साफ यू–१७ च्याम्पियनसिप आजदेखि

फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

दमौली – ज्यान मार्ने उद्योगमा फरार एक प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले ज्यान मार्ने उद्योगमा कैद र जरिवाना फैसला तोकिएका प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको हो । पक्राउ पर्नेमा व्यास नगरपालिका–१ स्थायी घर भई हाल व्यास–५ पतेनी बस्ने ४० वर्षीय पपे भन्ने पपेन्द्र राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । निजविरुद्ध जिल्ला अदालत तनहुँले विसं २०६० असार १२ गते आठ वर्ष कैद र रु ५२ हजारको जरिवानाको फैसला सुनाएको थियो ।

यसैगरी प्रहरीले अन्य चार फरार प्रतिवादीलाई समेत पक्राउ गरेको छ । लागुऔषध चरेससमेत मुद्दामा शुक्लागण्डकी नगरपालिका–१० खोरादी बस्ने २७ वर्षीय सुशील पोखरेल पक्राउ परेका छन् । निजविरुद्ध जिल्ला अदालतले विसं २०७५ जेठ २० गते चार दिन कैद र रु एक हजार जरिवानाको फैसला सुनाएको थियो । 

लागुऔषध चरेससमेत मुद्दामा शुक्लागण्डकी नगरपालिका–१० खोरादीकै सन्जु भन्ने ३४ वर्षीय कृष्णबहादुर धिमाल पनि पक्राउ परेका छन् । निजलाई पनि सोही दिन चार दिन कैद र रु एक हजार जरिवाना साथै रु २०० क्षतिपूर्तिको फैसला भएको थियो । लागुऔषध डाइजेपाम समेत मुद्दामा व्यास–१ बस्ने २२ वर्षीय सन्तोष कार्की पक्राउ परेका छन् । निजविरुद्ध अदालतले विसं २०७७ फागुन २६ गते दुई महिना २९ दिन कैद र रु १२ हजार जरिवाना साथै रु ८०० क्षतिपूर्तिको फैसला सुनाएको थियो । 

त्यस्तै लागुऔषध मुद्दामा व्यास–३ शान्तिनगर बस्ने ३७ वर्षीय लक्ष्मण दनुवार पक्राउ परेका छन् । निजविरुद्ध अदालतले विसं २०७६ भदौ ३ गते सात दिन कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि सोमबार जिल्ला अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ । 

रासस 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : २१ बजे