सुनको मूल्यमा नयाँ कीर्तिमान

मन्त्रीमा विवाद बढेपछि काँग्रेसमा किचलो, रामचन्द्र पक्ष छुट्टै छलफलमा

काठमाडौं । पार्टीको महाधिवेशन र मन्त्रिमण्डलका विषयमा छलफल गर्न बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक स्थगित भएको छ ।

मन्त्रिमण्डल र महाधिवेशनको विषयमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे पार्टी पदाधिकारी बैठक बोलाएका थिए । कांग्रेस महाधिवेशनको लागि आजसम्म क्रियाशील सदस्यताको टुंगो लाग्नुपर्ने थियो । छानविन समितिले काम नसकेकोले त्यस बारेमा के गर्ने भन्ने विषयमा आज छलफल गर्ने एजेण्डा रहेको थियो । कार्यतालिका अनुसार साउन १२ गते कांग्रेसको वडा तहको अधिवेशन हुनुपर्ने थियो । तर बैठक नै स्थगित भएपछि सवै कार्यक्रम चौपट बनेको एक सदस्यले भने । सदस्यता विवाद नटुंगिएपछि नेताहरु तत्काललाई तल्लो तहको अधिवेशनको कार्यतालिका केही दिन सार्ने पक्षमा छन् । यद्यपि त्यसबाट पनि भदौ १६ देखि १९ गतेसम्म हुनुपर्ने महाधिवेशन अनिश्चित बन्दै गएको छ ।

साथै आजको बैठकमा कांग्रेसको तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको बारेमा पनि छलफल गर्ने कार्यक्रम रहेको थियो । पार्टी सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल पक्षसँग छलफल नगरी आफ्ना मान्छेलाई मात्र मन्त्री मण्डलमा लैजान खोजेको भन्दै पौडेल पक्षले आक्रोशित बनेको छ । देउवाले आफना अरु गुटहरुसँग छलफल नै नगरि आफूनिकट बालकृष्ण खाँडलाई गहृमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानूनमन्त्री बनाएका छन् । मन्त्री बन्नका लागि देउवा समूहमा मात्रै नभइ पौडेल पक्षमा पनि दौडधुप तीव्र छ । गठबन्धनभित्रै मन्त्रालय बाँडफाँडको विषय टुंगो नलागेकोले कांग्रेसको आन्तरिक भागबण्डा निश्चित भइसकेको छैन । पौडेल पक्षले सरकारमा सम्मानजनक उपस्थिति चाहेको छ । प्रकाशमानसिंह, सुजाता कोइराला र मिनेन्द्र रिजाल देउवा सरकारमा उपप्रधानमन्त्रीको दाबेदार छन् । सभापति देउवाले सरकार विस्तारबारे छलफल नगरेको गुनासो गरेपनि संस्थापनइतर समूहमा अझ बढी समस्या छ ।

आज बोलाइएको बैठक एक पक्षीय रुपमा स्थगित गरेपछि रामचन्द्र पौडेल पक्ष छुटटै छलफलमा जुटेको स्रोतले बताएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  २ : ११ बजे