साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

 प्रधानमन्त्री ओलीको बहिरगमन : जनताको आदेशले होइन सर्वोच्चको परमादेशले

२०४६ सालपछिका प्रधानमन्त्रीहरूमा सबैभन्दा लामो समय शासन सम्हालेर केपी शर्मा ओली बालुवाटारबाट बालकोट सर्नु भएको छ । जनताको अभिमतबाट निर्वाचित प्रधानमन्त्रीलाई जनताको आदेशले होइन, सर्वोच्चको परमादेशका कारण उहाँले पद छोड्नु परेको यथार्थता सबैले बुझेकै विषय हो । लोकतन्त्रलाई जीविकाको विषय होइन, जीवनको विषय बनाउनु भएका केपी शर्मा ओली हिजो पनि जनता र कार्यकर्ताकोवीचमा अत्यन्त लोकप्रिय नेता हुनुहुन्थ्यो, आज पनि हुनुहुन्छ र भोलि पनि हुनु हुनेछ ।  

ओली शासन इतिहासकै स्वर्णकाल  

ओली शासनकालमा भएका सबै कामहरूको विवरण यहाँ व्याख्या गर्न सम्भव छैन । तर एक शव्दमा भन्ने हो भने केपी शर्मा ओलीको शासनकाल नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिने छ । उहाँको शासनकालमा भएका विकास निर्माण र पुर्ननिर्माणका क्षेत्रमा मुलुकले जे जति प्रगति हाँसील गर्न सक्यो । त्यो प्रगति अरूको समयमा भएको थिएन । उहाँले आफ्नो शासनकालमा जीवन रक्षा र जनताको जीविकाको प्रश्नलाई पहिलो प्राथमिकताको विषय बनाउनु भयो । विपत्तिमा परेका जनताको समस्यालाई सम्बोधन गर्नुभयो । अप्रत्याशीतरुपमा विश्वव्यापीकरण आएको कोभिड—१९ को समस्यालाई नेपाली सन्दर्भमा अकल्पनीय हिसाबले सम्बोधन गर्नुभयो । मिचिएको नेपाली भूभागलाई समेटेर चुच्चे नक्सा कसैले प्रकाशन गर्ने हिम्मत देखाएका थिएनन्, त्यो काम उहाँकै कार्यकालमा सम्पन्न भयो । समग्रमा उहाँको शासनकालमा देशको राष्ट्रियताको प्रवर्धनदेखि देश विदेशमा नेपालको छवि र गरिमा बढ्यो ।  

सर्वोच्चको अन्याय तर जनताको सम्मान र न्याय  

माथि नै उल्लेख गरियो की प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको बहिर्गमन जनताको आदेशले होइन, सर्वोच्चको परमादेशको कारणले हो । जनताले त उहाँलाई अपार माया र सम्मान गर्दछन् । उहाँका पक्षमा सडकमा उर्लिएका मानवशागर र नाराहरूले यही कुराको पुष्टि गर्दछ । एमाले पार्टी र उहाँको लोकप्रियताकै कारण लोकतन्त्रको मसिहा ठान्ने नेपाली कांग्रेस पार्टीले समेत निर्वाचनमा भाग लिएर जनताबाट अनुमोदन हुने आँट गर्न सकेन र अदालतको परमादेशको जस्केलोबाट सिंहदरबारको यात्रा तय गर्यो ।  

तर यो यात्रा तय गर्ने वातावरण केपी शर्मा ओलीका आफ्नैहरुले बनाए । उहाँको तेजोवध गर्ने अनेकन षडयन्त्रका तानाबाना बुनिए । उहाँलाई भजाएर नियुक्ति लिएका मानिसहरूदेखि उहाँका सहकर्मीहरूले समेत उहाँलाई धोका दिए, । नेपालीमा एउटा उखान छ, एक माघले जाडो जाँदैन । देशी विदेशीका भरिया बनेर आफ्नै पार्टी र नेताको विरुद्धमा परिचालन हुने  अवसरवादीहरू भविष्यमा आफै पाखा लाग्दै जानुपर्दछ र जानेछन् । उहाँको शासनकालमा घेराउ र षडयन्त्रको राजनीतिको सुरुवात भयो, त्यो पनि आफनैहरुबाट ।

राजनीतिका सबै ढोकाहरूबाट गरिएका यी सबै षडयन्त्रहरूलाई पराजित गर्दे अपराजित बन्नु भएका ओलीलाई अराजनीतिक हिसाबले षडयन्त्रपूर्वक परमादेशबाट बहिर्गमन गराइयो । विश्वकै न्यायिक  इतिहासमा नभएको काम न्यायिक निकायबाट प्रधानमन्त्री तोकेर हाम्रो सर्वोच्च अदालतले जनताको अभिमतको अपमान गर्यो । अव अदालतले नै कार्यपालिका र व्यवस्थापिकाको समेत काम गर्छ भने त्यो देशलाई न्याय मरेको देश भन्दा कुनै फरक नपर्न सक्छ । आज देशमा केपी शर्मा ओलीलाई जनताहरूले सम्मानपूर्वक हेरिरहेका छन् र उहाँलाई फेरी यो भन्दा शक्तिशाली नेता र प्रधानमन्त्रीकोरुपमा पाउनका लागि आतुर बनिरहेका छन् । षडयन्त्रको तानाबानाले निर्वाचनलाई अलि पर धकेल्न सकिएला, तर यो सधैभरीका लागि सम्भव छैन । मुलुकमा जब निर्वाचन हुन्छ नि, त्यो निर्वाचनले सर्वोच्चले गरेको ओली अन्यायलाई जनताले न्याय दिनेछन् । त्यो निर्वाचनले सबै खाले षडयन्त्रहरूलाई परास्त गर्नेछ र उहाँको इमानदारिताप्रति अपमानको उपहार दिनेहरूलाई परास्त गर्नेछ ।  

सडकको आवाज, माधव नेपाललाई पार्टीमा नो इन्ट्री  

नेकपा एमाले देशभक्त, प्रगतिशील, परिवर्तनकामी न्याय प्रेमी जनताहरूको साझा फूलबारी हो । यो फूलबारीमा सबै मानिसहरू फक्रन र फुल्न पाउँछन् । केपी शर्मा ओलीको अथक प्रयासमा एमालेको गमलामा फुलाएका केही फूलहरूलाई माधव नेपालले चुँडे र २६ थुङ्गा फूलको माला बनाएर अरूलाई उपहार दिए । आफ्ना बारीका २६ थुङ्गा फूलहरू टिपेर विरोधीको घाँटीमा उपहार दिने माधव नेपाल अव नेपालको वामपन्थी आन्दोलनमा मात्रै होइन, नेपालको राजनीतिक इतिहासमै अमर रहने छन्, तर कलङिकत पात्रकोरुपमा । नेपाली राजनीतिमा माधव नेपाललाई विभीषणको उपमा पनि पाउनु भएको छ । लडाइमा आफ्नो सेनापतिलाई लडाइकावेला विरोधीहरूलाई सघाउँदै आफ्नै सेनापतिलाई गोली हान्ने सिपाहीको उपमा पनि पाउनु भएको छ । अव उहाँले विरोधीहरूलाई यो गुण लगाए बापत २६ धार्नीको माला त उपहार पाउनु होला, तर यो भन्दा त अरू केही पाउने छनक देखिएन ।  

आफ्नो पार्टीलाई तहस नहस बनाएर, आफ्नो पार्टीका नेतालाई विरोधीहरूसँग मिलेर प्रधानमन्त्रीबाट बहिर्गमन गराउने बहादुर माधव नेपाललाई पार्टीमा ठाउँ छैन भन्ने सन्देश उहाँको पुत्ला दोहन गरेर सडकले दिइसकेको छ । अव यो आवाज नेताहरूले र सिङ्गो पार्टीले सुन्नु पर्दछ । षडयन्त्रकै तानाबाना अन्तर्गत गरिएको १० बुँदेलाई पनि अव पार्टीले अस्वीकार र खारेज गर्नु पर्दछ ।  यिनीहरू नेकपा एमालेको सूर्य चिन्ह अदालतबाटै पनि खोस्ने जिम्मा लिएर काजमा आउन लागेका हुन भन्ने कुरालाई एमालेका सबै नेता कार्यकर्ताले बुझ्न जरुरी छ ।  लडाइँको नियममा धोका दिने सिपाहीलाई अर्को प्रधान सेनापतिले पनि कसरी विश्वास गर्छ र रु आफ्नै नेतालाई त धोका दिने माधव नेपाललाई भोलि देउवा र प्रचण्डहरूले खै कसरी विश्वास गर्लान् र रु यो भने भविष्यले देखाउने छ ।   

सर्वोच्चको फैसला आउँदा लड्डु खाने मानिसहरूले केपी शर्मा ओलीको प्रधानमन्त्रीको बर्हिगमनमा धेरै मानिसहरूले भोज खाए होलान् । हामीसँग प्रमाणहरू छन्, उहाँलाई प्रधानमन्त्रीबाट बहिर्गमन गराउन लागि परेका ठुलठुला शक्तिकेन्द्रहरूमा टेण्ट टाँगेर नै भोज लगाइयो । तर षडयन्त्रपूर्वक गरिएको जीत पार्टी गरेर उत्सव मनाउनेहरूले बुझ्नु पर्ने कुरा के हो भने बेइमानको खेतीबाट आर्जन गरिएको सम्पत्ति भन्दा इमानदारीताको रोटी धेरै मीठो हुन्छ । तपाइहरु षडयन्त्रपूर्वक जारी भएको परमादेशको जस्केलोबाट सिंह दरबार पस्नु भयो होला, तर केपी शर्मा ओली जनताको सम्मान र माया सहितको  इमानदारी र स्वाभिमानको पोको बोकेर बालकोट जानु भएको छ । त्यसैले यहाँ केपी ओलीको हार होइन, जीत भएको छ ।
 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ८ : २५ बजे