साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बेरोजगारीको विकराल अवस्था, साढे २१ लाख युवा बिदेसिए

काठमाडौं । रोजगारीको विकराल अवस्थाको कारण पछिल्लो तीन वर्षमा २१ लाख ४१ हजार युवा पलायन भएका छन् । रोजगारी नपाएपछि कामको खोजीमा उनीहरू पलायन भएका हुन् । 

विगत तीन वर्षको तथ्यांकले प्रत्येक वर्ष सात लाख बढी युवा पलयान हुने गरेका छन् । विदेश जान श्रम स्वीकृति लिने युवामध्ये ६४ प्रतिशत नयाँ अनुहार रहने गरेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत आवमा रोजगारी खोज्दै ७ लाख ४० हजारभन्दा बढी युवा बिदेसिएका छन् । वैदेशिक रोजगारको ३० वर्षको इतिहासमा यो सबैभन्दा बढी हो । 

सरकारले श्रम स्वीकृति लिएर विदेश जान अनुमति दिएको तथ्यांक राख्न थालेको ३० वर्षमध्ये अघिल्लो आव र गत आवमा सबैभन्दा बढी श्रमिकले वैदेशिक रोजगारीका लागि अनुमति लिएको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागले २०५० सालदेखि श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्यांक राख्न सुरु गरेको हो । 

विभागका निर्देशक लोकनाथ भुसालले नेपालको आन्तरिक रोजगारीको विकल्पको रूपमा रहेको वैदेशिक रोजगारी रहेको कारण श्रम स्वीकृति लिनेको संख्या बढेको बताएका छन् । 

आन्तरिक रोजगारीमा आएको कमी र गन्तव्यमा मुलुकमा कोभिड संक्रमणपछि श्रमिक अभाव भएका कारण गत आवमा श्रम स्वीकृति लिनेको संख्या बढेको हो । कोभिड प्रभावका कारण वैदेशिक रोजगारीमा जान नपाएका युवा पछिल्लो समय वैदेशिक रोजगारीमा जान सुरु गरेका कारण श्रम स्वीकृतिको संख्या बढेको छ ।

कोभिडका कारण विदेश जान नपाएर र त्यसका कारण श्रम गन्तव्यमा रोजगारी गुमाएर फर्केका ८० प्रतिशत युवा पुनः रोजगारीका लागि विदेश गएका कारण दुई वर्षयता श्रम स्वीकृति लिनेको संख्या बढेको तथ्यांकले देखाएको छ । 

कोभिड प्रभाव क्रमशः कम हुँदै गएपछि व्यवसाय विस्तार गर्दा श्रमिकको माग बढेको छ । कोभिडमा आर्थिक अभावका कारण स्वदेशमा बन्द भएका कतिपय उद्योग पुनः सञ्चालनमा आउन नसक्नु नै वैदेशिक रोजगारीमा जाने युवा बढ्नुको अर्को कारण हो ।

पछिल्लो समय भारतमा रोजगारी जाने युवा समेत रोजगारीमा लागि खाडी तथा एक वर्ष अघिसम्म मलेसिया जाने प्रकृति बढेको थियो । विदेश जाने युवाको संख्या बढ्नु भनेको सरकारले आन्तरिक रोजगारी सिर्जना गर्न सञ्चालन गरेका कार्यक्रम असफल हुँदै जानु हो ।

योसँगै विकास निर्माणका काम समेत नियमित हुन नसक्नुको कारणले श्रमयोग्य जनशक्ति पलायन भइरहेका छन् । 

कोरोना संक्रमण दरमा कमी आएपछि वैदेशिक रोजगारी जान समग्र श्रम स्वीकृति लिनेको संख्या २ वर्ष उच्च देखिएको छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोना विरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुनः वैदेशिक रोजगारी नै जाने प्रवृत्ति बढ्दै गइरहेका कारण श्रम स्वीकृतिको संख्यामा वृद्धि भएको हो ।

नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रूपमा रहेको वैदेशिक रोजगार विगत ३ वर्ष घटेर फेरि बढ्न थालेको छ । यस्ले देशमा रोजगारीको विकल्प नरहेको देखाएको छ । 
 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ११ : ०० बजे