‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मोतीराजको ‘नक्कले साइँली’ गीतले तताउँदै तीज

काठमाडौं । महान् चाड हरितालिका तीजको छेक पारेर लोकगायक मोतीराज खनालको ‘नक्कले साइँली’ बोलको गीत सार्वजनिक भएको छ ।

संस्कार, संस्कृति र परम्परालाई जर्गेना गर्ने उद्देश्यका साथ प्रस्तुत यो गीत पस्कनुअघि मोतीराजका केही गीतले नेपाली संगीतको बजार तताइसकेका छन् । 

शब्द, संगीत र गायन स्वयं खनालकै रहेको यस तीज गीतमा कल्पना बिष्टको पनि स्वर रहेको छ । गायन क्षेत्रमा चर्चा कमाइसक्नुभएकी गायिका कल्पनाले तीजको गीतमा पहिलोपल्ट आवाज दिनुभएको मोतीराजले बताउनुभयो ।

रमेश सेन्चुरीले संगीत संयोजन गर्नुभएको उक्त गीत इरा स्टुडियोमा रेकर्ड गरिएको थियो । गीतको छायांकन शिव बिक, निर्देशन सुरज खनाल, काेरियोग्राफ देवेन्द्र कुँवरले गर्नुभएको छ भने अभिनयमा अनिल पौडेल, जुना कार्की, भुवन के पोखरेल र सुबी शाहीलाई देख्न सकिन्छ । 

“निर्देशक खनालले पहिलो पटक गीतको म्युजिक भिडियोको निर्देशन गर्नुभएको हो,’ गायक तथा संकलक मोतीराज खनालले भन्नुभयो, “उनले ख्याल ठट्टा सिरियलको लेखन र निर्देशन गर्दै आएका छन् ।” 

मोतीराजका अनुसार मोडल भुवन के पोखरेलले धेरै म्युजिक भिडियो र सिरियलमा अभिनय गरिसक्नुभएको छ । ‘नक्कले साइँली’ सान्स फिल्म युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । 

हाल आधुनिकताका नाममा तीजका गीतहरू परिवारका सबै सदस्य सँगै बसेर हेर्न नमिल्ने खालका समेत बजारमा आएकोप्रति मोतीराजले खिन्नता व्यक्त गर्नुभएको छ ।

“भ्युजकै लागि छाडा र उत्ताउलो खालका गीत बनाउने र समाज भड्काउन खोज्ने अनि लोकगीत र संगीतप्रति समाजको दृष्टिमा नराम्रो प्रभाव पार्न खोज्नेहरूलाई कारबाही गर्नुपर्छ,” मोतीराज भन्नुहुन्छ, “हाम्रो पहिचान लोकगीत, संगीतलाई विकृत हुनबाट बचाउने दायित्व पनि हाम्रै हो ।”

आफ्नो संस्कृति जगेर्ना गर्न सबै नेपाली एकजुट हुनुपर्छ भन्ने मोतीराजले लोकगीत संकलन गर्दा शब्दचयनमा विशेष ध्यान दिनुपर्ने बताउनुहुन्छ ।

“सर्जकले समाजमा जाने सन्देशको पनि ख्याल गर्नुपर्छ,” मोतीराजले थप्नुभयो, “पैसा कमाइन्छ भ्युज धेरै जान्छ भनेर गलत कदम उठाउनु कदाचित राम्रो हैन ।”
 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ५ : ३४ बजे