‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ओलीको बालुवाटार टु बालकोट यात्राः समयको अन्त्य होइन, नयाँ आरम्भ

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली करिब साढे ३ बर्षको प्रधानमन्त्रीको दोस्रो कार्यकाल पछि आज बालुवाटारबाट निजी निवास बालकोट फर्किनुभएको छ । पहिलो पटक प्रधानमन्त्रीहुँदा ओलीले ऐतिहासिक कामहरुको थालनी गर्नुभएको थियो । राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानको नेतृत्व गर्नुभएको थियो । त्यसै कारण ९ महिनापछि उहाँको सरकारलाई ढालियो जुन स्वाभिमानका साथ प्रधानमन्त्री ओली त्यसबेला बालकोटबाट बालुवाटार जानु भएको थियो । त्यही शान र शैलीमा ९ महिनापछि फेरि बालुवाटारबाट बालकोट फर्किनुभएको थियो अर्थात सरकारको नेतृत्व गरेपछि ओलीको उचाई झन अग्लिएको थियो । त्यसैको बिम्बस्वरुप सत्ताबाट बाहिरिदापनि जनताको भब्य स्वागत र माया उहाँले पाउनुभएको थियो ।

प्रधानमन्त्री ओलीको त्यही पहिलो कार्यकालको जगमा यो दोस्रो कार्यकाल आरम्भ भएको थियो । उहाँ नेपाल कम्युनिष्ट पार्टीका शक्तिशाली अध्यक्ष र शक्तिशाली प्रधानमन्त्री हुनुहुन्थ्यो । करिब साढे ३ बर्षपछि सत्ता छाडिरहदा पनि प्रधानमन्त्रीको लोकप्रियताको ग्राफ अझै घटेको छैन, केही केही प्रश्नहरु उठेका छन् तर तिनले प्रधानमन्त्रीको इमान्दारी र क्षमतालाई अबमुल्यन गर्न सक्दैन । पहिलो कार्यकालमा जसरी उहाँले नेपाल र नेपालीको पहिचान स्थापित गर्ने केही ऐतिहासिक निर्णय लिनुभएको थियो । दोस्रो कार्यकालमा पनि त्यस्ता ऐतिहासिक निर्णयहरु भएका छन् जसले ओलीलाई नेपालका प्रधानमन्त्रीहरुको सूचीमा सबैभन्दा माथी राख्ने छ ।

पहिलो कार्यकालमा चीनसँग यातायात पारवहन सम्झौता गर्नुभएका प्रधानमन्त्री ओलीले दोस्रो कार्यकालमा चीनका सातवटा बन्दरगाह प्रयोग गर्ने प्रोटोकलमा हस्ताक्षर गर्नुभयो अर्थात नेपाल वास्तविक रुपमा  भूपरिवेष्ठितबाट भू–जडित राष्ट्रको रुपमा रुपान्तरण भयो, जुन इतिहास कसैले मेट्न सक्दैन ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता भौगोलिक अखण्डता र स्वतन्त्रताका हकमा कहिल्यै कसैसँग मुलाहिजा गर्नुभएन, उहाँले नेपाल र नेपालीलाई पहिलो प्राथमिकतामा राखेर छिमेकी देशदेखि सम्पुर्ण वाह्य समुदायसँग सोहार्दपूर्ण र सहकार्यको सम्बन्ध स्थापित गर्नुभयो । सन १९६२ देखि भारतले मिचेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीलाई नेपालको नक्सामा समेटेर नेपालको तस्विर नै ओलीले बदलिदिनुभयो । ओली अघिका धेरै प्रधानमन्त्रीले भारतले मिचेको यो भूमि फिर्ता ल्याउने न पहल गर्न सके न ओलीपछिका अब आउने प्रधानमन्त्रीले नै यस्तो साहस र क्षमता प्रदर्शन गर्न सक्छन् । नेपालको इतिहासमा त्यो चुच्चे नक्सा प्रधानमन्त्री ओलीले बनाएको हो, यसलाई मेटाउन कसैले सक्दैनन् ।

प्रधानमन्त्री ओलीले नेपालको छवि अग्लो बनाउने  त्यस्ता करिब दर्जन बढि ऐतिहासिक दिर्घकालिन पहल कदमी गर्नुभएको छ, त्यो आउने दिनमा बारम्बार संझिईरहने छन् । यी भए नेपालको अन्तराष्ट्रिय छवि बढाउने केही प्रतिनिधिमुलक काम । नेपालको विकास र समृद्धिमा प्रधानमन्त्री ओलीले जुन आरम्भ गर्नुभयो ती आफैमा ऐतिहासिक र दिर्घकालसम्म देशलाई सकारात्मक दिशातर्फ डोहोरयाउने कामहरु हुन् । नेपाललाई विकशित राष्ट्र बनाउनका निम्ती अल्पकालिन र दिर्घकालिन योजना र कार्यक्रमसहित नविनतम विकासका बहुआयामिक प्रविधि युक्त कामहरुको श्रीगणेश ओलीबाट नै भयो । चाहे ति पूर्वाधारको क्षेत्रमा हुन, कनेक्टिभीटिका क्षेत्रमा हुन, उर्जाका क्षेत्रमा वा कृषिको यान्त्रिकिकरण गर्ने सवालमा होस ओलीका नविनतम विकासका आरम्भहरुको सूची लामो छ । तीनका वारेमा क्रमश चर्चा हुन्छ नै तर अबको ५० बर्षसम्म विकासको ओली मोडललाई अघि बढाउन हरेक प्रधानमन्त्री र सरकारको काम हुनेछ ।

पार्टीभित्रका केही अराजक, कुण्ठा ग्रस्त र सत्ता नपाएको झोकमा विरोधमा उत्रिएकाहरु ओलीको क्षमताका कारण  कुनै भाउ नपाएका कथित विज्ञ र ओली सरकारमा रहुन्जेल सत्तारुढ हुन नसकिने  निश्कर्षमा पुगेका हरुवा, चरुवा प्रतिपक्षीहरुले प्रधानमन्त्री ओलीलाई असफल करार गर्ने प्रयास गरेका हुन र त्यो कहिल्यै सफल हुँदैन । देउवा, प्रचण्ड, बाबुराम र माधव नेपालभन्दा ओली विचारको दृष्टिकोणमा, विकासको सोचमा र वैदेशिक सम्बन्ध अघि बढाउने सम्बन्धमा धेरै अगाडि हुनुहुन्छ । प्रधानमन्त्री ओलीले भनेजस्तो यो समयको अन्त्य होइन, समयको अर्को आरम्भ हो । जसले केही महिनाभित्रै ओलीलाई सिंहदरवारको मुल ढोकाबाट जनताको बलियो मत सहित तेस्रो पटक प्रधानमन्त्री बनाउने छ । त्यसैले दोस्रो पटक परमादेशबाट हटाईएका प्रधानमन्त्री ओली बालकोट आउँदैगर्दा भव्य स्वागत र सम्मान पाईरहनुभएको छ ।
 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १ : ०४ बजे