पहिराबाट ज्यान गुमाउनेको परिवारलाई सङ्घ सरकारको राहत

दमौली – पहिराबाट ज्यान गुमाउने तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङका पीडित परिवारलाई सङ्घ सरकारको तर्फबाट राहत वितरण गरिएको छ । गत असार १७ गतेको पहिरामा पुरिएर मृत्यु भएका दुई परिवारलाई सङ्घ सरकारको तर्फबाट सोमबार रु चार लाख राहत वितरण गरिएको हो । 

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पीडितको घरमै पुगी जनही रु दुई लाखका दरले राहत रकम वितरण गर्नुभएको हो । सो क्रममा प्रतिनिधिसभा सदस्य श्रेष्ठले मानिसको जीवन पैसासँग तुलना गर्न नमिले पनि पीडित परिवारको साथमा सरकार छ भन्ने अनूभुति गराउन राहत वितरण गरिएको बताउनुभयो ।

पहिरामा परी उक्त ठाउँका ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया सर्किनीको मृत्यु भएको थियो । यसअघि गण्डकी प्रदेश सरकारले पनि प्रतिमृतक रु ५० हजारका दरले राहत रकम प्रदान गरिसकेको छ । पहिरामा मृत्यु भएकाका परिवारलाई जनही रु दुई लाखका दरले राहत वितरण गर्ने प्रावधानअनुरुप ऋषिङका पीडितलाई पनि केही समयपछि राहत उपलब्ध गराइने बताइएको छ । गत यही १७ र २४ गतेको पहिरामा पुरिएर बन्दीपुरमा दुई र ऋषिङमा दुई जनाको मृत्यु भएको छ । 

रासस

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : ३५ बजे