बुढापाकालाई गाउँ रित्तिने चिन्ता

प्रचण्डसँग जनार्दनको विद्रोह, साहस कि दुस्साहस ?

काठमाडौँ।  नेपालीमा एउटा उखान छ स्याललाई काल आए सहर पस्छ। यो हाल यो उखान  नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्तामा लागू भएको छ। त्यसैले त्यो पार्टीमा यो उखानलाई परिमार्जित गर्दै  भन्न थालिएको छ– माओवादीमा कसैलाई दशा लागे प्रचण्डको आलोचना गर्न पुग्छन् । 

यो साता जारी माओवादी केन्द्रको स्थायी समितिको बैठकमा तारो बन्नुभएको छ उपमहासचिव जनार्दन शर्मा । उहाँले स्थायी समिति बैठकमा १४ पृष्ठ लामो सुझाव प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न सुझाव दिएका दिएर  नेतृत्वको असक्षमतामाथि सिधै लल्कार्नुभएको छ । 

उहाँले सशस्त्र संघर्षलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्दै पहिलो संविधान सभाको निर्वाचनमा होमिँदा पार्टीले प्रत्यक्षतर्फ १२० स्थान जितेको  र त्यतिबेला माओवादीले ३१ लाख मत प्राप्त गरेको र त्यसयता १४ लाख, ११ लाख हुँदै खुम्चिँदै शून्यतर्फ अभिमुख भइरहेको शर्माको भनाइ थियो । 

अहिले माओवादीको संरचनाभित्र जे–जति क्रियाशील छन्, ती सबै असन्तुष्टि बोकेर बाँचिरहेको शर्माको मत रहेको छ ।  संविनधान सभाको निर्वाचनपछि पहिलोपटक माओवादी प्रतिपक्षमा पुगेको छ । सधै सत्ताको गुलियोमा रमेको माओवादीका लागि यसबेला भने प्रतिपक्ष बेन्चको तितो  चाख्नुपरेको छ । 

शान्ति प्रक्रियायता पटकपटक सरकारको नेतृत्व गरे पनि र सरकारका सहभागी भए पनि उपलब्धिहरू संस्थागत गर्न भने नेतृत्व चुकेको शर्माले आरोप लगाउनुभएको  छ । नेतृत्व चुक्नुका पछाडि शर्माले १० बुँदामा त्यसको व्याख्या गर्नुभएको छ । 

नेतृत्व चुकेकै कारणले बलिदान, पार्टी र नेतृत्वले खेलेको ऐतिहासिक भूमिका र जनताको योगदानबाट प्राप्त उपलब्धिहरू आखिर केका लागि भन्ने प्रश्न उठ्न पुगेको शर्माको निष्कर्ष छ।

‘यसबीचमा माओवादी पार्टी योजनाविहीन र संगठनविहीन बन्न पुग्यो। आज हामीसँग संविधानका अलवा न जनाधार छ, न संगठन छ । केही सीमित उपलब्धिबाहेक न कुनै देखाउनलायक कामहरू छन्, न हाम्रो कुनै मौलिक विकासको मोडल छ । हाम्रा एजेन्डाहरू खोसिँदै जाँदा हामीलाई माया गर्ने वर्ग, जाति, समुदाय, हाम्रा व्यवहार र निर्णयले टाढिएको छ। सहरी जनमानस त हामीप्रति आकर्षित हुन सकेको छैन,’ शर्माको भनाइ छ।

उहाँले  पार्टी विकृत बन्दै गएको अन्तरसंघर्षलाई चित्रण गर्नुभएको छ । अन्तरसंघर्ष सञ्चालन गर्ने सन्दर्भमा एकथरीले अन्धसमर्थन गर्ने र अर्कोले वर्गसंघर्षकै रूपमा बुझ्ने प्रवृत्ति हाबी भएको उहाँले  उल्लेख गर्नुभएको छ । 

उनले नेतृत्व हस्तान्तरणबिना पार्टी पुनर्निर्माणको प्रश्न हल नहुने आशय व्यक्त गर्दै अध्यक्षलाई नेतृत्व हस्तान्तरण, नेतृत्व पुस्तान्तरण र केन्द्रीय कमिटी भंग गरी महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयनमध्ये एक बाटो रोज्न सुझाव दिनुभएको छ ।

शर्माको प्रस्तावले माओवादीभित्र फेरि अर्को तरंग चलेको छ । विशेषगरी उहाँले प्रचण्डप्रति आफ्नो सुझावमा असन्तुष्टि प्रकट गर्नुभएको छ । 
प्रचण्डप्रति असन्तुष्टि राख्नेहरू यसअघि पनि पार्टीबाट बाहिरिनुपरेको तितो अनुभव नेता तथा कार्यकर्ताको रहेको छ । जनयुद्धकालमा उहाँसग विमति राख्ने डा. बाबुराम भट्टाराईलाई तत्काल अवस्थामा ‘जनसेनाले ’ घेराउ गर्दै डम्प गरेका थिए।  

शान्ति प्रक्रियामा आएपछि पनि यस्ता धेरै  नेता तथा कार्यकर्ताहरू माओवादीबाट अलग भएका थिए। मोहन बैद्य, सिपी गजुरेल लगायत नेताहरूले प्रचण्डसँग असहमति राखेकै कारण पार्टी छोड्नुपरेको थियो । 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १ : ५८ बजे