सुनको मूल्यमा नयाँ कीर्तिमान

पार्टी भित्रको आन्तरिक विवादको समीक्षा गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ । आजको बैठकमा पार्टी भित्रको आन्तरिक विवाद तथा कार्यदलले गरेको १० बुँदे सहमतिका बारेमा समीक्षा हुने बताइएको छ ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङकाअनुसार आज अपरान्हसम्म पार्टी कार्यालय थापाथलीमा स्थायी कमिटी बैठक बस्ने तयारी भए पनि समय निर्धारण भइसकेको छैन । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको सहयोगमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएपछि सो विषयमा पार्टीभित्र समीक्षा हुने नेता तामाङले बताउनुभयो ।

कार्यदलले आन्तरिक विवाद समाधान गर्नेगरी १० बुँदे सहमति गरिसकेकाले बैठकबाट सो सहमति अनुमोदन हुने पनि उहाँले बताउनुभयो । कार्यदलका सदस्यहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई सहमतिको दस्तावेज हस्तान्तरण गरिसक्नुभएको छ । आज बस्ने बैठकमा पार्टी एकताको सन्देश दिन पनि सहमतिको दस्तावेज अनुमोदन हुने नेता तामाङले बताउनुभयो ।

स्थायी कमिटी बैठक मंगलबार १ बजेका लागि तय गरिएको भएपनि प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने समय २.०० बजे तय भएपछि स्थायी कमिटी बैठक स्थगित भएको थियो । कार्यदलले सहमति गरेको विषय स्थायी कमिटीमा छलफल गरी अनुमोदन गर्ने र थप अनुमोदनका लागि केन्द्रीय कमिटी बैठकमा लैजाने तयारी एमालेले गरेको छ । स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी बैठकको समय निर्धारण हुने नेता तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १० : ०९ बजे