साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बंगलादेश : अवामी लिगमाथि प्रतिबन्ध नलगाइने गृहमन्त्रीको भनाइ

ढाका । बंगलादेशको अन्तरिम सरकारका गृहमन्त्रीले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको आवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाउने  सरकारको कुनै मनसाय नरहेको बताउनुभएको छ ।

“आवामी लिग पार्टीले बंगलादेशका लागि धेरै योगदान गरेको छ, हामी यसलाई इन्कार गर्दैनौँ,” सखावत हुसेनले भन्नुभयो, “निर्वाचनमा लिगले चुनाव लड्नुपर्छ ।”

गृहमन्त्रीको यो भनाइ बंगलादेश पूर्व प्रधानमन्त्री शेख हसिना वाजेदका छोरा सजीब वाजेदले आइतबार निर्वाचन बिना यही अवस्था लम्बिएमा देश अराजकतातर्फ जाने चेतावनी दिएको एक दिनपछि आएको हो । 

आवामी लिगका नेता ७६ वर्षीया शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिई गत सोमबार मित्र राष्ट्र भारततर्फ जानुभएको थियो । पूर्वप्रधानमन्त्री हसिनाको सरकारमाथि १५ वर्षे कार्यकालका क्रममा उहाँका हजारौँ राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लंघनको आरोप लगाइएको छ ।

वाजेदले करिब १७ करोड जनसंख्या रहेको बंगलादेशमा राजनीतिक भविष्यका लागि हसिनाको दल आवामी लिग महत्त्वपूर्ण रहेको दाबी गर्नुभएको थियो । 

“हामीसँग दसौँ लाख अनुयायीहरू छन् । उनीहरू कतै जाँदैनन्”, उहाँले एएफपीसँगको अन्तर्वार्तामा भन्नुभयो, “अगामी लिगबिना बंगलादेशमा प्रजातन्त्र स्थापना गर्न सकिँदैन। कमसेकम देशका आधा जनताले यसलाई कहिल्यै स्वीकार गर्ने छैनन् ।”

 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  २ : १३ बजे