‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि पेस गरिएको प्रस्तावलाई मत विभाजनको प्रक्रियाद्वारा निर्णायार्थ पेस गरिँदा मुख्यमन्त्री शाहको प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो । 

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले पेस गर्नुभएको प्रस्तावको पक्षमा ३६ मत परेको र यो संख्या प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण संख्याको बहुमत भएकाले मुख्यमन्त्रीले पेस गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो । 

आजको बैठकमा प्रदेशसभा ४५ सदस्य सहभागी रहेकोमा मुख्यमन्त्रीको प्रस्तावको पक्षमा ३६, विपक्षमा आठ र तटस्थमा एक मत परेको थियो । स्वतन्त्र सदस्य डा तारा जोशीले तटस्थमा मत दिनुभएको थियो ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीको प्रस्तावको पक्षमा र नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले विपक्षमा मत दिनुभएको थियो ।

विपक्षी दल नेकपा (माओवादी केन्द्र) का छ सदस्य र राप्रपाका एक सदस्य आजको बैठकमा अनुपस्थित हुनुहुन्थ्यो । यसअघि विश्वासको प्रस्ताव पेस गर्नुहुँदै मुख्यमन्त्रीले प्रदेशको समृद्धि र विकासका लागि अब धेरै पर्खिने समय नभएको भन्दै प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिका दल र प्रदेशसभा सदस्यलाई सहकार्यका लागि आह्वान गर्नुभयो । 

मुख्यमन्त्रीले भन्नुभयो, “दलगत सोचभन्दा माथि उठेर राजनीतिक स्थायित्व र समृद्धिका लागि विश्वासको मतका लागि आग्रह गर्दछु ।” प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता मानबहादुर धामीले प्रतिपक्षमा बसेर रचनात्मक काम गर्ने बताउनुभयो । 

धामीले मुख्यमन्त्री शाहकै नेतृत्वको यसअघिको सरकारले विकासका योजना समानुपातिक रुपमा सञ्चालन नभएको भन्दै अबको कार्यकालमा प्रदेशमा समानुपातिक रुपमा विकासका योजना सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । प्रस्तावमाथि भएको छलफलमा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, नेकपा (एकीकृत समाजावदी) का प्रकाश रावल र स्वतन्त्र सदस्य डा तारा जोशीले बोल्नुभएको थियो ।  

नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाह कांग्रेससहित एमाले, नागरिक उन्मुक्ति पार्टीका सदस्यको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यही साउन २० गते नियुक्त हुनुभएको थियो । सोही धाराको उपधारा (४) बमोजिम मुख्यमन्त्रीले आज विश्वासको मत लिनुभएको हो । शाह दोस्रो पटक प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । 

यसअघि विसं २०७९ माघ २७ गते माओवादी केन्द्र नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समेत समर्थनमा उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । 

केन्द्रमा फेरिएको समीकरणसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका शाहले गत चैत २२ गते पदबाट राजीनामा दिनुभएको थियो । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रको सभामुखबाहेक १०, एमालेको ११, नागरिक उन्मुक्ति पार्टीको सात, एकीकृत समाजवादी पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् ।
 

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ८ : ३४ बजे