काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् ।
लामो समयदेखि फरार रहेको गच्छदार आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको भोलीपल्टै ( बुधबार ) अदालतमा हाजिर भएका हुन्।
उच्चअदालतमा अख्तियारले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
जग्गा हिनामिना प्रकरणमा मुछिएका गच्छदार एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा थिए । अदालतले उपस्थित हुन पटक–पटक दिएको आदेश उनले टेरिरहेका थिएनन् ।
विशेष अदालतले गच्छदारलाई बयान लिएर मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचारको मुद्दा लागेपछि गच्छदारको सांसद पद निलम्बन भएको छ । भ्रष्टाचार निवारण ऐन अनुसार भ्रष्टाचारविरुद्व मुद्दा परे सार्वजनिक पद स्वतः निलम्बन हुने व्यवस्था छ ।
प्रकाशित मिति : ३० असार २०७८, बुधबार १ : ४९ बजे
प्रतिक्रिया