साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

एमाले एकताः मध्यरातमा देखिएको आशाको जुनकिरी

नेकपा एमाले पार्टीको जम्मै जिउ उखर्माउलोसँग चिलाउने गरी जिउभरि सल्केको दादे रोगको प्रारम्भिक पहिचान भएको छ । त्यतिमात्र होइन  त्यसको उपचारमा अहम् योगदान पुग्ने गरी नेकपा एमालेको दोस्रो पुस्ताका  नेताहरूको कार्यदलले  हिजोराती हल्का नचिलाउने खालको दशबुँदे मलहमको प्रारम्भिक सफल परीक्षण गरेका छन् ।

नेकपा एमालेमा विशेष गरी खुमलटारबाट (दा) र बुढानिलकण्ठबाट (दे) को विचित्र कम्बिनेसनबाट निर्माण भई सरेको भनिएको यो चिलाउने दादे रोगको उपचारका लागि डा. भीम रावल लगायतको टोलीले दिनरात नभनी खटेर बनाएको यो औषधिले कत्तिको काम गर्छ त्यो त हेर्न बाँकी नै छ ! तर यो रोगले छाला हुँदै जम्मै जिउ छेडेर मस्तिष्कमा समेत असर परिसकेको कामरेड माधव नेपाललाई भने ‘यो  औषधि हतारमा बनाइएको र यसले निको पार्न नसक्ने आशङ्का गर्दै ’ तिन बुँदे असहमति भनी विभिन्न सञ्चार माध्यममा प्रसारित समाचार देख्दा भने औषधि उत्पादनमा संलग्न डाक्टर लगायतको टोली नै तिन छक परिरहेको होला । बिरामीले औषधि नै सेवन गर्दिन भन्यो भने बिचरा डाक्टरहरूको पनि के पो उपाय लाग्छ र बरै !

यद्यपि कामरेड माधव नेपाललाई पनि कम्ती सकस छैन ! अरू पार्टीका नेतालाई आफ्नो पार्टीको चिन्ता हुन्छ, तर कामरेड माधव नेपाल यति महान् हुनुहुन्छ कि उहालाई आफ्नो पार्टीको भन्दा अरू पार्टीको चिन्ता  छ भन्ने पुष्टि उहाँ स्वयमले नै गरिसक्नु भएकै छ । यस्तो महानताको भाइरस संसारका नेतामा विरलै पोजिटिभ देखिन्छ । “पर पार्टी उपकारलाई पुण्य र स्वपार्टी उपकार”लाई पाप ठान्ने दर्शनको चुरो रहेको उहाँको इमान्दारिता पनि गिनिज बुकमा लेखिने खालकै छ क्यार ! किनभने आफ्नो पार्टी बलियो बन्दा अरुको पार्टी कमजोर बन्छ कि भन्ने चिन्ताको जनैखटिरोले उहाँलाई थिलोथिलो पार्छ भन्ने कुरो अदालतमा देउवाका लागि चढाइएको धूपधजामा गम्भिर असर फर्छ कि भनी उहाँलाई नै परेको असरले पुष्टि गरेकै छ  ।

उहाँलाई असारको गर्मीमा पनि पुशे ( पुष्प र शेर ) कम्बल गम्लङ्ग ओढेर बस्न असाध्यै मन पर्दोरहेछ । थापाथली हाइटको शीतल डाँडोभन्दा खुनैखुनले सिञ्चेको र चर्को खुमलटारको गर्मी मन पर्दो रहेछ क्यार ! नत्र पार्टीमा लागेको रोगको उपचारका लागि औषधि उत्पादन गर्न आफूले नै खटाएका डाक्टरहरूको टोलीमाथि शंकाका तीखा आँखाले क्वार्क्वार्ती किन पो हेर्नु हुन्थ्यो र ! नेकपा एमालेको कार्यदलले तयार पारेको यो सहमतिप्रति उहाँले ऐठन भएजस्तो भाषामा किन प्रतिक्रिया दिनुहुन्थ्यो त ! (आफ्नो बाहेक)  मुलुकका विपक्षी र  धेरै पार्टीको नेता जस्तो महान व्यक्ति बन्न रुचाउने कामरेडले एउटा पार्टी र त्यसका पनि सहप्रवक्ताको स्टाटस लाई लिएर बिहान बिहान ऊले ऊपनि नखाँदै किन पो प्रत्युत्तर स्टाटस विसर्जन गर्नु हुन्थ्यो त ! 

तर यस अवसरमा पार्टीको उपचारका लागि अहोरात्र खट्ने दोस्रो पुस्ताका नेताहरूप्रति सम्मान गर्नेहरू मनग्गे हुनेछन् । अब दोस्रो पुस्ता पहिलो पुस्ता खोलामा हाम्फाल्दा सोचविचार नगरी आफूपनि हाम्फाल्न तयार छैन है भन्ने सन्देश दिन सक्षम भएजस्तो हल्का लक्षण देखिँदो छ । अहिले दोस्रोपुस्ताका रूपमा देखा परेका र यो सहमतिको ड्राफ्ट तयार पार्न पापड बेलेका नेताहरूको एउटा बलियो गठबन्धन हुनु जरुरी छ !

स्मरण रहोस्, यो सहमतिको विरोध गर्नेहरूमा नेकपा एमालेमा मिल्नै नचाहने र नेकपा एमालेका केही चौटा लगेर मांसाहारीलाई भोजन गराउने नियत प्रस्ट देखिन्छ । आगामी चुनावी कपमा विपक्षीले गोलकिपर नै नराखेर चुनावमा विजयको गोल गर्ने वातावरण बनाइदेला र सांसद पद झर्ला अनि चपाउँला भनेर उतातिर भित्तो भएर लागेकाहरूका लागि यो सहमति अपाच्य हुनु स्वभाविकै हो !

जनता र जमिनको विस्वास नगरी सर्वोच्च र सर्वाधमहरूको कम्बिनेसन बाटमात्र सत्तामा पुग्न सकिन्छ भन्ने विश्वास हुनेहरूलाई पार्टीप्रति कुनै माया र स्नेह हुने कुरै भएन ! कामरेड माधव नेपाल अब पनि पार्टीमा फर्कनु भएन भने उहाँको जससँग डिपलभ परेको थियो त्यो नयाँ पार्टीको गर्भाधानका तहमा सम्म पुगिसकेको भन्ने छर्लङ्ग हुने नै छ ! तर त्यसो हुने छैन किनकि कामरेड माधव नेपाल आफुले समेत हुर्काको र आफूले प्रसस्त फल खाइसकेको र आफ्नालाई समेत मनग्गे फल खुवाइसकेको पार्टीवृक्षबाट फुत्त निस्केर अर्को रूखमा हाम फाल्नुहुने छैन ।

आम जनताले आशा एवम् विश्वास गरेका छन्,- पार्टीमा खुमलटार र बुढानीलकण्ठबाट हिर्काएका एमाले विभाजनका लागि लिदिएको काउसो र त्यसबाट बिग्रेर बनेको दादे रोग अब हिजो राती उत्पादित दशबुँदे मलहमले निको पार्ने छ । मध्यरातमा हुन गएको यो सहमतिले आशाको जुनकिरी जगाउने छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ११ : ०९ बजे