साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

 योगमाया र नेपाली महिला अधिकार आन्दोलन 

 आजभन्दा डेढसय बर्ष अगाडि (वि.सं. १९२५ मा ) नेपालको पूर्वी पहाड भोजपुरमा जन्मिएकी योगमायाले उठान गरेका अन्याय, अत्याचार, कुसंस्कारका विरुद्ध सामाजिक परिवर्तन र महिला अधिकारको सशक्त यात्रा आज पनि जारी छ र त्यतिकै सान्दर्भिक छ । आज भन्दा एक शताव्दी अगाडि, जतिवेला महिलाले लेखपढ गर्न र आफुमाथि भएको अन्यायको महशुस सम्मपनि गर्न नपाएको अवस्थामा नेपालको पूर्वी पहाड भोजपुरमा जन्मिएकी योगमायामा त्यसका विरुद्ध आवाज उठाउने चेतनाको जन्म भयो । समाजलाई जागरुक बनाउने अठोट र आँट जाग्यो । जतिवेला एउटी वालिकाले विवाहको अर्थ र लोग्नेको मर्म समेत नबुझी बाबुको उमेरको पुरुषलाई पति स्विकारेर पराई घर जानुपर्ने र त्यो पुरुषको मृत्युसंगै उसकै चितामा जिउदै जल्नुपर्ने बाध्यता थियो । त्यस्तो अमानवीय सामाजिक अवस्थामा पनि विद्रोहको आवाज उठाउने एउटी संघर्षशिल महिला थिईन् योगमाया । त्यतिवेला योगमायाले तत्कालिन समाजलाई ब्युझ्याउदै महिला हकहित र अधिकारका सवालहरुलाई सशक्त ढंगले उठाएकी थिईन् । न कुनै राजनैतिक पार्टी ? न संगठन ? योगमाया आफैमा एउटी सामाजिक रुपान्तरणकी अभियान थिईन् । 

  •   महिला अधिकारवादी योगमाया 

तत्कालिन समाजमा विद्यमान सतीप्रथा, वालविवाह, बहुविवाह, अनमेल विवाह, अन्याय, अत्याचार, महिलामाथिका अनेक हिंसा र दुव्र्यव्यवहार जस्ता अमानवीय कुप्रथाको खुलेर विरोध र विद्रोहको आरम्भ गरिन् यागमायाले । छोरा र छोरी विचको सामाजिक विभेदलाई अस्विकार गर्दै छोरी जातीले पनि छोरा सरह लेखपढ गर्न पाँउनु पर्ने शैक्षिक अधिकारको विषयलाई जोडदार रुपमा उठाईन् । बहुविवाहको विरोध गर्दै पतिको देहान्त पश्चात पत्नीलाई जिउदै जलाउने अमानवीय कुसंस्कारको विरुद्धमा विद्रोहको आवाज चकाईन् । वि.सं १९७९ मा सती प्रथाको अन्त्यको कानून बन्यो । मृत पतिसंगै जल्नुपर्ने बाध्यताबाट देशभरका चेलीबेटीको ज्यानले सूरक्षा पायो भन्दै खुशियाली मनाईएकोे थियो ।

पत्नीको देहान्त हुनासाथै विदुर लोग्नेलाई समाजले दोश्रो विवाह गराउछ भने कलिलो उमेर र जवानीमा पतिको देहान्त हुन्छ र त्यस्ती विधवालाई पनि उनको स्वेच्छाले दोश्रो विवाह गरेर अगाडि बढ्न चाहन्छिन् भने समाजले अवसर दिनुपर्छ भनेर विधवा विवाहको पक्षमा योगमायाले खुलेरै वकालत गरिन् –“…विधवा भएर बस्न कति गाह्रो छ यो समाजाँ । उठ्दै पोईटोकुवी, बस्दै अलच्छिनी !……..नरक बनाईदिन्छन् विधवाको जीवन । जोई अघि मरेकी छ भने पोईलाई जोई टोकुवा त भनिंदैननी ! अलच्छिनो पनि भनिन्न ।” योगमाया, पृष्ठ १६७ ।
“ …मुख्य कुरा जोई मरेको विधुरलाई अर्को विहे गर्न रोकटोक नभएझै पोई मरेकी विधवाले बिहे गर्न समाजबाट छुट हुनुपर्यो ।” योगमाया, पृष्ठ १६९ ”

महिलाप्रति हुने गरेका सवै किसिमका विभेद – नारी जातीलाई हेलागर्ने, होच्याउने र दुव्र्यवहार गर्ने जस्ता पारिवारिक–सामाजिक व्यवहारको निन्दा गर्दै नारीजातीको आत्मसम्मान, पहिचान र प्रतिष्ठा उठाउन समाजका अगुवा पुरुषहरुलाई पनि योगमायाले प्रेरित गरिन् । 

  •  जातीय विभेद र छुवाछुतका विरुद्धमा योगमाया 

योगमायामा जातीय विभेद र छुवाछुत प्रति तिव्र आक्रोस थियो । “मेरो त जात छैन । तिमीहरु के रोज्छौ तिम्रा मर्जी,…मेरो कौडिन्य गोत्रमा जन्म भाको थ्यो तर अब मेरा जात गोत्र सवै भगवान्मा मिल्न गो । योगमाया –पृष्ठ १९४”  
उनी जातीय समानताको पक्षमा उभिएकी थिईन् । उनको आश्रम र प्रवचनमा सवै जातका मानिसको समान सहभागिता हुन्थ्यो । त्यसरी उनले जातपात र छुवाछुतलाई अस्विकार गरेपछि तत्कालिन समाजबाट उनीप्रति विरोध हुनथाल्यो । त्यतिवेला आफुप्रति भएको विरोधको प्रतिकारमा योगमायाले यसरी आफ्ना विचारहरु व्यक्त गरिन् –
“आज मलाई भन्नुभयो धर्म हरेको
त्यसैवेला सबथोकको संयोग परेको ।
धर्म छाड्नु क्या हो भने आफ्नो नियाँ छाडि,
ब्राम्हणहरु बन्न लागे शुद्र जातका जोडी ।”
सर्वाथ योगवाणी, वि.सं. २०१४, पृष्ठ २५ 
कट्टर ब्राम्हण कुलकी योगमायाले समाजमा विद्यमान जातीय विभेदलाई अस्विकार गरेको कुरा उनका अभियानमा जेठा माझी, माईली मझिनी, काईली कमिनी जस्ता धेरै अनुभायीहरु श्रद्धापूर्वक समाहित भएका बाट पनि प्रष्टै हुन्छ ।  

  •  ब्राम्हणवाद र धार्मिक आडम्बरको बिरुद्धमा योगमायाः

योगमायाले ब्राम्हणवाद र धार्मिक आडम्बरको विरुद्ध सामाजिक सुधारका लागि शशक्त रुपमा जाँगरण फैलाउदै गईन् । धर्म र पुराणका माध्यमले मानिसलाई भ्रमित पारेर दमन र शोषण गर्ने ब्राम्हणहरुको गलत क्रियाकलापको विरोधमा उनले चर्को आवाज उठाईन् ।
“पुरोहितका बुद्धि हेर निक्र लिने युक्ति
यौटी गौलेबार जग्गा कैल्हे हुन्थ्यो मुक्ति ।
यौटी गौलेबार जग्गा भन्छ तर्धौ तर्धौ
तिनी गौले विन्ति गरिन् पाप् विप्रमा सार्धौ ।
” (सर्वार्थ योगवाणी, वि.सं. २०१४, पृष्ठ ३६

त्यस्तै मानिसको मृत्युकर्ममा अनिवार्य गरिएको गरुड पुराणका सन्दर्भमा उनी भन्छिन्– “पण्डितले चाल् पाउँनू गडुर न लाउँनु
धेर कर्ममा नभुलुन् प्रेतमा नहुल्नु
यो बात् सुन्दा पण्डितको चित दुख्नेछ 
भक्तजीको दृष्टि पर्दा नर्क सुक्नेछ ।” (योगमाया –पृष्ठ २०१)

यस्ता धार्मिक अन्धविश्वासका सन्दर्भमा योगमाया “ त्यसैले त गल्ती ब्राम्हणको मात्र हैन भन्छु । हाम्रो विरोध व्यक्तिलाई भन्दा त्यही गलत शिक्षाप्रति हो । परम्पराप्रति हो । जसरी जात पात , छुवाछुत भेदभाव गलत हो । पितृका नाममा डर त्रास देखाएर दान गराउनु पनि गलत हो । बाँजे पुर्खाले गरेको पाप छोरा नातीले दान गरेर पखालिने हुँदै होईन । आफुले सकेसम्म पाप कर्म गर्नु भएन । तर, जान अन्जानमा पाप हुन गएमा यही जुनीमा आफ्नो जीवन छदै आफैले प्रायश्चित गरी सुधार्नु पर्छ ।” भन्थिन् ।

 त्यसैले यस्ता दानले पाप पखालिँदै जान्छ भन्ने भ्रम फैलाईरहने , पालिई रहने हो भने धर्ममार्ग सधै अलपत्र पर्नेछ । मानिसले पाप र धर्मको अन्तर जान्ने छैनन् । मानिसले अन्जानमा गरेको पाप ब्राम्हणलाई दान दिएर हैन, मानिस जीवित हुँदै चेतना दिएरऊ स्वयंबाट सुधार्ने तर्फ लगाउनु पर्छ भन्दै धर्मका नाममा सिर्जना गरिएको भ्रमलाई चिर्दै सामाजिक सुधारको आवाज उठाउथिन् ।

  • दासप्रथाको विरुद्धमा योगमाया

योगमाया मानिसले मानिसलाई पशु सरह किनवेच गर्ने प्रथाको अन्त्य चाहन्थिन् । वि.सं. १९८२ मा श्री ३ चन्द्र शमशेरले दास मोचन गरेपछि उनी ज्याँदै खुशी र उत्साहित भएकी थिईन –
“मुलुकमा दाशी रमाए,
राजाले धर्म कमाए,
राजाले धर्म गरिदिए,
पैसा त धेरै छरिदिए ।

सुन सुन सवैजना शुभसम्चार आयो । देशैभरी आजका दिन खुशीयाली छायो” योगमाया, पृष्ठ १९२
सरकारले दास मोचनको घोषणा गरेपछि संखुवाशभा वरपरका दासहरु पछिसम्म पनि मुक्त हुन नसकेपछि योगमायाले धनकुटा गौंडा वडाहाकिमलाई पत्र पठाएर तत्काल दासमोचन गर्न दवाव दिईन् । ( कार्की,वि.सं.२०६९ पृष्ठ ८६ )

  •  गरीव दुःखी जनता र सामाजिक न्यायको पक्षमा योगमाया :

योगमाया सामाजिक न्याय र गरीव दुःखीको पक्षमा उभिएकी थिईन् । आफुमाथि अन्याय भएको ठान्नेहरु न्याय पाँउन मझुवावेशी ठूली हजुर समक्ष जानुपर्छ भन्दै योगमायाको आश्रममा आउथें। शामन्तको थिचोमिचोबाट अन्यायमा परेका मानिस हुन् या घरेलु हिंसाबाट पिडित भएका महिला हुन् सवैको पहुँच भएको न्यायालय थियो मझुवावेंशी योगमायाको आश्रम । 
वि.सं १९८० सालमा खडेरीले ठूलो अनिकाल लाग्यो । बेसाहाका लागि हिडेका मध्ये एकजनाले योगमायाका आश्रममा विन्ति विसाउदै भने–“ पैसै गन्दा पनि किन्न पाईएन । पच्चिसा लाउन खोज्छन् । कसरी तिर्नु अर्का बर्ख पनि यस्तै खडेरी परे । खडेरी खप्टिए पच्चिसाबाट उम्कम्ला कसोरी ? केही गरिदिनु पर्यो ।” योगमाया–पृष्ठ १७९

त्यसबेला योगमायाले साँहु महाजनहरुले पैँचो दिएको अन्न फिर्ता लिनुपर्दा ठूलोपाथी र उनीहरुलाई दिनु पर्दा सानो पाथी चलाउने जस्तो अधम पाप गरेमा महानरकको बास भोग्नुपर्ने हुन्छ भन्दै सामाजिक न्यायको पक्षमा खवरदारी समेत गरेकी थिईन् । गरीव दुःखीका पक्षमा उभिएर शामन्तलाई सचेत गराउन उनी डटेर लागेकी थिईन् ।

महिनौ निराहार बसेर ध्यान गर्ने उनको अत्यन्त कठोर तपस्या र साधनाबाट उनका अनुयायीहरु र वर परका देख्ने सुन्नेहरु समेत आश्चर्यमा पर्थे । तर त्यही साधना र तपस्याको उर्जाले उनमा अन्यायका विरुद्ध, न्याय प्राप्तीका लागि लड्ने चिन्तन र अठोट विकशित भयो । त्यसरी एक्लो आवाज अर्थहिन हुन्छ भन्ने महशुस गरेर उनले ध्यान, योग, सत्कर्म र धार्मिक प्रवचनका माध्यमले आफ्ना समर्थक र धेरै भन्दा धेरै अनुयानी बनाउदै सामाजिक आन्दोलनको आरम्भ गरिन् । एउटी महिलाको भोगाई र अनुभवले विकसित  चिन्तनको मूर्त रुप थियो योगमायाको त्यो शशक्त परिवर्तनकामी अभियान । 

राणा शासनको चर्को दवदवा भईरहेको त्यो कालमा कतिपनि नडगमगाई धर्मका नाममा सामाजिक रुपान्तरका पक्षमा गोलवन्द हुनु कम चुनौतिपूर्ण अवस्था थिएन । एकातर्फ पितृसत्ता र ब्राम्हणवादको थिचोमिचो थियो भने अर्का तर्फ शोसक शामन्त र जाली फटाहाको अत्याचार विरुद्ध लड्नु । त्यो राणाकालिन कालरात्रीमा असहाय र निमुखा मानिसहरु मनभित्र उकुस–मुकुस भएर पनि चुसम्म गर्न नसकि बाँचिरहेको अवस्थामा सवैको आशा, भरोसा र विश्वासको केन्द्र बनेकी थिईन् योगमाया । दलित, गरीव, दुःखी, असहाय र महिलाहरु मात्र हैन त्यतिवेलाको समाजका पंडित, सम्पन्न र मान्यगन्य भनिएका पुरुषहरु समेत योगमायाको विचारलाई स्विकारेर सामाजिक सुधारको अभियानमा समाहित भएका थिए । 

यसरी आजभन्दा एक शताव्दी अगाडिनै नेपाली समाजमा योगमाया एउटी शशक्त अधिकारवादी सामाजिक अभियन्ता थिईन् । यही अभियानका क्रममा पटक पटक श्री ३ समक्ष माग पत्र पठाउने क्रममा सुनुवाई नभएपछि अन्तिम पटक वि.सं. १९९३ सालमा योगमायाकै नेतृत्वमा श्री ३ जुद्धशमसेरलाई विभिन्न सुधारका मागहरु समावेश गरिएको मागपत्र तत्काल पुरा गर्न अनुरोध गर्दै बुझाईएको थियो । श्री ३ जुद्ध शमसेरले धर्म उदय गर्न र राह थिति जुग बदल्न तयार भएको कुरा जानकारी गराएका थिए । 
तर लामो समयको पखाईमा पनि राणा सरकारबाट ती मागहरु पुरा गर्ने तर्फ ठोस कदम नचालेपछि योगमायाले त्यसको विरुद्ध शशक्त आन्दोलनको घोषणा गरिन् । जसअनुसार सरकारलाई दवाव दिनका लागि वि.सं. १९९५ सालको कार्तिक २७ गते, कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म माग पुरा नभए अग्नी दाह गर्ने घोषणा गरियो । ठाँउ ठाँउमा सूचना टासियो । तर सरकारी रोकावटका कारण २०९ जना भन्दा धेरैले नाम लेखाई सकेको सामुहिक अग्नीदाह रोकियो । प्रशासनिक घरपकड र दमन भयो । दोश्रो पटकको गोप्य तयारीका साथ वि.सं. १९९८ असार २२ गते हरीशयनी एकादशीका दिन योगमाया सहित उनका अनुयायीहरु ६६ जनाले एकैपटक अरुणमा जल समाधी लिएर देह त्याग गरें । 

 नेपाली महिला आन्दोलनलाई हेर्दा वि.सं. १९७४ बाटै संगठित महिला आन्दोलन पनि आरम्भ भएको थाँहा हुन्छ । योगमायाको धर्मराज्य स्थापना अभियानकै क्रममा यता काठमाण्डौमा १९९४ बाट प्रजा परिषद्को गठन भई राजनैतिक आन्दोलनको पनि सुरुवात भएको छ । सो आन्दोलनबाटै रेवन्त कुमारी आचार्य, राममाया पोडे, सिता शर्मा लगायतका महिलाहरुको समेत सहभागिता भएको थाँहा हुन्छ । 

 योगमायाको जलसमाधीको (वि.सं.१९९८) केही समय पश्चात पुन महिलाहरु जुर्मुराउन थाले । राणा शासन विरुद्धको क्रान्ति देखि २००३ को विराटनगरमा भएको मजदुर आन्दोलनसम्म पुग्दा महिलाहरु फेरि मैदानमै आईसकेका छन् ।  २००३ सालको विराटनगरको मजदुर आन्दोलनमा दिव्या कोईराला, कामिनी गिरी, नलिनी उपाध्याय र ईन्दिरा आचार्य गिरफ्तार भए भने, २००४ सालको नागरिक –राजनैतिक अधिकारका आन्दोलनमा काठमाण्डौमा साधना प्रधान, सहान प्रधान, स्नेहलता श्रेष्ठ र कनकलता गिरफ्तार भएका थिए । यसरी २००७ को राणा शासन अन्त्यको क्रान्ति, २०१० साल, २०१७ सालको पञ्चायती प्रतिगमन विरोधी आन्दोलन , २०२८ साल झापा विद्रोह, ०३५–०३६ विद्यार्थी आन्दोलन, ०४२ हुदै ०४६ पञ्चायती व्यवस्था अन्त्यका लागि भएका सवै महत्वपूर्ण मोडहरुमा भएका हरेक राजनैतिक आन्दोलन, विधार्थी आन्दोलन, किसान आन्दोलन, मजदुर आन्दोलन, शिक्षक आन्दोलन, लगायत हरेक विषय र प्रशंगमा भएका आन्दोलनमा महिलाको महत्वपूर्ण भूमिका र सहभागिता रहदै आएको छ । 
२०४६ को जन आन्दोलन पश्चात निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भएर देशमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो । जनताले नागरिक–राजनैतिक अधिकारको उपयोग गर्न पाए । देशमा जननिर्वाचित प्रतिनिधि र सरकारको व्यवस्था भयो । प्रजातन्त्र, लोकतन्त्र हुँदै राजनैतिक रुपमा आज देशमा गणतान्त्रिक व्यवस्था छ । हिजोको राजनैतिक अवस्थालाई हेर्दा र विश्लेषण गर्दा आज राजनैतिक क्षेत्रमा पनि महिलाको पहुँच र हैसियत बढेको छ । राज्यको स्थानीय तहदेखि केन्दीय तहसम्म महिलाको प्रतिनिधित्व भएको छ । यसरी आधारभूत रुपमा हेर्दा हिजो योगमायाका पालामा उठाएका लैङ्गिक विभेद, महिला हिंसा र असमानता अन्त्यका लागि धेरै कानूनी व्यवस्थाहरु पनि भएका छन् । सवैका सवै तहमा अनिवार्य रुपमा एक तिहाई महिला सहभागिताको सुनिश्चितता समेत भएको छ । 

तर पनि योगमायाले उठान गरेको महिला अधिकारका कतिपय सवालहरु अझै पनि त्यतिकै सान्दर्भिक छन् । कानूनी रुपमा बहु विवाह बर्जित गरिए पनि सामाजिक –साँस्कृतिक रुपमा अझै बहुविवाह पुरुषको अधिकारको रुपमा कायमै छ । विधवा विवाहलाई कानूनी मान्यता दिईएता पनि अझै सामाजिक–पारिवारिक रुपमा त्यो कुरा महिलालाई सहज छैन । धर्म र संस्कृतिका नाममा हुने विभेद, अत्याचार र शोषण आज पनि उस्तै छ । कुप्रथाको रुपमा रहेको जातीय छुवाछुत कानूनतः बर्जित भएता पनि सामाजिक रुपमा अझै यथावत्नै छ । 

आजपनि आधारभूत तहका महिलाको जीवन भोगाईमा खाँसै सकारात्मक परिवर्तन हुन सकेको छैन । आज पनि गाँउ–घरमा कुसंस्कारको चपेटामा महिलाहरुले जघण्य हिंसा खपिरहेकै छन् । बोक्सीको आरोपमा प्रताडना खपिरहेकै छन् । दाईजोको लागि लोग्ने र सासु–ससुराबाट मारिएकै छन् । छाउपडी गोठमा मर्ने र यौनजन्य हिंसाको शिकार भईरहेकै छन् । बर्षदिन देखि सत्तरी बर्ष काटेका बृद्ध आमाहरु समेत यौन हिंसामा परिरहेकै छन् । त्यस्तै विभिन्न किसिमका हिंसा र दुव्र्यव्यवहारबाट हरेक वर्ष दर्जनौ महिलाले अकाल मृत्युवरण समेत गरिरहेकै छन् । संविधानमै महिला अधिकार सुनिश्चित गरिए पनि घर–परिवारबाट आफ्नो पहिचान समेत नपाएर कैयौ महिलाहरु अनागरिक भएर पनि बाँच्न बाध्य छदै छन् । त्यति मात्र हैन सचेत र जाँगरुक महिलाको समेत घर–परिवारदेखि समाज र राज्यसम्मनै आत्मसम्मान, समान हैसियत र पहुँचको लडाई अन्त्य भएको छैन । शामन्ती चिन्तन र पितृसत्तात्मक सोँचबाट अभिप्रेरित मानसिकताले आज पनि महिलाको पहुँच, हैसियत र नेतृत्वलाई घर–परिवार, समाज र राज्यसम्मनै सहज रुपमा स्विकार्न नसकिरहेको अवस्था छदैछ ।  

तसर्थ जवसम्म महिलाले आफै राज्यबाट भएका व्यवस्था र प्रावधानहरु उपयोग गर्न सक्ने अवस्था हुँदैन, तवसम्म त्यसले सकारात्मक प्रभाव पार्न र परिणाम दिन सक्दैन । त्यसैले अबको महिला आन्दोलन भनेको महिलाको पहुँच र हैसियत बढाउने हो । महिलालाई शशक्त बनाउने हो । त्यो हैसियत निर्माणका लागि आर्थिक रुपमा आत्मनिर्भर र स्वावलम्वी बनाउने हो । महिलालाई स्वआर्जन र उत्पादनमा सहभागी बनाउने हो । यसरी हेर्दा योगमायाले थालनी गरेको सामाजिक आन्दोलनको अभियान आज पनि जारी छ । नेपाली महिला आन्दोलन योगमायादेखि आजसम्म निरन्तर छ । 

(लेखक पराजुली राष्ट्रिय महिला आयोगको अध्यक्ष हुनुहुन्छ)

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ९ : ३५ बजे