‘नेशनल डे कन्सर्ट’ सम्पन्न

‘डेंगीलाई सामान्य रूपले नसोचौँ’

गण्डकी । यही साउन १० गते तनहुँको व्यास नगरपालिकाका–७ का ४८ वर्षीय पुरुषको डेंगी संक्रमणबाट निधन भयो ।

यसको दुईसातापछि गत शनिबार हल्दीबारी गाउँपालिका–३ झापाकी ४२ वर्षीया शिक्षिकाले डेंगीकै कारण ज्यान गुमाउनुप-यो । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार गत वर्ष नेपालमा डेंगी संक्रमणबाट २० जनाको मृत्यु भएको थियो । 

यस वर्ष पनि गत असारयता डेंगी संक्रमण बढ्दै गएको छ । ७३ जिल्लामा डेंगीको संक्रमण फैलिएको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका जिल्ला पनि यसबाट अछुतो छैनन् । तनहुँ, कास्कीलगायत जिल्ला डेंगी संक्रमणबाट बढी प्रभावित छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गत आइतबारसम्म गण्डकीका दस जिल्लामा गरी १ हजार ३ सय जनाभन्दा बढीमा डेंगीको संक्रमण पुष्टि भएको छ ।  

मुस्ताङबाहेक प्रदेशका सबै जिल्लामा डेंगीको संक्रमण पुष्टि भएको निर्देशनालयका सूचना अधिकारी नवराज शर्माले जानकारी दिनुभयो । उक्त अवधिसम्ममा सबैभन्दा बढी तनहुँमा ५५२ जनामा डेंगीको संक्रमण देखिएको थियो । तनहुँपछि कास्की डेंगीबाट बढी प्रभावित देखिन्छ । गत बुधबार मात्र कास्कीमा ४० जना डेंगी संक्रमित भेटिएका थिए । 

गत आइतबारसम्मको तथ्यांकअनुसार गोरखामा १११, बागलुङमा ८६, पर्वतमा ६६, लमजुङमा ५५, म्याग्दीमा ४१, स्याङ्जामा ३६, नवलपुरमा ११ र मनाङमा मात्र एक जनामा डेंगीको संक्रमण पुष्टि भएको छ । गत जुलाई महिनामा ६४३ जना संक्रमित भेटिएकामा अगष्टको दोस्रो साता नबित्दै पाँच सयभन्दा बढीमा डेंगीको संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । 

गत जनवरीमा ७० जनामा डेंगीको संक्रमण भएकामा त्यसयता घट्दै आएर जुन महिनामा ८७ बाट पुनः संक्रमितको संख्या थपिँदै आएको हो । पछिल्लो दुई महिनामा डेंगी संक्रमणको दरलाई हेर्दा आगामी दिनमासंक्रमणको जोखिम थप तीव्र हुने देखिएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले बताउनुभयो । 

उहाँका अनुसार असारदेखि कात्तिकसम्म डेंगीको संक्रमण बढी फैलने गर्छ । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेंगीले महामारीको रूप लिन सक्ने प्रमुख नेपालीले बताउनुभयो ।

“डेंगीलाई सामान्य रूपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्”, उहाँले भन्नुभयो, “डेंगी भइसकेपछि अचाक्ली पीडा र दर्द हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुन सक्छ ।”

उहाँले पछिल्लो समय प्रदेश राजधानी पोखरामा डेंगी तीव्र रूपमा फैलिएको बताउनुभयो । डेंगी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताउनुभयो । चार प्रकारको भाइरसबाट मानिसमा डेंगी संक्रमण हुने गरेको उहाँले बताउनुभयो । 

धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेंगी संक्रमण हुँदैमा आत्तिइहाल्नु चाहिँ नपर्ने बताउनुभयो । डेंगी संक्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने उहाँको भनाइ छ । डेंगी भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रशस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने प्रमुख चिकित्सक प्रधानले बताउनुभयो । 

गर्भवती र बालबालिकामा डेंगीको संक्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने उहाँको भनाइ छ । “अधिकांश संक्रमित सामान्य उपचारपछि निको हुन्छन्, कतिपयमा डेंगीले जटिलता ल्याउन सक्छ, सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ”, उहाँले भन्नुभयो । डेंगीबाट बच्ने उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु रहेको प्रमुख चिकित्सक प्रधानले बताउनुभयो । 

डेंगी सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उहाँको भनाइ छ । डेंगीको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने प्रमुख चिकित्सक प्रधानले बताउनुभयो । 

उक्त लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गरेको पोखरा महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो ।

“डेंगी नियन्त्रणको प्रभावकारी उपाय भनेको घर वरपरि पानी जम्न नदिनु हो, यो लामखुट्टे जमेको सफा पानीमा बस्छ र दिउँसोमा मात्र मानिसलाई टोक्छ”, उहाँले भन्नुभयो । डेंगीको शंका लागेमा तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने जनस्वास्थ्य निरीक्षक पाण्डेले बताउनुभयो । 

डेंगीको संक्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको उहाँको भनाइ छ । स्वास्थ्य शाखाले लामखुट्टेको टोकाइबाट बच्न, घर वरिपरि पानी जम्ने ड्रम, खाली बट्टा, पुराना टायर, भाँडाकुँडा नराख्न र शरीर ढोक्ने गरी लुगा लगाउन सर्वसाधारणमा अनुरोध गरेको छ । महानगरसहित यहाँका स्थानीय तहले डेंगीको संक्रमण रोकथामका लागि लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सुरु गरेका छन् ।
 

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १२ : ४६ बजे