‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपाल एपीएफ क्लबका तीन जना महिला भलिबल खेलाडी सम्मानित

काठमाडौँ । ‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लबका तीन जना महिला भलिबल खेलाडीलाई साउन ३० गते प्रधान कार्यालयमा आयोजित कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गर्नुभएको छ ।

सम्मानित हुनेमा सशस्त्र प्रहरी सहायक हबल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्ट छन् ।

महानिरीक्षक अर्यालले लामो समयदेखि नेपाल एपीएफ क्लबमा आबद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरी देश र संगठनको छवि उच्च राख्न खेलेको महत्त्वपूर्ण योगदानको कदर गर्दै उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्नुभएको हो ।

उक्त लिग यही साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न भएको थियो ।    उक्त लिग तथा अन्य भलिबल प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएकी निरुता ठगुन्नालाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हबल्दार पदमा बढुवा गरिएको छ ।  

बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेले बुधबार दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । 

यसअघि २२औं सशस्त्र प्रहरी दिवस–२०७९ को अवसरमा सरस्वती चौधरीलाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हबल्दार पदमा पदोन्नति गरिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ५ : ०१ बजे