‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गोसाइँकुण्ड मेला भर्न जाने तीर्थालुका स्वास्थ्य उपचार प्रबन्ध, पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन हुने

रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड तीर्थस्नान गर्न जाने श्रद्धालु भक्तजनको स्वास्थ्य उपचारका लागि बाटोमा पर्ने विभिन्न पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।

समुद्र सतहदेखि १४ हजार १०० फिट उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला भर्न जाने भक्तजनको स्वास्थ्यलाई ख्याल गरी अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हिमालय उद्धार संघले जनाएको छ ।

सदरमुकाम धुन्चेस्थित शिव मन्दिर चोकमा सञ्चालन हुने शिविरमा तीर्थयात्रुको प्राथमिक तहको स्वास्थ्य परीक्षण गरी गोसाइँकुण्ड जाने बाटोअन्तर्गत मिनी गोसाइँकुण्ड, चोलाङपाटी, लौरिविनायक र गोसाइँकुण्डमा आवश्यकताअनुसार स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो ।

स्थानीय जिल्ला रेडक्रस र आयुर्वेदिक संस्थाले मिनी गोसाइँकुण्ड, नेपाली सेनाले चोलाङपाटी, गोसाइँकुण्ड गाउँपालिकाले लौरिविनायक र हिमालय उद्धार संघले गोसाइँकुण्डमा अक्सिजनसहित स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष डिएमले बताउनुभयो । भक्तजनलाई स्वास्थ्य सेवा प्रदान गर्न भनी हिमालय उद्धार संघका सात सदस्यीय चिकित्सकको समूह लौरिविनायक पुगिसकेको मेला व्यवस्थापन समितिले जनाएको छ ।

जनैपूर्णिमा पर्वका अवसरमा सबै देवीदेवताको गोसाइँकुण्डस्थित नीलकण्ठ दहमा बास हुने भएकाले एक साथ सबैको दर्शन मिल्ने जनविश्वाससहित तीर्थस्नान एवं पूजाआजाका लागि जोखिम मोलेर त्यसतर्फ भक्तजन जाने गरेको भन्ने शास्त्रीय मान्यता रहिआएको छ । 

 

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ५ : ३६ बजे