‘नेशनल डे कन्सर्ट’ सम्पन्न

छोरीको कथामा ‘सतीदेवी’

काठमाडौँ । छोरीको संघर्ष र महत्त्वलाई समेटेर नेपाली चलचित्र ‘सतीदेवी’ निर्माण गरिएको अभिनेत्री मलिका महतले बताउनुभएको छ । अभिनेत्री महतले महिला सशक्तीकरण, छोरीलाई समान अधिकारजस्ता विषयलाई प्रस्तुत गरिए पनि यो पूर्ण मनोरञ्जक रहेको बताउनुभयो ।
 
“चलचित्रमा सतीदेवी पात्रमार्फत छोरीको भोगाइ र परिवारसँगको अपेक्षा देखाइएको छ । म सहरिया परिवेशमा हुर्किए पनि उक्त पात्र र जीवनलाई सहजै महसुश गरेँ । चलचित्र कथा पढ्दा नै म पात्रसँग जोडिएकी थिएँ”, अभिनेत्री महतले भन्नुभयो । 

पत्रकार हुँदै चलचित्र निर्देशक बन्नुभएका लक्ष्मण सुवेदीले अभिनेत्री महतलाई मोबाइलमार्फत सन्देश (म्यासेज) पठाउँदै काम गर्न प्रस्ताव गर्नुभएको थियो । नयाँ नम्बरबाट आएको प्रस्तावमा अभिनेत्री महतले चलचित्रको कथा पढेर मात्र निर्णय दिने भन्नुभएको स्मरण गर्नुभयो । 

“मैले उहाँ (निर्देशक सुवेदी) लाई नजिकबाट चिनेकी थिइन्, त्यसैले पहिला कथा पढेपछि भेटौँ भने । मेरो शैली नै यस्तै छ, कथा पढेपछि म अभिनय गर्न तयार भएकी हुँ । म काठमाडौँमै हुर्किए पनि यो कथा छोरी र बुबालाई सजिलै जोड्ने किसिमको छ । यो हरेक ठाउँको कथा हो”, अभिनेत्री महतले भन्नुभयो ।
 
निर्देशक सुवेदीले सामाजिक सञ्जालमा केही भिडिओ हेरेपछि अभिनेत्री महतलाई चलचित्रमा शीर्ष भूमिकामा लिने निर्णय गर्नुभएको थियो । उहाँले भन्नुभयो, “मैले अभिनेत्री महतलाई विभिन्न भिडिओमा देखेँ, आफूले खोजिरहेको उमेर समूहसँगै पात्रलाई न्याय गर्न सक्ने ठम्याएँ । त्यसपछि मैले गरेको प्रस्तावमा उहाँ सकारात्मक भएपछि सहकार्य भयो ।”

उहाँले केही वर्ष अगाडि सन्तानको रूपमा छोरी हुँदा एउटा परिवारले समाजमार्फत प्राप्त गर्ने प्रतिक्रिया र त्यसपछि परिवारमा आएको उतारचढावलाई देख्नुभएको रहेछ । त्यहीँ देखाइलाई उहाँले चलचित्रको कथामा रुपान्तरण गर्नुभयो । 

“मेरो पनि छोरीमात्र छन् । तर समाजमा अझै पनि केहीको धारणा छोरा हुनुपर्छ भन्ने छ । यो चलचित्रले छोरीको सक्षमतासँगै समानताको विषयलाई उठाएको छ । सतीदेवी नामक पात्रमार्फत ती छोरीले गरेको सङ्घर्षले अन्यलाई प्रेरणा दिन्छ भन्नेमा विश्वस्त छु, यो छोरीहरूको कथा हो”, निर्देशक सुवेदीले भन्नुभयो । 

चलचित्रमा अभिनेत्री महतसँगै सृजना अधिकारी, सुजिता शिवाकोटी, हर्षिका वली, मञ्जिला बानियाँ, समृद्धि सेन्चुरी, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, मनिषा सापकोटालगायतले अभिनय गर्नुभएको छ । चलचित्र भदौ ७ गतेदेखि प्रदर्शन हुँदै छ ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ९ : ५८ बजे