साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

‘छिटो चुनाव नगरिए बंगलादेशमा अस्तव्यतता छाउने’

ढाका। बंगलादेश पूर्व प्रधानमन्त्री शेख हसिना वाजेदका छोरा सजीब वाजेदले आइतबार नयाँ दिल्लीलाई ‘आफ्नो आमाको जीवन बचाएकोमा’ धन्यवाद दिँदै बंगलादेशमा अन्तिरिम अधिकारीहरूले ‘भीडको शासन’ गर्न दिएको आरोप लगाउँनुभएको छ । उहाँले  निर्वाचन बिना यही अवस्था लम्बिएमा देश अराजकतातर्फ जाने चेतावनी दिनुभएको हो ।

प्रधानमन्त्री पदबाट राजीनामा दिई ७६ वर्षीया शेख हसिना गत सोमबार मित्र राष्ट्र भारततर्फ जानुभएको थियो । पूर्वप्रधानमन्त्री हसिनाको सरकारमाथि १५ वर्षे कार्यकालका क्रममा उहाँका हजारौं राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ ।

उहाँ भारत आएपछि सेनाले उहाँको राजिनामाको घोषणा गरेको थियो र त्यसपछि विद्यार्थीको मागमा नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुसलाई अन्तरिम प्रशासनको नेतृत्व सुम्पिएको छ । 

अमेरिकामा बस्दै आएका हसिनाका छोरा तथा पूर्व सरकारका सल्लाहकार ५३ वर्षीय सजीब वाजेद जोयले अन्तरिम सरकारको आलोचना गर्दै यसलाई ‘पूर्णतया शक्तिहीन’ सरकारको संज्ञा दिनुभएको छ । 

उहाँले एएफपीलाई वासिङ्टनबाट दिएको अन्तर्वातामा भन्नुभएको छ, “अहिले बंगलादेशमा भीडको शासन छ । प्रदर्शनकारीको मागमा प्रधान न्यायाधीश, केन्द्रीय बैंकका गभर्नर र प्रहरी प्रमुखलगायत उच्च अधिकारीलाई पदबाट हटाइएको छ ।”

उहाँले भन्नुभयो, “यदि भोलि भीडले ‘हामी अन्तरिम सरकारमा रहेका व्यक्तिलाई परिवर्तन गर्न चाहन्छौं’ भन्यो भने उनीहरूलाई परिवर्तन गर्नुपर्छ ।”

युनुसले ‘केही महिनाभित्रै चुनाव होस् भन्ने चाहेको’ बताउँदै आउनुभएको छ तर वाजेदले चुनावमा ढिलाई भए अराजकता बढ्ने चेतावनी दिनुभएको छ । 

उहाँले भन्नुभयो, “ जनताको वैधानिकता र साँचो अधिकार भएको वैध सरकारमा फर्कन निर्वाचन गराउनु उनीहरूको हितमा छ । अन्यथा, यो केवल अराजकतामा परिणत हुनेछ ।”

हसिनाले जनवरीमा भएको चुनावमा विजय हासिल गर्नुभएको थियो तर विपक्षी नेताहरूलाई जेलमा थुनेर हुने चुनाव स्वतन्त्र वा निष्पक्ष हुन नसक्ने भन्दै वास्तविक प्रतिद्वन्द्वीहरूले निर्वाचन बहिष्कार गरेका थिए । 

हसिना भागेपछि लाखौँको संख्यामा रहेका उहाँको अवामी लिगका सदस्यहरू लुकेर बसेका छन् । उनीहरूमाथि प्रतिशोधपूर्ण आक्रमण भएको छ र पार्टी कार्यालयमा आगजनी गरिएको छ ।

तर वाजेदले करिब १७ करोड जनसंख्या रहेको दक्षिण एसियाली राष्ट्रको राजनीतिक भविष्यका लागि हसिनाको दल आवामी लिग महत्वपूर्ण रहेको दावी गर्नुभयो । 

“हामीसँग दशौं लाख अनुयायीहरू छन् । उनीहरू कतै जाँदैनन्”, उहाँले भन्नुभयो, “अवामी लिगबिना बंगलादेशमा प्रजातन्त्र स्थापना गर्न सकिँदैन। कमसेकम देशका आधा जनताले यसलाई कहिल्यै स्वीकार गर्ने छैनन् ।”

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) जस्ता पूर्व विपक्षी समूहहरूले वर्षौंको दमनबाट ट्टेको संगठनको पुनर्निर्माण गरिरहेका छन् । बीएनपीले सोमबारदेखि ढाकामा शान्तिपूर्ण जन -याली आयोजना गरिरहेको छ ।

वाजेदले बिएनपी र आवामी लिग मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । 

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : ४१ बजे