलित तवरमा प्रस्तुत भएर परिसरमा भेला भएको ठूलो जनमानसलाई निवासको वार्दलीबाट संबोधन गर्दै राजनेता ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियानबाट बञ्चित तुल्याउन कसैले नसक्ने, नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एमालेको उन्नयनलाई कसैले रोक्न नसक्ने र संसदीय बहुदलीय प्रणालीको हुर्मत लिनेहरूलाई जनताले शान्तिपूर्ण लोकतान्त्रिक विधिबाटै भविष्यमा सबक सिकाउने अठोट व्यक्त गरिरहँदा तालिको गडगडाहटले परिवेश गुञ्जायमान भएको प्रष्ट हुन्थ्यो ।  

लामो समयदेखि अतिक्रमित नेपाली भूमि समाविष्ट गरेर नेपालको नयाँ नक्सा जारी गर्न अभूतपूर्व राष्ट्रिय एकता कायम गर्न सफल भएको, भूपरिवेष्ठित यस मुलुकलाई भूजडित तुल्याएर भारत र चीन दुबै मित्रराष्ट्रहरूका बन्दरगाहहरूसम्म यातायातको विस्तार गर्ने अभियानमा ठोस उपलब्धी हासिल गर्न सकेको, हिंसा मार्फत राजनीतिक गतिविधि गरिरहेका सबैलाई मूलधारमा ल्याउन सफल भई अब शान्तिपूर्ण राजनीतिक प्रतिष्पर्धा नै एकमात्र बाटो भएको कुरा पुष्टि गर्न सफल भएको जस्ता ऐतिहासिक उपलब्धीहरू एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले हासिल गरेको थियो ।

कृषि विकास, पर्यटन प्रवद्र्धन तथा जलविद्युत उत्पादनमा उल्लेख्य उपलब्धी हासिल गर्दै पूर्वाधार विकासमा लगानी बढाउनु र औद्योगीकरण गर्नु उक्त सरकारको प्राथमिकताभित्र परेको थियो । 

शिक्षा विस्तार तथा शैक्षिक गुणस्तर अभिबृद्धि गर्दै मुलुकबाट बेरोजगारी समाप्त पार्ने, बृद्धबृद्धा, बालबालिका, असहाय, फरक क्षमता भएका तथा न्यून आय भएकाको जीविकोपार्जनमा मद्दत पु¥याउन सामाजिक सुरक्षा भत्ता बढाउने, स्वस्थ्य नागरिकमार्फत सबल जनशक्ति बनाउन स्वास्थ्य पूर्वाधारमा लगानी उन्नत तुल्याउने जस्ता कार्यहरू भइरहेका थिए । सामाजिक चेतना र जागरणका माध्यमबाट समेत महिला हिंसा, जातिय विभेदको अन्त्य गर्न प्रयासहरू हुँदै थिए । दहेज र दाइजोजस्ता परम्पराबाट समाजलाई माथि उठाउन तथा बोक्सिजस्ता रुढीहरूलाई निमिट्यान्न पार्न प्रभावकारी कदमहरू चालिँदै थिए । भ्रष्टाचार नियन्त्रणका अभियानहरु सशक्त भइरहेको देखिन्थ्यो । 

उक्त ऐतिहासिक परिवर्तन एवं सार्थक पहलकदमीबाट दिगो विकास, शान्ति तथा अमन चयन, राजनीतिक स्थिरता हुने सुनिश्चित थियो । यस किसिमका उपलब्धिहरूबाट मूलतः आफ्नो राजनीतिक भविष्य धुमिल देखेका तत्वहरू अत्तालिन पुगेपछि ओली नेतृत्वको सरकारलाई विस्थापित गर्ने प्रपञ्च अलि पहिलेदेखि नै शुरु भइसकेको थियो । अहिले अस्थायी रूपमा मुलुकले धक्का व्यहोर्नु परेपनि सुजबुझपूर्ण पहलकदमीका माध्यमबाट एमालेले भविष्यमा देश र जनताको सुन्दर भविष्यका निम्ति परिस्थितिलाई नियन्त्रणमा लिन सक्ने प्रष्ट छ । त्यसैले धैर्यतापूर्वक लक्ष्य हासिल गर्न अविश्रान्त रूपमा अग्रसर हुन एमाले पंक्ति कटिबद्ध हुनु नै समयको माग हो । आर्थिक रूपान्तरण र लोकतन्त्र विरुद्धका सबै साजिश र षड्यन्त्रहरु निकट भविष्यमा पटाक्षेप हुँदै जानेमा ढुक्क भए हुन्छ ।  

लोकतान्त्रिक प्रक्रियाबाट सत्तामा पुगेर स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माणसहित राष्ट्रिय पँुजीको विकास गरी समाजवाद हासिल गर्न सकिन्छ र देशलाई समुन्नत बनाउन सकिन्छ भन्ने सुस्पष्ट मार्गचित्र बोकेको एमालेजस्तो भरपर्दो राजनीतिक पार्टी यस मुलुकमा अर्को छँदै छैन । 

त्यसैकारण यस पार्टीका विरुद्धमा सबै किसिमका प्रतिक्रियावादी र जडसुत्रवादी तत्वहरू लागि पर्नु स्वाभाविक विषय थियो र छ भन्ने कुरा सधैँ हेक्का राख्नु पर्दछ । सबै किसिमका षड्यन्त्रलाई चिन्न र चिर्न सक्ने सबल र सक्षम पार्टी बनाउनु एमालेको गहन दायित्व हुन आएको कुरा पुनः एकपटक गम्भीरतापूर्वक महसुस गर्नै पर्दछ । 

साँचो कुरा के हो भने सबै किसिमका अन्याय अत्याचार, वर्गीय विभेद, जातीय तथा लैङ्गिक असमानता तथा षड्यन्त्रका कुटिल तानाबानाहरूलाई परास्त गर्न सक्षम, सुदृढ र सक्रिय कम्युनिष्ट पार्टी आवश्यक छ ।  किनकी यस्तो पार्टीले मुलुकलाई यथास्थितिमा राख्न चाहेको हुँदैन भने सुधारमा समेत चित्त बुझाएर बस्न सहज ठानेको हुँदैन । वास्तवमा आमूल सामाजिक आर्थिक रूपान्तरण गर्नु नै यस्तो पार्टीको एकमात्र लक्ष्य रहेको हुन्छ । न्याय र समानतामा आधारित समाज व्यवस्था विरोधी तत्व मुलुकको जनसंख्याको अल्पसंख्यामा नै हुन्छ तर सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद, एकाधिकार पूँजीवाद, विश्व पूँजीवाद र साम्राज्यवादजस्ता शत्रुहरूको गठजोडले प्रगतिशील क्रान्तिकारीहरूलाई विभिन्न किसिमले छेक्न कोशिस गर्दछन् । अनि क्रान्तिकारी आन्दोलनभित्र निम्न पूँजीवादी चिन्तन र प्रवृत्ति मौलाएर अग्रगतिर्फको यात्रालाई निष्प्रभावी पार्न प्रयास गरिरहेका हुन्छन् ।  

सोभियत संघलगायत पूर्वी युरोपका मुलुकहरूमा सोभियत मोडेलको समाजवादले गभ्मीर धक्का खाएपछि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थाबाट गुज्रिरहेको पनि तीन दशक बढि भइसक्यो । तर अपवाद नै भनौँ, नेपाली सर्वहारा श्रमजीविहरूको अग्रदस्ता एमाले पार्टी भने जननेता मदन भण्डारीले माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै प्रतिपादन गर्नुभएको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा प्रतिकूलताका बीचमा पनि शुरुदेखि नै लोकप्रिय, विस्तारित र प्रभावशाली हुँदै आएको छ । यस पार्टीले जबज मार्फत नेपाली समाजलाई आमूल रूपान्तरण गर्ने कोशिस गरिरहेको छ । यो सिद्धान्त आज निर्विकल्प रूपमा आमूल सामाजिक परिवर्तनको वैचारिक मार्गदर्शक बन्न सफल भएको छ । त्यसैले समाजमा घनिभूतरूपमा जरा गाडिसकेको एमाले र जबजलाई विस्थापित गर्न दक्षिणपन्थी यथास्थितिवादी र उग्रवामपन्थीहरूका अनेकौँ षड्यन्त्रहरू हुँदै आएका हुन् ।  

जहिले एमाले सत्तारुढ हुन्छ, तब देश र जनताका पक्षमा ऐतिहासिक कामहरू हुन्छन् र अनि शुरु हुन्छ ज्यादै ठूलो देशी विदेशी छटपटाहट र चलखेल ! त्यस्तो सरकारका विरुद्ध आन्दोलन र घेराबन्दी गराउनु, एमाले पार्टीको जीवनभित्र गुटबन्दी तीब्र तुल्याउनु विरोधी तत्वहरूको रातोदिनको प्रयास हुन्छ । नाक काटेको हो कि सिँगान आएको हो त्यो कुरा थाहा नपाउने तप्का चरम महत्वाकांक्षा र अधैर्यताको चक्रव्यूहमा फस्दछ । 

त्यसैले अब पार्टीलाई दुष्चक्रमा फसाउनेको जालझेललाई चकनाचुर पार्न सक्ने सबल र सक्षम पार्टी बनाउन ध्यान दिनु आवश्यक छ । अनि पार्टीकै जिम्मेवार भनिएकाहरूमा लोभलालच, कुण्ठा र इश्र्याको व्युहमा फस्ने परिवेश कसरी निर्माण हुन्छ पत्ता लगाएर त्यसको मुहान बन्द गर्नुपर्दछ । नत्र पुनः यही श्रृखंला दोहोरिन सक्छ ।  

तासको घर बनाउन सरल र सजिलो हुन्छ, त्यसैले त्यो भत्काउन सहज हुन्छ, यहाँ सम्मकि त्यसलाई मानिसले फुक्दैमा पनि गल्र्यामगुर्लुम हुन्छ । कंक्रिटको घर बनाउन अलि जटिल र अप्ठ्यारो हुन्छ । वास्तवमा जुन बस्तु बनाउन सरल र सजिलो हुन्छ, त्यो भत्काउन सहज हुन्छ, जुन वस्तु बनाउन जटिल र अप्ठ्यारो हुन्छ, त्यो भत्काउन त्यत्तिकै कठिन हुन्छ । आफ्नो पार्टी तासको घर बनाए जस्तो बनाउने कि कंक्रिटको बनाए जस्तो बनाउने त्यो रोज्ने सम्बन्धित पार्टीले नै हो । सुदृढ र शक्तिशाली पार्टी निर्माण गर्न निकै मिहिनेत गर्नुपर्छ, यस्तो पार्टी बनाउन अलि अप्ठ्यारो पनि हुन्छ । तर हेक्का रहोस्, मिहिनेत परेको र अप्ठ्यारोका बीचमा निर्मित पार्टी नै मजबूत हुन्छ । त्यो अजेय शक्ति बन्दछ ।  

अब एमालेमा संगठित पंक्ति र यस पार्टी सम्बद्ध जनसंगठनमा आबद्ध व्यक्तिहरूको समुच्चय मात्रलाई पूर्णता प्राप्त गरेको सांगठनिक शक्ति ठान्ने भूल गर्नु हुँदैन । पार्टीले लिएको सिद्धान्त जबजले अंगीकार गरेको लक्ष्य र उद्देश्यलाई बुझ्न र बुझाउन सक्ने, अनुशासनलाई कडाइका साथ पालना गर्ने, प्रगतिशील आचार व्यवहारलाई जस्तोसुकै परिस्थितिमा पनि अपनाउने, सामुहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी बहन गर्नसक्ने व्यक्तिहरूको संगठित रूप नै वास्तवमा सृदृढ सांगठनिक शक्ति हो भन्ने बुझ्नु पर्दछ । यस्तो जुझारु र कटिबद्ध पंक्ति त्यतिखेर बनाउन सकिन्छ जब वैचारिक प्रशिक्षणलाई व्यवस्थित र नियमित तुल्याइन्छ । 

अहिले पार्टीमा वैचारिक प्रशिक्षणहरू नियमित हुन छाडेका छन् । भएपनि ती थोरै र निष्प्रभावी हुन्छन् । यसबाट कार्यकताहरूको बैचारिक धार भुत्ते हुन्छ जसले गर्दा विपक्षीका आरोपहरू नचिन्ने र पहिचान गरेपनि सशक्तरूपमा खण्डन गर्न नसक्ने, आदर्श तथा मूल्यमान्यताप्रति समर्पित हुने भन्दा पनि तत्कालै व्यक्तिगत लाभ हासिल गर्न अग्रसर भई अर्थवादी चिन्तनले ग्रस्त बनाउने, गुटबन्दीमा फस्ने, पार्टीप्रति भन्दा पनि अमूक नेताप्रति जवाफदेहि बन्ने जस्ता कम्युनिष्ट पार्टी प्रतिकूलका प्रवृत्तिहरू पैदा हुन्छन् । अब पार्टीलाई पुनरोदय गराउनका लागि यस्ता हानिकारक प्रवृत्ति हुर्कन र मौलाउन दिनु हुँदैन । पार्टीलाई सुद्धिकरण र सुदृढीकरण अभियानद्वारा तेजश्वी तुल्याउनुपर्दछ ।

उपरोक्त कमिमजोरीका बाबजूद पनि एमालेलाई देशको मात्र होइन साँच्चै भन्ने हो भने विश्वकै एउटा सुदृढ र सशक्त कम्युनिष्ट पार्टीको रूपमा लिइन्छ । पार्टी एकता तथा एकीकरण अभियानका उल्लास र पार्टी विभाजनका सकसलाई यसले अनुभव गरेको छ । देशभरीका गाउँ बस्ती र शहरका घरघरसम्म विस्तारित बनेको यो पार्टीले विगतको संगठन निर्माण प्रक्रियालाई गम्भीरतापूर्वक समीक्षा गरीकन ठोस कार्ययोजना बनाएर अघि बढ्नासाथ मुलुकमा ठूलो हलचल ल्याउँदै स्पात झैँ अझ शक्तिशाली पार्टी बनाउन सजिलै संभव हुन्छ । अनि साकार हुनेछ– एमालेलाई पुनरोदय गराइ छाड्ने संकल्प !

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १० : ३४ बजे