यस्तो छ आजको विनिमय दर

टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गर्नुभएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा उहाँले सफलताको शुभकामना दिएर नेपाली टोलीलाई बिदाइ गर्नुभयो ।  

सो अवसरमा उहाँले नेपाली टोलीको सेफ द मिसन रहनुभएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभयो । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी र  चार प्रशिक्षकसहित २६ सदस्सीय टोलीले सहभागिता जनाउने छ । 

टोकियो ओलम्पिकमा पौडीमा गौरिका सिंह र  एलेक्स शाह, एथलेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार र जुडोमा सोनिया भट्टले प्रतिस्पर्धा गर्नुहुनेछ । सिंह दोस्रो पटक ओलम्पिक खेल्न लाग्नुभएको हो । अन्य चार खेलाडी पहिलो पटक ओलम्पिकमा सहभागी बन्दै हुनुहुन्छ ।  सिंहले पहिलो पटक सन् २०१६ मा रियो ओलम्पिकमा सहभागिता जनाउनुभएको थियो । नेपालमा आयोजित १३औँ दक्षिण एसियाली खेलकूद (साग)मा सिंहले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक प्राप्त गर्नुभएको थियो । सिंहले महिला १०० सय मिटर फ्रि स्टाइल तथा शाहले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नुहुनेछ । 

यसैगरी परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा सहभागिता जनाउनुहुनेछ । टोकियो ओलम्पिकमा प्रशिक्षकमा पौडीका शङ्कर कार्की, सुटिङमा असिम यादव, जुडोमा सूर्यनारायण श्रेष्ठ र एथलेटिक्समा इन्द्रकुमारी मल्लको सहभागिता रहनेछ । ओलम्पिकको उद्घाटन समारोहमा  सिंह र  शाहले संयुक्त रुपमा नेपालको झण्डा बोक्नुहुनेछ । टोकियो ओलम्पिक आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।   

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ९ : ३१ बजे