साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सुख्खा गेडागुडीमा अवस्थित जीवनको गुप्त रहस्य

राम्ररी सुकाएर भण्डारण गेडागुडीहरू एक वर्ष जति बिग्रँदैनन् । गेडागुडीहरू भण्डारण गर्दाको अवस्थामा जस्तै सुकेर कडा भएका र चाउरिएका छन् भने तिनको गुण यथावत् भएको बुझ्नुपर्छ । 

गेडागुडीलाई रातभर भिजाई बिहान पानी फालेर चिसो कपडाले ढाकेर अँध्यारोमा राखिदिएमा २४ घण्टामै त्यसमा गज्जबको जीवन सुरु भइहाल्छ । गेडागुडी सबै टुसाएका हुन्छन् । 

यसरी आफ्नै मेहनतले टुसाएका गेडागुडी दैनिक रूपमा खाने हो भने तिनमा निकै स्वास्थ्य अनुकूल गुणहरू हुन्छन् । तिनको उपयोगबाट क्यान्सर लगायत अन्य कतिपय असाध्य रोगहरूलाई समेत रोक्न सकिन्छ भन्ने कुरा आधुनिक विज्ञानले समेत प्रमाणित गरिसकेको छ । 

वर्ष दिनसम्म निरन्तर सुख्खा रहेका र अझै केही समयसम्म त्यसरी नै निर्जीव जस्तै स्वरूपमा सुख्खा रहन सक्ने गेडागुडीहरूमा केवल एक दिनमै त्यसरी भरभराउँदो जीवन सुरु हुन्छ । यसमा अलिकति चासो दिने हो भने निष्क्रिय जीवन र सक्रिय जीवनको गुह्य रहस्य जान्न मद्दत मिल्न सक्छ । साधनारत स्वरूपमा रहेर ध्यान दृष्टिले गेडागुडीमा आएको परिवर्तनलाई साक्षी भावले हेर्न सकिन्छ ।

जसरी ती निर्जीव स्वरूपमा अवस्थित सुख्खा र चाउरिएर भण्डारमा थन्किएका गेडागुडीहरूलाई आफैँभित्रको उत्कृष्ट, गुणयुक्त र हराभरा जीवनबारे न त जानकारी नै हुन्छ, न त ती आफैँले चाहेर त्यो गुणयुक्त हराभरा जीवनको सुरुआत नै गर्न सक्छन् । त्यसरी नै मानिसभित्र विद्यमान विराट ऊर्जा र गुणबारे पनि ऊ धेरै हदसम्म अनभिज्ञ नै हुन्छ । 

ती सुख्खा गेडागुडी र मानिसबीच भने तात्त्विक भिन्नता हुन्छ । मानिसले आफूभित्र सुषुप्त अवस्थामा रहेका ऊर्जा र गुणहरूलाई आफ्नै परिश्रमले सिँचन गरेर हराभरा र अझै गुणयुक्त बनाउन सक्छ । त्यसका लागि मानिसलाई चाहिने निकै महत्त्वपूर्ण साधना भनेको एकजना ज्ञानी, ध्यानी र सद्गुणी गुरुको सत्सग र मार्गनिर्देशलाई पच्छ्याउनु हो । खोजेजस्तो गुरु भेट्टाउन सकिएन भने पनि त्यसको क्षतिपूर्ति हाम्रा मातापिताबाट हुन सक्छ । त्यसैले मातापिताहरू नै गुरुका अर्का स्वरूप हुन् । 

गीतामा भनिएको छ–

आगो धूवाँले, ऐना धुलोले र गर्भ सालनालले ढाकिएको हुन्छ, त्यसरी नै जीवात्मा पनि विभिन्न तहका कामवासनाले ढाकिएको हुन्छ । त्यस्तै मानिसभित्र निहित गुणहरूलाई पनि जे जे विषहरूले ढाकेर राखेका हुन्छन्, ती सबै विषाक्त कुराहरूबाट स्वयं बाहिर ननिस्केसम्म आफैँभित्रका अमृतजन्य गुणहरूको प्रस्फुटन सम्भव नै हुँदैन । 

त्यसैले मान्छे पनि बाहिरबाट हेर्दा अर्थात् भौतिक रूपमा निकै समृद्धजस्तो देखिए पनि ऊभित्र अवस्थित वास्तविक गुणहरूलाई प्रस्फुटन नै हुन नदिई यत्तिकै अस्ताउनेछ । त्यसैले गेडागुडीहरूलाई पानी र अन्य आवश्यक वातावरण दिएर उनीहरूभित्र अवस्थित गुणयुक्त जीवन प्रस्फुटन हुनमा मानिसले सहयोग गरे झैँ आफूभित्र विद्यमान अथाह अमृतमय गुणहरूलाई प्रस्फुटन गर्न आवश्यक प्रयासचाहिँ गर्नुपर्छ । अन्यथा आफूभित्र अवस्थित अमृततुल्य चेतन ऊर्जा र विराट गुणहरूको जीवनलाई समेत मानिसले आफूसँगै मार्नेछ । 

टिपी खनाल फेसबुकवालबाट 

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  १२ : ५३ बजे