‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं ।    कपिलवस्तु, मायादेवी गाउँपालिका–२ अभिराभस्थित सडकमा ना६त ५३६७ नम्बरको ट्याक्टरले किचेर सोही गाउँपालिका–४ चाकरचौडा बस्ने २२ वर्षीया ममता कलवारको बिहीबार मृत्यु भएको छ ।

ट्याक्टरले किचेर गम्भीर घाइते भएकी उनको सिटी हस्पिटल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त सडकमा यूपी ५३ ईडी ८३९१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई मोटरसाइकल दुर्घटना भएको र मोटरसाइकलमा सवार कलवारलाई उक्त ट्याक्टरको पछाडिको टायरले किचेको थियो । ट्याक्टर र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजार पिपलबोटस्थित सडकमा डडेल्धुराबाट गौली गाउँतर्फ जाँदै गरेको सुपप्र ०४–००१ च ०१३४ नम्बरको जिप अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार गन्यापधुरा गाउँपालिका–३ बस्ने ४५ वर्षीय कृष्ण भुलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य दुई जनालाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी कैलाली पठाइएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै बाँके राप्तिसोनारी गाउँपालिका–९ झिझिरी खोलास्थित सडकमा कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ज्ञानकुञ्ज इंग्लिस मिडियम बोर्डिङ स्कुल चप्परगौडीको ना४ख ४५७० नम्बरको बसको ठक्करबाट पैदलयात्री राप्तिसोनारी गाउँपालिका–९ खैरी बस्ने २६ वर्षीय गोविन्द वलीको बिहीबार घटनास्थलमै मृत्यु भएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । 

यसैगरी सिराहा, लहान नगरपालिका–१२ भोटिया चोकस्थित सडकमा ना१क २०१० नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने ५० वर्षीय बद्री विकको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ ।

उक्त सडकमा बा७२प ७६२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लडिरहेको अवस्थामा बद्री र उनका भाइ ईश्वर विकले मोटरसाइकल चालकलाई उठाउने क्रममा ट्रकले उनीहरूलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका मोटरसाइकल चालक र ईश्वरको विराट नर्सिङ होम विराटनगर मोरङमा उपचार भइरहेको छ । साथै दुर्घटनाको विषयलाई लिएर स्थानीयले कुटपिट गर्दा घाइते भएका ट्रक चालकको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ । 

त्यसैगरी सिन्धुली, सुनकोशी गाउँपालिका–१ बलुवास्थित सडकमा प्रदेश २–०२–००१ च ०४८७ नम्बरको बोलेरो र प्रदेश २–०३–००६ प ३७५५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाही चक्रघट्टा गाउँपालिका–२ बस्ने ३५ वर्षीय गणेश रायको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ५ : ५६ बजे