साफ यू–१७ च्याम्पियनसिप आजदेखि

शेयर बजारमा ऐतिहासिक कारोबार

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज हालसम्मकै उच्च रकमको कारोबार भएको छ ।

यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै रु. २५ अर्ब ७७ करोड माथिको कारोबार भएकोमा शेयर बजारमा आज त्योभन्दा बढी रकमको कारोबार भएको हो । निरन्तर उच्च अंक बढेको नेप्से परिसूचकमा आजको कारोबार रु. २७ अर्ब नाघेको छ ।

नेप्से परिसूचक आज ७० दशमलव ८१ अंकले बढेर २ हजार ९३१ दशमलव ६५ को बिन्दुमा कायम भएको छ । यो २ दशमलव ४७ प्रतिशतको वृद्धि हो । आज ३३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता शेयर २ लाख ८३ हजार ४७ पटक खरिदबिक्री हुँदा रु. २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७६५ बराबरको कारोबार भएको छ । 

कुल बजार पुँजीकरण रु‍. ४६ खर्ब ५३ अर्ब ४३ करोड ४९ लाख ८३ हजार ३०० पुगेको छ । लगानी समूह ० दशमलव १९ र उत्पादन तथा प्रशोधन समूह १ दशमलव १९ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह  ५ दशमलव ८५ र वित्त समूह ४ दशमलव ८१ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा सात वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड, शुभम् पावर लिमिटेड र भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु. १ अर्ब २२ करोड ८० लाख ७२ हजार ४०३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने नबिल ब्यालेन्स फन्ड–२ को रु. २६ लाख ६९ हजार ३५० बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ४ : २१ बजे