राजनीतिमा एउटा शब्द अहिले बहुतै चर्चामा छ– डेमागग । जसको ठोस नेपाली अनुवाद र अर्थ छैन । यो प्राचीन रोमन शब्द भए पनि अमेरिकामा डोनल्ड ट्रम्पको उदयपछि युरोपभरि सलह झैँ फैलिएको शब्द हो डेमागग । ग्रीसको राजधानी एथेन्समा प्रजातान्त्रिक व्यवस्थाको स्थापना भएको मानिन्छ । युरोपेलीहरूले गणतन्त्रलाई नै प्रजातन्त्र, लोकतन्त्रलाई नै प्रजातन्त्र या राजतन्त्रलाई नै प्रजातन्त्र भनिन्छ भनेर भाष्य स्थापित गर्न खोजेका हुन् । त्यो अपुष्ट छ तर हामीले यही भाषा निर्यात गरेका छौं ।
किरात, लिच्छवि, मल्ल, बाइसे–चौबिसे राज्य, राणा शासन वा शाहवंशीय शासन व्यवस्था हेर्दै गर्दा नेपालमा प्रजातन्त्र थियो कि थिएन भन्ने पुष्टि हुन्छ ।
तन्त्रको अर्थ हुन्छ –
१. कुनै शासन व्यवस्था वा पद्धति ।
(उदा. राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र)
२. झारफुक गर्ने मन्त्र; झारफुक विद्या ।
३. धागो, डोरो, सूत्र ।
४. शक्ति वा शैव मतका अनुसार देवदेवीहरूको उपासना गर्ने रहस्यमूलक शास्त्र ।
जे होस्, २ हजार ५०० वर्ष पहिले नै जनतालाई मन पर्ने भाषण गरेर, उक्साएर, लोभ्याएर, झुक्याएर, भड्काएर वा जनताको मनस्थिति हेरी समयानुकूल उत्तेजक भाषण गरेर जनताको संवेदनामाथि खेलवाड गरिन्थ्यो । राजनीतिमा सस्तो लोकप्रियता त्यहीँबाट सुरु भयो । नेताहरूमा लोकप्रियताका लागि नहुने अथवा उनीहरू लोकप्रिय हुनै नसक्ने र परिवर्तनको कुरा चुनावताका या सभा सम्मेलनमा मात्र गर्न थालेपछि डेमागग शब्द प्रचलित भयो ।
नेपालमा २००७ सालदेखि २०१७ सालसम्म र २०४६ देखि हालसम्म नेपाली राजनीतिमा डेमागगहरूको उदय भएको हो । शक्तिकेन्द्रहरूले बेलाबेलामा यस्ता डेमागगहरू नेपाली राजनीतिमा प्रयोग गर्ने गरेका छन् ।
२०४६ सालमा कांग्रेस र कम्युनिष्टलाई आफ्नो डेमागग बनाउन सफल पात्रहरूले अहिले पनि राजनीतिक रगमञ्चमा हालिमुहाली गरिरहेका छन् ।
२०५२ सालदेखि माओवादी नामक आतंक समूह खडा पारेर शक्तिकेन्द्रको इसारामा चल्ने डेमागग बनाई जनताको भावनासँग खेलवाड गरी मुलुकमा ताण्डव मच्चाए । नेपालको भूगोल, जात, भाषा, धर्म, लिंगका समुदाय विभाजन गरी भूगोल अनुसारका डेमागगहरू उत्पादन गर्दै गए । मंगोल, किरात, ताम्सालिङ, नेवा, आङकाजी, उपेन्द्र महतो, सिके राउत, चौधरी, यादव आदि ।
ठूला डेमागगहरू ठूलै दलहरूमा सत्ताकै पेरिफेरीमा मोजमस्तीमै आसीन छन् । परिवर्तनको कुनै पनि न्यूनतम आवश्यकता पूरा गर्न नसक्ने भएपछि म्याद सक्किएका पुराना डेमागग पात्रहरू नयाँ डेमागगको खोजीमा लागे । अर्थात् उनीहरूले सस्तो लोकप्रियतामा उदाएका रवि लामिछाने, दुर्गा प्रसाईं, स्वर्णिम वाग्ले अनि युट््युबे नेता आदि डेमागगहरू उत्पादन गरेका छन् । यिनीहरू जनताको भावनासँग खेल्न अत्यन्त सिपालु छन् वा पुराना डेमागगहरूलाई मात दिन सक्ने खालका छन् ।
जब जनताले माओवादी र तिनीहरूको सुप्रिमोहरूको चरित्र थाहा पाए उनीहरूलाई पत्याउन छोडे । त्यसैको परिणामस्वरूप कम्युनिस्ट एकता, कम्युनिस्ट विभाजन, एमाले–माओवादी गठबन्धन, कांग्रेस–माओवादी गठबन्धन, एमाले–माओवादी–रास्वपा गठबन्धन अनि कांग्रेस–एमाले लगायतको गठबन्धन । कांग्रेस र एमालेले साथ नदिए यो मुलुकमा माओवादी टर्च बालेर खोज्नुपर्ने अवस्था आउने छ भन्ने कुरामा प्रचण्ड दृढ छन् । उनी आफ्नो अस्तित्व जोगाउन हदैसम्म लाचार बन्न पनि पछि पर्दैनन् भन्ने प्रशस्त उदाहरण दिइसकेका छन् । डेमागगहरू न त कहिल्यै राष्ट्रको हितमा हुन्छन् न त जनताको हितमा कहिल्यै उभिन्छन् ।
उनीहरू कुनै विवादास्पद मुद्दा आउना साथ मौन रहन्छन् । कारण : शक्तिकेन्द्रको इसारामा मालिकको प्रतिनिधिका रूपमा यहाँ शासन गर्ने गर्छन् । अहिलेको चुनावको दृश्य र नतिजा हेर्दा आगामी दिन रवि लामिछानेहरू जस्ता डेमागगहरूको सुनौलो दिन हुन सक्ने अवस्था छ । उनीहरू भने राष्ट्र निर्माणमा आफ्नो एजेन्डा जनतासामु लानुभन्दा विरोध या समर्थनपश्चात् आम जनताको प्रतिक्रिया हेर्न रुचाउँछन् ।
डेमागगहरूले आफूलाई मुक्तिदाता वा जीवनदाताका रूपमा प्रस्तुत गर्ने गर्छन् । रवि लामिछाने र स्वर्णिमको दलको उदयभन्दा पहिले माओवादी र त्यसको सुप्रिमो पुष्पकमल दाहालले आफूलाई यो देश र जनताको उद्धारर्कताका रूपमा प्रस्तुत गरेका थिए । उनी विदेशी शक्तिकेन्द्रहरूबाट प्रायोजित सशस्त्र युद्ध नामक त्रासदीपूर्ण आतंकलाई जनताको युद्धको रूपमा परिभाषित गर्न सफल भएका थिए । अब भने जनताले माओवादी र तिनीहरूको सुप्रिमोहरूको चरित्र थाहा पाए, उनीहरूलाई पत्याउन छोडे ।
पुराना डेमागगहरूको औचित्य समाप्तप्रायः भइसकेपछि रवि लामेछाने, स्वर्णिम वाग्ले जस्ता नयाँ डेमागगहरूलाई नेपालमा जन्माइएको हो । डेमागगहरू उत्तेजक नारा, मिठा शब्द, समसामयिक विषय, जनताको गुनासो आदिलाई अतिरञ्जित तरिकाले व्याख्या गर्दै जनताको आक्रोशको आगामा घिउ थप्दै आफूतिर आकर्षित गर्न सफल हुन्छन् । उनीहरूले राष्ट्रको मौलिकता स्थापित गराउन कदापि चाहँदैनन् ।
यही संविधान, यही व्यवस्थाभित्र रहेर आफूहरूले जनताको सबै समस्याको समाधान तुरुन्तै गरिदिने झूटो वाचा गर्छन् । यो शासन पद्धतिबाट आजित जनता उनीहरूको छद्मभेषी शब्दजालमा फसेर आफू र मुलुकलाई झन अन्धकारतिर लैजाने गर्छन् । उनीहरूको लक्षित समूह भनेको गरिब, बेरोजगार, उपेक्षित वर्ग, अशिक्षित, अर्धशिक्षित, कुनै न कुनै रूपमा अन्यायमा परेका र ठूला दलहरूमा आफ्नो भविष्य नदेखेका नवनेताहरू हुन्छन् ।
पाकिस्तानमा क्रिकेटर इमरन खान, युक्रेनमा जेलेन्स्की जस्तो लोकप्रिय कमेडियनलाई पश्चिमा मुलुकले आफ्नो डेमागग बनाए झैँ अहिले रवि लामिछानेलाई नेपालमा डेमागग बनाएको यथार्थ जनताले बुझ्दा सम्म अबेला हुनेछ । डेमागगहरू अति शिष्ट र सरल भाषामा जनतासामु बोल्छन् । सत्ता प्राप्तिका निम्ति डेमागगहरू भकारो सोहोर्छन्, भारी बोक्छन्, कोदालो खन्छन्, गोरु जोत्छन्, भाँडा माझ्छन्, खाली भुइँमा बसेरै खान्छन्, सार्वजनिक सवारी साधनको प्रयोग आदि गर्छन् । जनताको पाउ मोल्नसम्म पनि पछि पर्दैनन् ।
यी सबै काम गरेको छु भनेर सामाजिक सञ्जाल तताउन पनि उनीहरू खप्पिस हुन्छन्, जो हामीले देखेका छौँ । आम मानिसको भाषा प्रयोग गरेर उनीहरू जनताको भीड आफूतिर तान्न सफल हुन्छन् । जनताले जे चाहेका छन् त्यही बोल्छन् । सत्तामा गएपछि उनीहरूको रूप फेरिन्छ, तानाशाह बन्छन् ।
एउटा साने उदाहरण लिऊँ– रवि लामिछानेले पहिलोपटक चुनाव जितेर सिधै उपप्रधानमन्त्री र गृहमन्त्री हुँदा गरेको पहिलो निर्णय निर्मला पन्त बलात्कार पछिको हत्या काण्डको सुनुवाइ भयो ? भएन । नक्कली नागरिकता र दोहोरो पासपोर्टको मुद्दामा सांसद र मन्त्री पद गएपछि दोस्रो चुनावमा जितेर आएको केही समयपश्चात् अहिले फेरि पुरानै पदमा आसिन भए तर उनले आफ्नो कार्यकालको समयमा जनअपेक्षित काम गर्न सकेनन् ।
उनले आफ्नो कार्यकालमा किन बलात्कार पछि गरिएको हत्याको फाइलसम्म खोल्ने हिम्मत गरेनन् ? त्यस्तै भ्रष्टाचारका चाङका चाङ मुद्दा किन खोल्न सकेनन् ? किनकि जनताको आँखामा छारो हाल्न खप्पिस हुन्छन् उनीहरू । अझै पनि सक्छन् भने दोषी पत्ता लगाउन चुनौती दिन्छु ? जनताले हेक्का राख्नुपर्छ जालन्धरको जालभन्दा खतरा जाली हुन्छन् डेमागग । रवि लामिछानेले चुनाव प्रचारप्रसारको दौरानमा आफ्ना विरोधीसँग झगडा गरेर बोलेका धम्कीपूर्ण शब्दहरू एउटा तानाशाहका भन्दा कम थिएनन् र अहिलेसम्म सुधार गर्न सकेका छैनन् ।
उनका सहयोगीहरूले गरेका गालीगलौजलाई आफू जितेपछि माफी माग्ने नौटंकी गरेर आफ्ना विरोधीको पनि भविष्यमा साथ पाउने वातावरण बनाउने चेष्टा पनि गरे । डेमागगहरू नाटक गर्न सिपालु हुन्छन् । अमेरिकी नागरिक भएका स्वर्णिम वाग्लेकी पत्नी भियतनामी हुन् भने सन्तान अझै पनि अमेरिकी नागरिक छन् । के एउटा विदेशी नागरिक र उनको परिवार नेपालप्रति बफादार हुन सक्छ ? जनताले भने उनलाई पत्याए । यही हो डेमागगहरूको कलाकौशलता । पुराना डेमागगहरूबाट आजित भएकाले जनताले नयाँ डेमागगलाई रोजे । ‘जस्तालाई त्यस्तै ढिँडोलाई निस्तै’ भन्ने उखान सिद्ध भयो ।
डेमागगहरू देश र जनताका लागि अत्यन्त खतरनाक हुन्छन् । हामीहरूले हाम्रा डेमागगहरूको शासन भोगिसकेकाले त्यसबाट शिक्षा लिनुपर्ने हो तर हामी चुक्दै गयौँ । डेमागगहरू आफूहरूलाई जनताको मान्छे भनेर देखाउन चाहन्छन् । डेमागगहरू क्रियामा जाने र हिंसा मन पराउने खालका हुन्छन् । २०४७ सालपछि नेपाली कांग्रेसको सुरुवाती चरित्र हेरे पुग्छ, एमाले र उसको सुप्रिमो ओलीलाई हेरे पुग्छ र माओवादीको दस वर्षको क्रूरतापूर्ण आतंकलाई हेरे पुग्छ । डेमागगहरूले प्रत्यक्ष रूपमा गरिब र निम्नमध्यम वर्गका जनता र सचेतनाहीन छरिएका जनताको भावनासँग झुठो आश्वासन दिएर खेल्न सिपालु हुन्छन् ।
त्यसैले यस्ता जनता उनीहरूबाट तत्काल प्रभावित हुने गर्छन् । उनीहरूले आफूहरूलाई सम्भ्रान्त वर्गको विपरीत आमजनताका छोरा भनेर देखाउने गर्छन् । उनीहरूले आफूहरू छुट्टै किसिमको मानिस हो भनेर देखाउन बेलाबेलामा कानुन भंग पनि गर्छन्, कानुनको धज्जी पनि उडाउने गर्छन् । उनीहरूले आफूलाई चामत्कारिक, शालीन र छुट्टै व्यक्तित्व भएको मानिसका रूपमा देखाउने गर्छन् ।
आधुनिक प्रसिद्ध डेमागगहरूमा हिटलर, मुसोलोनी, इमरन खान, जेलेन्स्की आदि हुन् । शीतयुद्धकालका अमेरिकाका तत्कालीन सिनेटर म्याकक्यार्थीले जनतामा सोभियत संघ, चीन र कोरियन कम्युनिष्टहरूको डर पैदा गराएर उनीहरूको व्यापक समर्थन लिने गरेका थिए । उनी निरीह तथा निर्दोषहरूलाई समेत कम्युनिष्ट र कम्युनिष्टको सुराकी भनेर आफ्नो दुनो सोझे पार्ने गर्थे । शीतयुद्धको समय थियो, जनता पत्याउँथे तर उनले सिनेट समितिमा आरोपित गरेका कम्युनिष्ट सुराकी वा गुप्तचरको बारेमा कुनै प्रमाण दिन सकेनन् । मध्यावधि चुनावमा उनको दल रिपब्लिकन पार्टीको पराजय भयो र यसको छानबिनका लागि बनाइएको समितिमा उनलाई अध्यक्ष बनाइयो । जहाँ उनको क्रियाकलापको घोर भत्र्सना गरियो । उनी आफ्ना सहकर्मीबाट अपमानित तथा उपेक्षित भएपछि आफ्नो दोस्रो कार्यकाल पूरा नगर्दै उनको मृत्यु भयो । डेमागगहरू कदापि सफल हुँदैनन् । एक न एकदिन उनीहरूको वास्तविकता जनताले बुझ्नेछन् । हिटलर आत्महत्या गर्न बाध्य भए, मुसोलोनी जनताबाट मारिए । डेमागगहरूको अन्त्य दुःखद् हुने गरेको छ ।
रवि लामिछाने, सिके राउत, उपेन्द्र यादव, महन्थ ठाकुर, रेशम चौधरी लगायत केही नयाँ र पुराना साना दलहरू यही व्यवस्थाका हिमायती हुन् । धर्मनिरपेक्षता र गणतन्त्र उनीहरूलाई औधी मनपर्छ । बहकाउमा खप्पिस हुने यिनीहरू जातीय, लैंगिक, भाषिक, भौगोलिक, चरम गरिबीमाथि संवेदनाको राजनीति गर्छन् । चुनावको बेला मठ–मन्दिर, गुम्बा, मस्जिद, चर्च धाउँछन्, धर्म र सम्प्रदाय अनुसारको लवजमा उत्रिन्छन् ।
एउटा इतिहासकै कुरा गरौं–
महाभारतको धर्मयुद्धमा पनि निरपेक्षवादीको पराजय भएको थियो । युद्धमा दुर्याेधनले श्रीकृष्णको नारायणी सेना मागे र पाण्डवले एक्लो श्रीकृष्णलाई । त्यसपछि बलरामलाई सोधे उनी कतातिर लाग्ने । बलरामले आफू निरपेक्ष बस्ने भने । उनले भने पाण्डव मेरो नातेदार हुन् र दुर्योधन मेरो शिष्य । त्यसैले म दुवैतिर लड्न सक्दिनँ । दुवैतिर मेरा आफन्त छन्, म तटस्थ बस्छु ।
हो, निरपेक्षता भनेको यही हो र महाभारतको धर्मयुद्धमा निरपेक्षताको परिणाम के भयो सबैलाई थाहा छ । बलरामले दुर्योधनलाई बचाउन चाहेका थिए । त्यसैले आफ्नो नियम लगाए । बलरामले आफ्नो नियम थोपरेपछि श्रीकृष्णले उनलाई युद्धस्थलमा प्रवेश निषेध गरिदिए । कृष्णले उनलाई भने, “जब धर्म तथा अधर्मको युद्ध चलिरहेको थियो तपाईं कहाँ हुनुहुन्थ्यो ? जब धर्म अधर्मको युद्ध हुनेवाला थियो तपाईं कतातिर हुनुहुन्थ्यो ? जब धर्म स्वयं आफ्नो रक्षाका लागि बोलाइरहेको थियो तपाईं तटस्थ रहने निर्णय गर्नुभयो । जब आज युद्धको परिणाम आइरहेको छ तब तपाईं युद्धमा कुन आधारमा हस्तक्षेप गरिरहनु भएको छ । जब सम्पूर्ण युद्धमा तपाईं युद्धभूमिमा हुनुहुन्नथ्यो, कतै यात्रामा निस्कनुभएको थियो र आज युद्धको अन्तिम समयमा तपाईं युद्धमा आफ्नो नियम चलाइरहनु भएको छ ?
बलराम त्यहाँबाट चुपचाप हिँडे, फर्केर हेरेनन् । धर्मको विजय भयो । यस युद्धमा केवल अधर्मले मात्र हारेको थिएन धर्म निरपेक्षता पनि हारेको थियो । जब–जब चुनाव आउँछ, तब तब यो व्यवस्थालाई मन नपराउने असंख्य जनताले धर्मको पक्षमा मत नदिएर अधर्मलाई विजय गराउँछन् र बाँकी समय धर्मनिरपेक्षता र यो व्यवस्थाको विरोधमा आफ्ना दिनहरू खर्चिन्छन् । धर्मको विजय ढिलो चाँडो अवश्यम्भी छ । जब ढिलो चाँडो धर्मको विजय भएर नेपाल सनातन धर्म सापेक्ष अधिराज्य बन्नेछ तब धर्म निरपेक्षतावादीहरूलाई भोट दिनेहरूले कुन मुखले यो जित हाम्रो पनि हो भनेर भन्न सक्लान् ?
धर्म युद्ध केवल चुनाव मात्र होइन । धर्म मात्र शास्त्र पनि होइन शस्त्र पनि हो । हामीले इन्डियाको उत्तर प्रदेशलाई हेरौँ– जहाँ एउटा योगीले एक हातमा शास्त्र र अर्को हातमा शस्त्र लिएर धर्मविरोधी तत्त्व र माफिया, डनहरूको राजनीतिलाई कसरी समाप्त पार्दै छन् । सनातन धर्मावलम्बीहरूले एक हातमा शास्त्र र अर्को हातमा शस्त्र लिएर सनातन धर्म सापेक्ष अधिराज्य पुनःस्थापना गर्न लाग्नुपर्छ । सधैं डेमागगहरूको भुलभुलैयामा लाग्नु हुँदैन । धर्म रोज्ने कि अधर्म, श्रीकृष्ण रोज्ने कि नारायणी सेना, बलराम बन्ने कि युयुत्सु वा शकुनी बन्ने, जो भौतिक रूपमा कौरवतिर भएर पनि मानसिक रूपमा पाण्डवतिर भएर कौरवलाई पराजित गराएका थिए ?
यति लेख्दै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिंकनले भनेको सान्दर्भिक भनाइलाई सम्झिएँ, “तपाईंले सबै मानिसहरूलाई केही समय र केही मानिसहरूलाई सधैं मूर्ख बनाउन सक्नुहुन्छ तर तपाईंले सबै मानिसहरूलाई सधैं मूर्ख बनाउन सक्नुहुन्न ।”
प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार १ : ४३ बजे
प्रतिक्रिया