‘नेशनल डे कन्सर्ट’ सम्पन्न

डेंगी र हैजा महामारीका रूपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न भागमा हैजा तथा डेंगीको संक्रमणदेखिन थालेपछि यसलाई महामारीका रुपमा बढ्न नदिन काम थालेको छ । 

मन्त्री प्रदीप पौडेलले डेंगी तथा हैजाका बिरामी बढ्न थालेपछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिनुभएको छ ।

त्यसलगत्तै मन्त्रालयले तत्कालीन र दीर्घकालीन कदम अघि बढाएको हो । मन्त्रालयका अनुसार हैजा नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालित भएर काम गरिरहेको छ । 

टोलीहरूले बिरामीको खोजी र प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिमा लक्षणको निगरानी गरिरहेका छन् । यसले हैजा थप फैलन नदिन र संक्रमणदेखिएको स्थानमा पनि नियन्त्रण गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ ।

पानीका कारण देखिने रोग नियन्त्रणका लागि खानेपानीको गुणस्तर सुधार गर्न सम्बन्धित स्थानका जिम्मेवार सरोकारवालासँग छलफल गरेर तत्काल काम थालिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

आगामी दिनमा थप समस्या आउन नदिन केन्द्रीय, प्रदेश तथा स्थानीय तहमा र खाद्य गुणस्तर निगरानी तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउने योजना बनाएको मन्त्रालयले राष्ट्रिय हैजा नियन्त्रण/रोकथाम योजना २०२४–२०३० बनाई सो सम्बन्धी आवश्यक कार्य गर्ने तयार गरिरहेको छ ।

डेंगी फैलन नदिन लामखुट्टे नियन्त्रणमा जोड

देशका विभिन्न भागमा लामखुट्टेका कारण फैलिएको डेंगीप्रकोप नियन्त्रणका लागि लामखुट्टे नियन्त्रणमा प्राथमिकता दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसका लागि सातै प्रदेशमा डेंगीपरीक्षणका लागि प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले उल्लेख गरेको छ । 

डेंगीनियन्त्रणका लागि विनियोजित रु. १० करोडबाट प्रदेशसँगै स्थानीय तहमा समेत लामखुट्टेको बासस्थान नियन्त्रण अभियानलाई तीव्रता दिइएको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रशिक्षण दिएका एक हजार चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नियन्त्रण एवं निदानमा परिचालन गरेको मन्त्रालयले संघीय अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजमा डेंगीनियन्त्रणका लागि सम्पर्क व्यक्ति तोकेर समस्या देखिएमा तत्काल रोकथामको कदम चाल्ने प्रबन्ध गरेको जनाएको छ ।

हालसम्म, मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक ७३ जिल्लामा तीन हजार तीन सयभन्दा बढी मानिसमा डेंगीसंक्रमणपुष्टि भएको छ । त्यसमा एकजनाको मृत्यु भएको छ । डेंगीनियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई सुदृढ गर्न मन्त्रालयले डेंगीरोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८१ तयार गरी सबै प्रदेश र स्थानीय तहमा पठाइसकेको छ । 

मन्त्रालयले बढी जोखिम देखिएका १३ जिल्लाका  १२६ स्थानीय तहमा डेंगीनियन्त्रणका लागि विशेष प्राथमिकता दिएर अल्पकालीन र दीर्घकालीन योजनासमेत तयार पार्न प्रक्रिया थालेको छ । हाल डेंगीनियन्त्रणमा मन्त्रालयले डेंगीबारे जनचेतना फैलाउन नेपाली भाषासहित १३ अन्य भाषामा रेडियो सन्देश प्रसारण गरिरहेको छ ।

साथै बिरामीका समस्या र जिज्ञासा समाधान गर्न टोल फ्री हटलाइन १११५ सञ्चालन गरिएको छ । मन्त्रालयले डेंगीपरीक्षणका लागि पर्याप्त निःशुल्क किट उपलब्ध गराउँदै जोखिममा रहेका जिल्लामा डेंगीरोकथाम तथा नियन्त्रण कार्ययोजना २०८१ समेत कार्यान्वयनमा ल्याएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १ : २८ बजे