संविधान परिमार्जन र कार्यान्वयन दुवै गर्दा सबैलाई अपनत्व हुने गरी मात्र गरिनेछ  : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्न लाग्यो भनेर केही तत्त्वहरूले अतिरञ्जित गर्दै समाजलाई भड्काउन खोजिरहेको बताउनुभएको छ । 

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले  लोकतन्त्र मासेर जाने कुनै ठाउँ नभएको बताउनुभयो । तानाशाही र अधिनायकवाद विरुद्ध आफूहरू लडेर आएको बताउँदै उहाँले आफू जहिल्यै प्रजातन्त्रको पक्षमा उभिने बताउनुभयो ।

उहाँले संविधान देश र जनतालाई चाहिएको भन्दै सुशासन र जनताको पक्षमा मात्र संविधान संशोधन हुने बताउनुभयो । संविधानको आधारभूत मूल्य र मान्यता मास्ने गरी संविधान संशोधन कहिल्यै नहुने उहाँको दाबी थियो ।

जहाँ विकासका लागि बाधक हुन्छ, जहाँ जनतालाई सेवा सुविधा दिन बाधा हुन्छ, त्यहाँ जसोतसो दुई तिहाइ पुर्‍याएर होइन संविधानलाई सर्वस्वीकार्य बनाउने गरी सबैसँग छलफल गरेर मात्र संविधान संशोधन हुने उहाँले बताउनुभयो । ‘संविधान हामी आफैले निर्माण गरेका हौँ, संविधान संशोधन गर्दा, कार्यान्वयन गर्दा वा परिमार्जन गर्दा पनि आफूहरू सबै मिल्ने छौँ,’ प्रधानमन्त्रीले बताउनुभयो ।  

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियालाई नेपालले आफ्नै हिसाबले अघि  बढाएकोसमेत बताउनुभयाे । 

ओलीले नेपालको शान्ति प्रक्रिया मौलिक भएकाले सफलतातर्फ उन्मुख भएको बताउनुभयो । ‘शान्ति प्रक्रियालाई हामीले आफ्नै हिसाबले प्रारम्भ गरेको हौँ, आफ्नै हिसाबले अघि बढाएका हौँ, यो मौलिक छ, हाम्रो आफ्नै प्रयासबाट अगाडि बढेको छ, त्यही कारण हुन सक्दछ, यो सफलतापूर्वक अगाडि बढेको छ’, ओलीले भन्नुभयो । 

नेपालको शान्ति प्रक्रिया दुनियाँको लागि नमुना हुने गरी नेपालले अघि बढाएको ओलीले बताउनुभयो । नेपालका सशस्त्र द्वन्द्वमा रहेको अनेक समूहलाई लोकतन्त्रको राष्ट्रिय धारमा ल्याएको उहाँले बताउनुभयो । 

शान्ति प्रक्रियाको धेरै काम टुंगिएको भए पनि सत्य निरूपण र बेपत्ताको छानबिन टिआरसीको काम बाँकी रहेको ओलीले बताउनुभयो । ती विषयलाई टुंगो लगाउन टिआरसी विधेयक बनाएको भए पनि ऐनका कमजोरीका कारण विषय टुंगो नलागेको कारण संशोधन सहितको विधेयक संसद्‍मा पेस भइसकेको उहाँले जानकारी दिनुभयो । आज सो विधेयक माथि छलफल गरेर पारित गरिने ओलीले जानकारी दिनुभयो । 

कुनै करकापमा नपरी सहमतिका साथ पीडितको पक्षमा सो विधेयक बनेको उहाँले बताउनुभयो । सबै शान्तिका पक्षधरका लागि यो खुसीको विषय भएको ओलीले प्रस्ट पार्नुभयो । 

ऐन पास भएपछि ऐन अन्तर्गत आयोग बन्ने र ती आयोगले प्रभाकारी काम गर्ने उहाँले बताउनुभयो । ती आयोगलाई सरकारको तर्फबाट सरकारको पुरापुर सहयोग हुने बताउँदै ओलीले अन्य राजनीतिक दललाई पनि त्यसमा सहयोग गर्न आग्रह गर्नुभयो । ओलीले नेपालले शान्ति प्रक्रियाको बाँकी कामलाई पनि पुरा गर्‍यो भन्ने सन्देश विश्व समुदायलाई दिन आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १ : ५२ बजे