‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अमेरिकाको बोस्टनलाई नचायो फ्लाई नेपालले

काठमाडौं । गायिक रचना रिमाल र शान्ति श्री परियारले अमेरिकाको बोस्टनका दर्शकलाई आफ्नो धुनमा नचाएका छन् ।

‘अब नाच्छ अमेरिका’ शीर्षकमा फ्लाई नेपाले आयोजना गरेको कार्यक्रममा मोडलहरू करिष्मा ढकाल र गायिक ज्योति मगरले पनि दर्शकलाई धित मर्ने गरी नचाएको आयोजकले जनाएको छ ।

‘अब हाँस्छ अमेरिका’ को सफलतापछि आयोजक फ्लाई नेपालले अमेरिकाका नेपालीलाई नचाउने लक्ष्यसहित ‘अब नाच्छ अमेरिका’ कार्यक्रमको आयोजना गरेको हो । शनिबार अमेरिकाको बोस्टनमा तीज लक्षित कार्यक्रमको सुरुवात नेपालको राष्ट्रिय गानसँगै गरिएको थियो ।

यसपछि मञ्चमा देखा परेका करिष्मा, रचना, शािन्त श्री र ज्योति मगरले बोस्टनका ५०० सयभन्दा बढी दर्शकलाई तीन घण्टा भरपुर मनोरञ्जन दिएका थिए । प्रस्तुतिको सुरुवात करिष्माले ‘हिजो राति सपनीमा’ बोलको नृत्यबाट गरेकी थिइन् । 

करिष्माले तताएको माहोललाई थप जोसिलो बनाउँदै गायिका रचना रिमालले परदेशीलाई भावुक बनाउने ‘नमुछे आमा दहीमा टीका’ बाट गाउन सुरु गरे पनि अन्त्यतिर ‘सम्झिने पानी छम्किने’ ‘मिनरल वाटर’ आदि गाएर दर्शकलाई नचाएकी थिइन् । 

रचना रिमालपछि शान्ति श्री परियारले ‘गलबन्दी च्यातियो’ ‘अरेली काँडैले’ ‘लाहुर जाने रेलैमा’ लगायत गीत प्रस्तुत गरेकी थिइन् । उनले ‘बोल माया’ र ‘लौ न दाजै’ गीत गाएर दर्शकलाई सुरुमै भावुक बनाएकी थिइन् ।

कार्यक्रम अन्त्यमा ज्योति मगरले पनि आफ्नो पहिचान अनुरूप ‘ढाडे बिरालो’ र ‘उही मुलाको सिन्की’ पस्किँदै दर्शकलाई गीत र नृत्यको धुनमा डुबाएकी थिइन् । 

परदेशमा घरदेश जोड्ने अभिप्रायले कार्यक्रम गरेको बताउँदै आयोजक विनोद अधिकारीले कार्यक्रम सफल रहेको प्रतिक्रिया दिए । 

आयोजकले यो टोलीले न्युयोर्क, वासिंटन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो, क्यालिफोर्निया लगायत २१ सहरमा कार्यक्रमको टुंगो लागिसकेको जानकारी दिए ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ३ : २९ बजे