‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

साउनको अन्तिम सोमबार दुई लाखले गरे पशुपतिनाथको दर्शन

काठमाडौँ । साउनको अन्तिम सोमबार आज दुई लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बिहान ४ बजेदेखि राति आठ बजेसम्म दुई लाखभन्दा बढीले दर्शन गरेको जानकारी दिनुभयो । 

सुन्दरीजलबाट बोलबम यात्रा गरी पशुपतिनाथ मन्दिरमा जल चढाउने भक्तजनका  कारण पनि पनि आज मन्दिर परिसरमा निकै घुइँचो लागेको उहाँले बताउनुभयो । दर्शनार्थी तथा बोलबम यात्रामा सहभागीका लागि सहज होस् भनी कोषले आज मन्दिरका चार वटै ढोका विहानैदेखि खुला गरेको थियो । 

साउनमा हिन्दु धर्मावलम्बीले भगवान शिवको पूजा आराधना र महिमा गाउने गर्छन् । यस अवसरमा शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन छ । ठूलो सङ्ख्यामा दर्शनार्थी उपस्थित भएपछि सुरक्षाकर्मी एवं स्वयमसेवककोसंख्या पनि बढाइएको विकास कोषले जनाएको छ । भक्तजनको सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतको व्यवस्थापन गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो ।

आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर लगायतका शिवालयमा भक्तजनका बिहानैदेखि भीड रहेको जनाइएको छ । 

‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव (बीचमन्त्र) भएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार साउनमा सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने चलन छ । बोलबम मधेसी समुदायले बढी मान्ने भए पनि पछिल्लो समय अन्य समुदायका भक्तजनहरु पनि सहभागी हुने गर्दछन् ।

आज विहान दुई दिने नेपाल भ्रमणमा नेपालमा आउनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले पनि पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभयो । कोषका प्रवक्ता अधिकारीले सचिव मिस्री पशुपतिनाथ मन्दिर पुग्नु भइ दर्शन गर्नुभएको जानकारी दिनुभयो । 

उहाँका अनुसार भारतीय विदेश सचिव मिस्रीलाई पशुपति विकास कोषका पदाधिकारीहरुले आज स्वागत गर्नुका साथै भगवान पशुपतिनाथको प्रतीक, रुद्राक्ष, शालग्रामसहित पशुपति क्षेत्रका मूर्त, अमूर्त सम्पदाबारे लिखित पुस्तक उपहार दिनुभएको थियो ।  

वाग्मती नदी किनारामा रहेको पवित्र तीर्थस्थलमध्येको एक भगवान पशुपतिनाथको दर्शन गर्न पाउँदा आफू अत्यन्तै खुसी भएको भारतीय विदेश सचिव मिस्रीले बताउनुभएको थियो । उहाँले भन्नुभयो, “यो पवित्र स्थल सांस्कृतिक एवं आध्यात्मिक हिसाबले नेपाल र भारतबीचको मित्रवत सम्बन्धको कडी पनि हो । 

भारतीय विदेश सचिव मिस्री आज साँझ स्वदेश फर्किसक्नुभएको छ । आइतबार विहान यहाँ आइपुग्नुभएका उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग भेटवार्ता गर्नुभएको थियो । 
 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ८ : ५४ बजे