‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कर्णालीको यातायात सुधारमा मुख्यमन्त्री कँडेलको पहल

काठमाडौँ । कर्णाली प्रदेशमा पुगेको सडक यातायातको सञ्जाल सुरक्षित नभएको तथ्यहरू सार्वजनिक भइरहेका छन् । असुरक्षित सडकका कारण यस राजमार्गमा अधिक दुर्घटना हुने र धनजनको क्षति हुने गरेका समाचार बारम्बार देख्नु र सुन्नुपर्दा मानिसले कर्णाली राजमार्गको नाम नै मृत्यु राजमार्ग राखिदिएको पाइन्छ ।

कर्णालीमा गएको आर्थिक वर्षमा सडक दुर्घटनामा परी ११२ जनाको मृत्यु भएको थियो । प्रदेश प्रहरी कार्यालयका अनुसार १ हजार ४५५ वटा सवारी दुर्घटना हुँदा दुई हजारभन्दा बढी नगरिक घाइते भएका थिए । 

यसै तथ्यलाई मध्यनजर गरी कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सार्वजनिक यातायात व्यवस्था र प्रहरी जाँचपासबारे चासो राख्नुभएको छ । मुख्यमन्त्री कँडेलले सरोकारवाला सरकारी संयन्त्र तथा सुरक्षा निकायहरूसँग यससम्बन्धमा छलफल गरी यससम्बन्धमा परेका उजुरी, गुनासा, समाचार, सामाजिक संजालका प्रतिकृया सम्बोधन गर्न सात बुँदे निर्देशन दिनुभएको छ ।

प्रदेश सांसद टेकराज पछाईंका अनुसार सडक संजाल र सुरक्षाबारे त्यस अवसरमा मुख्यमन्त्रीले निम्न बमोजिम निर्देशन दिनुभएको छ । 

१) कर्णाली प्रदेशको प्रवेशद्वार बबई नाकादेखि हाल नियमित यातायात चलिरहेका जुम्लासम्म करिब २२ स्थानमा जाँचपास हुने आजसम्मको अवस्थालाई बदल्नुपर्ने । बबईमा डिजिटल प्रविधिमार्फत जाँचपासको आवश्यक प्रबन्धका लागि पहलकदमी गर्ने । सम्पूर्ण प्रहरी चौकीमा इन्ट्री गर्ने तर जाँचपास निश्चितमा मात्र गर्ने ।

२) चेकजाँचपासको क्रममा खटिएका प्रहरी र यातायात साधन पक्षधरको राजीखुसी भइरहेका लेनादेना शून्यमा झार्ने । ट्राफिक नियमको उल्लंघन छ भने जरिवाना गरी राजस्व संकलन गर्ने ।

३) यातायातका साधनहरूले रोडपरमिटको ख्याल गरीकन मात्र यात्रु राख्ने ।

४) सार्वजनिक यातायातको भाडादर समायानुकूल बनाउने र पक्की सडक भइसकेका ठाउँमा पनि कच्ची सडकको भाडादर नराख्ने ।

५) राजमार्ग व्यवस्थित र ट्राफिकमैत्री बनाउन पहलकदमी गर्ने ।

६) सवारी तथा यातायात व्यवस्था ऐनको परिधिभित्र रहेर नै कानून कार्यान्वयन, सार्वजनिक सेवा र यातायात साधनको व्यवस्थापन गर्ने ।

७) सार्वजनिक सडक किनारामा निर्माण सामग्री र बिग्रिएका थोत्रा सवारी साधन लामो समयदेखि राख्न नदिने ।
 

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ५ : ५४ बजे