देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

रु. एक लाखसहित डा. रुइत सम्मान

मोरङ। प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइत र सनातन धर्म शंकरराचार्य पीठ वेद वेदवेदांग संस्कृत पाठशाला झापालाई आज यहाँ एक समारोहबीच सम्मान गरिएको छ ।

पूर्वप्रधानमन्त्री नगेन्द्र प्रसाद–आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा स्थापित रु. १ लाख राशिको ज्ञान विज्ञान पुरस्कार डा. रुइतलाई र रु. १ लाख राशिको धर्म संस्कृति पुरस्कार संस्कृत पाठशालालाई प्रदान गरिएको हो ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पुरस्कार प्रदान गर्दै आँखा उपचार क्षेत्रमा स्वदेश तथा विदेशमा ठूलो योगदान दिनुभएका डा. रुइतप्रति नेपाली जनता गौरव अनुभूति गरेको बताउनुभयो ।

उहाँले  हाम्रो देशमा विविध जातजाति, भाषासंस्कृति बसोबास गर्ने नागरिकबीच आपसी मेलमिलाप, एकता र धार्मिक सहिष्णुताबाट मुलुक र समाजमा समृद्धि कायम हुने विचार राख्नुभयो ।

प्रदेशका आन्तरिक मामिला तथा कानु मन्त्री लिलाबल्लभ अधिकारीले मुलुकको नाम विश्वमा फैलाउन सफल हुनुभएका डा. रुइतलाई सम्मान गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सीमित स्रोत साधनको अधिकतम उपयोग गरी नागरिकलाई स्वास्थ्य सेवा एवं नगरको विकासकार्य गरिरहेको विचार व्यक्त गर्नुभयो । 

सम्मानित व्यक्तित्व डा. रुइतले यस सम्मानबाट आफू खुसी भएको उल्लेख गर्दै जनताको अकाल मृत्युलाई जोगाउन सरकारले आवश्यक अनुगमनसहित गुणस्तरीय सवारी साधन र हवाई यातायातको प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष इन्दिरा रिजाल, सम्मानित संस्कृत पाठशालाका प्राचार्य लक्ष्मी खतिवडा र अच्युत प्रपन्नचार्य र प्रा.डा. हरिप्रसाद अधिकारीले समाजमा धर्म संस्कृतिको रक्षा गर्न हामी सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

स्व. रिजाल विस २०३० र २०४२ मा गरी दुई पटक प्रधानमन्त्री हुनुभएको थियाे । 

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ९ : ५२ बजे