काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–प्रज्ञा प्रतिष्ठानद्वारा पछिल्ला दुई वर्षमा आयोजित राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविहरूलाई आज पुुरस्कार प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा ती पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत हुनेमा कविता महोत्सव–२०७७ मा ‘नेपालको गीत’ शीर्षकबाट प्रथम नुवाकोटकी भैरवी भूगोल र ‘देशको नक्सा’ शीर्षकबाट यस वर्ष पुरस्कृत भोजपुरकी कविता राईलगायत हुनुहुन्छ ।
विसं २०७७ मा लमजुङका प्रज्वल अधिकारीको कविता ‘सङ्कल्प’ द्वितीय, सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईंको ‘समृद्ध नेपालको सपना’ शीर्षकका कविता तृतीय भएको थियो । यस वर्ष धादिङकी अमृता स्मृतिको ‘डढेलोपछि पनि वसन्त आउँछ’ द्वितीय तथा बर्दियाकी निरञ्जनाकुमारी चन्दको ‘युगीन प्रतिध्वनि’, ताप्लेजुङकी सविता बरालको ‘आमा म आएँ अब’ र नुवाकोटका प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ शीर्षकका कविता तृतीय भएको थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३० हजार प्रदान गरिएको छ । प्रतिष्ठानले स्थापना दिवसका दिन हरेक असार ९ गते आयोजना महोत्सव आयोजना गर्दै आएको छ । विसं २०१४ मा नेपाली साहित्य, कला एकेडेमीका नाममा स्थापित प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिकशास्त्र र दर्शनशास्त्रमा कार्य गर्दै आएको छ ।
प्रथम स्थान हासिल गर्न सफल भैरवी भूगोलको कविता यस्तो छ-
शीर्षक : नेपालको गीत
ओढेर एक डँडाल्नो घाम
खाएर एक फाँको हावा
बाँचिरहेछ
यो घामपानीको जीवन ।
थाहा छैन कुन धातु
सक्रिय छ मभित्र
र उच्चानुभूति गरिरहन्छु
म आफूमा ।
लाग्छ,
तराईको फाँटजस्तै
फराकिलो बनाइदिऊँ –
मानिसको छाती,
सगरमाथाजस्तै उच्च बनाइदिऊँ
नेपालीको सिर,
ज्ञान, विज्ञानको माटोले
भरिपूर्ण बनाइदिऊँ
मानिसहरूको मस्तिष्क
र त्यहीँबाट उमारौँ
समानताको विरुवा
विकास गरौँ –
मानव समाजको
विभेदरहित अध्याय ।
समस्त मानव जीवनहरुमा
भरिदिऊँ इन्द्रेणीका रङहरू,
कहिल्यै नदुख्ने बनाइदिऊँ
अस्ताउन लागेका
घामहरुका देब्रे छाती
र हरेक रात गस्तीमा निस्किँदा
नभेटियुन्
आकाश ओढेर
धर्ती ओछ्याइरहेकाहरू ।
सबैलाई टन्न अघाइदिऊँ
कसैको नखोसीकन,
सबैलाई बराबर उठाइदिऊँ
कसैलाई नहोच्याईकन,
कहिल्यै नदुखुन् खाडीमा
श्रमका क्यालकुलेटरहरू
र पूरै सफा बनाइदिऊँ
झन्डा मैलाइरहने
धुलाम्य सडकहरु ।
युगौँदेखि नक्साको साक्षी बसिरहेको सूर्य
उस्तै उदाइरहोस् अनन्तसम्म
विशाल नेपालको फलकमा,
सङ्गच्छध्वम् संवदध्वम्
सिरोपर गरेर
जपिरहौँ चरैवेतिको मन्त्र
निर्माण गरौँ समृद्ध नेपाल ।
अनि
नेपाली मन ,पहिचान बोकेर
समतामूलक समाजमा
स्वतन्त्रतापूर्वक बाँचिरहुन्
मेरा सन्ततीहरू
गाइरहुन् नेपालको गीत
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।
प्रकाशित मिति : ३० असार २०७८, बुधबार ३ : ०४ बजे
प्रतिक्रिया