‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कांग्रेस-एमालेबीच सत्ता समीकरणको लक्ष्य

यति बेला सत्ता समीकरणमा संलग्न भएका राजनीतिक दलका नेतृत्वहरूले बुझ्नुपर्छ– ‘देशको अवस्था बदल्न प्रत्येक नागरिकको मानसिक अवस्था बलियो र सोच सकारात्मक बनाउनुपर्छ न कि नागरिक निर्यात गरेर वस्तु आयात गर्ने नीतिको निरन्तरतामा रमाउने । विदेशको झिलिमिलीमा रमाउने र उतैको प्रगतिमा पसिना बगाउने चेतना भएको नागरिक तयार पार्दासम्म देशको अवस्थामा सकारात्मक परिवर्तन गर्न सकिँदैन ।’ नागरिकहरूलाई बुझाउनुपर्छ– ‘जुन माटोमा पसिना बगायो त्यही माटो उर्बर बन्छ अनि त्यो माटो देशको नै रोज्नुपर्छ ।’

अहिले आमजनता भ्रमित र गलत भाष्यमा परेर खराब राजनीति र राजनीतिक नेतृत्व पो ठीक हो कि भन्ने भ्रममा परेका छन् । यसले एकातिर राजनीतिक तथा संवैधानिक व्यवस्था विरोधीहरूको आत्मबल बढाएको छ भने अर्कातिर देशमा बाह्य एजेन्डामा राजनीति गर्नेहरूको गतिविधिहरू बढ्न थालेको छ ।

हामीले विगतको सत्ता समीकरण र त्यसको नेतृत्व अर्थात् प्रधानमन्त्री प्रचण्ड अनि आजको सत्ता समीकरण र यसको नेतृत्व अर्थात् प्रधानमन्त्री केपी ओली कुन र को बढी ठीक भन्नका लागि राजनीतिक घटना र नियतको सूक्ष्म विश्लेषण गर्न सक्नुपर्छ । राजनीतिक गुणदोष र वास्तविक अवस्थालाई मिहिन ढंगले हेर्नुपर्छ । अनि मात्र हामी ठीक निष्कर्षमा पुग्न र भन्न सक्छौं, प्रचण्ड ठीक कि ओली !

सार रूपमा हेर्दा प्रचण्डको नेतृत्वको सरकारमा वामपन्थी वर्चस्व त ओली नेतृत्वको सरकार दक्षिणपन्थीहरूको उत्तिकै वर्चस्व देखिन्छ । झट्ट हेर्दा यो हो पनि तर रूप र पक्ष हेरेर मात्र नहुने रहेछ किनभने रूपमा एउटा देखिने सारमा अर्को हुने प्रचण्ड प्रवृत्तिलाई पनि हामीले चिन्नु र बुझ्नुपर्छ । २०५२ साल अर्थात् हिजो वामपन्थी र क्रान्तिका नाममा प्रचण्डको नेतृत्वमा सुरु गरिएको सशस्त्र द्वन्द्वको राजनीति ठीक भन्न डा. बाबुराम भट्टराईलाई उपयोग गरिएको थियो । त्यो राजनीतिले प्रगति दियो कि क्षति हामीले देख्यौँ र भोग्यौँ पनि । हजारौँको जीवन गयो र ठूलो जनधनको क्षतिसँगै नेपालमा बाह्य हस्तक्षेप पनि बढ्यो । अब प्रचण्ड र उनको राजनीति ठीक थिएन भन्न कुनै अप्ठ्यारो पर्दैन ।

यतिखेर हामीले प्रचण्ड र बाबुरामलाई चिन्न र चिनाउन खोज्दा रवि र स्वर्णिमहरूका बारेमा पनि चर्चा गर्नु आवश्यक छ । किनभने हिजो वामपन्थी क्रान्ति राजनीतिको कुरा गरेर जनता भ्रमित बनाइएको थियो भने आज नयाँ वैकल्पिक दक्षिणपन्थी राजनीतिका नाममा गलत र भ्रमित भाष्यको जगमा नेपालको राजनीति फेरि प्रदूषित गर्न खोजिँदै छ । हिजो आन्दोलनमा डा. भट्टराईजस्तो विद्वान् लागेको भनेर जनता झुक्याइयो भने आज डा. वाग्लेजस्ता विदेशमा पढेको विद्वान् पनि लागेको भनेर जनता झुक्याउने प्रयास भइरहेको छ । जब कि न रविका सन्तान नेपालमा छन् न त वाग्लेका सन्तानहरू नै । हामीले बुझ्नुपर्छ, “जसका सन्तान नेपालमा छैनन् तिनले नेपालको स्वार्थ हेर्दैनन् ।”

लेखक तथा प्रशिक्षक डा. लिन इरिक्सन भन्छिन्, “बौद्धिकताबिनाको सूचनाको कुनै अर्थ हुँदैन ।” किनभने बौद्धिक सूचनामा सत्यता पनि हुन्छ । अहिले नेपालमा त्यही बौद्धिकताबिनाको सूचनालाई आधार बनाएर भ्रमित भाष्यको जगमा नयाँ र वैकल्पिक राजनीति भन्दै बहरहरूलाई स्थापित गर्न खोजिँदै छ । जबकि यो राजनीतिमा न विचार छ न त नेतृत्वमा उच्च नैतिकता नै । तैपनि तिनलाई राम्रो र बलियो देखाउन आन्तरिक तथा बाह्य लगानी भइरहेको छ ।

“राजनीतिमा विचार र नेतृत्वमा उच्च नैतिक चरित्र छैन भने त्यसलाई हामी जनताले बहिष्कार गर्न सक्नुपर्छ ।” अहिले जनतामा बढ्दो आक्रोश र निराशा घटाउन केपी ओली नेतृत्वको सरकारले जनतालाई सुशासन र समृद्धिको यात्रामार्फत ढुक्क हुने वातावरण बनाउन प्रशिक्षित गर्न सक्नुपर्छ । नत्र देशको राजनीति मात्र होइन देशको स्वतन्त्र अस्तित्वमाथि नै संकट आउन सक्छ । त्यसैले कांग्रेस र एमालेका नेताहरूले पनि जनताको बढ्दो निराशा घटाएर आशा बढाउन र आक्रोश घटाउन इमानदार भएर आआफ्ना क्षमताहरूको पूराका पूरा उपयोग गर्नुपर्छ ।

नेका र एमालेबीच जनतामा बढ्दो निराशालाई घटाउँदै आशा बढाउन र आक्रोश घटाउँदै राजनीतिक स्थिरता र संवैधानिक गतिशीलतासहित सुशासन र समृद्धि सुनिश्चित गर्ने लक्ष्यका साथ नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि एमाले र ओलीको विरोध बढ्न थालेको छ । किनभने राष्ट्रिय राजनीतिमा एमाले र ओली शक्तिशाली र निर्णायक भएकामा माझण्ड र बहरहरूको पेट पोल्न थालेको छ । यसको संकेत सञ्चार माध्यमहरूमा आएका समाचार, लेख तथा विश्लेषण र अन्तर्वार्ताहरू अनि सामाजिक सञ्जालहरूमा आएका नकारात्मक टिप्पणीहरूले गरेको छ । हुन त हिजो २०७४ पछि एमाले बलियो बनेको माझण्ड र दक्षिणलाई मन परेको थिएन । त्यसैले त माझण्डहरूलाई उपयोग गरेर नेकपा हुँदै नेकपा एमालेमा विभाजन गरेर परमादेशमार्फत २०७८ मा केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाइएको थियो ।

यति बेला माझण्ड र बहरहरूको बोली र व्यवहार नेकपा एमाले र प्रधानमन्त्री केपी ओलीका विरुद्धमा उस्तै देखिएका छन् जबकि बहरहरू र माझण्डहरू खासगरी प्रचण्डको विरोध गर्दै प्रत्यक्ष राजनीतिमा आएका थिए । त्यसैले आज हामीले बुझ्नुपर्छ, माझण्ड र बहरहरू बाह्य दक्षिणपन्थीहरूको स्वार्थ बलियो बनाउने लक्ष्यका साथ सक्रियता बढाइरहेका छन् । यो कुरो जनतालाई बुझाउनुपर्ने चुनौती थपिएको छ । सरकार र एमालेले गरेका राम्रै निर्णय र कामहरूको पनि विरोध हुनुको अन्तर्य जनतालाई बुझाउँदै राज्य सञ्चालन प्रभावकारी बनाउनुपर्ने भएको छ । यसले गरेको संकेत हामीले बुझ्नुपर्छ ।

हरेक मान्छेका सबल र कमसल पक्ष हुन्छन् । यो कुरो केपी ओलीको हकमा पनि लागु हुन्छ । तर हामीले व्यक्ति तथा परिस्थितिको विश्लेषण गर्दा सबभन्दा पहिले सबल पक्षलाई हेर्नुपर्छ । अनि कमसल पक्ष किन र कसरी सुधार्ने हो, सुझाव दिने क्षमता पनि हामीमा हुनुपर्छ । किनभने जीवनमा सिक्ने प्रक्रिया सधैँ नियमित भइरहन्छ । प्रधानमन्त्री केपी ओलीले विगतको कार्यकालमा भएका कमजोरीहरूबाट सिकेर त्यसलाई दोहोरिन नदिने संकेत देखाएका छन् । यसको हामीले प्रशंसा गर्नुपर्छ न कि आलोचना मात्रै ।

यतिखेर डा. जनार्दन आचार्य ‘नयाँ गठबन्धनबाट देशलाई कता लैजाँदै छन् ओली–देउवा ?’ शीर्षकमा शिलापत्रमा लेख्छन्, “आएका केही सूचनालाई आधार बनाएर देउवा र ओलीको सहमतिलाई आधार मानेर विश्लेषण गर्ने हो भने हाल नेपालले अंगीकार गरेको पश्चिमा मोडलको राजनीतिक पद्धति असफल भएको देखिन्छ । त्यसैले यो राजनीतिक प्रणालीप्रति आमजनतामा देखापरेका उग्र आक्रोश र असन्तुष्टिलाई मल्हमपट्टी गर्ने कुटिल चाल मात्र हो ।” यो लेख एउटा उदाहरण हो, जसले वर्तमान सत्ता समीकरणको सबल होइन कमसल पक्ष मात्र खोजेर जनमनोविज्ञानलाई अझ भ्रमित बनाउन खोजेको छ । त्यो पनि नामका अगाडि डाक्टर लेखिएको लेखकबाट । आज त सरकारलाई राम्रो काम गर्न प्रेरित गर्ने र दबाब बढाउने नियतले लेखकले लेख्ने सामथ्र्य देखाउनुपथ्र्यो ।

वास्तवमा आलोचना होस् कि पृष्ठपोषण दुवैमा तथ्य र तर्कहरू हुनुपर्छ । मतलव आलोचना र पृष्ठपोषणमा गुणस्तर पनि हुनुपर्छ । यो गुणस्तर हाम्रा पत्रकार, लेखक र सम्पादकहरूमा देखिएन । यही प्रवृत्ति हाम्रा प्राज्ञिकहरूमा पनि देखिएको छ । त्यसैले नेका–एमाले सत्ता समीकरणको विरोध गर्दा तथ्यसहित गर्नुपर्छ न कि जनतालाई भ्रमित बनाउने ढंगले सूचना, लेख तथा वार्ताहरू सम्प्रेषण गरेर । विगतलाई विश्लेषण गर्ने हो भने नेका–एमाले सत्ता समीकरणले देशलाई अप्ठ्यारो अवस्थाबाट बाहिर ल्याएको थियो । तसर्थ अहिले नै यो समीकरणको नकारात्मक टिप्पणी गर्नु हतार हुनेछ ।

जुन परिस्थितिमा नेका–एमाले सत्ता समीकरणबाट केपी ओली प्रधानमन्त्री बनेपछि जनता आशावादी देखिएका छन् । जनतामा देखिएको आशालाई निराशामा परिणत हुन नदिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डललाई स्वच्छ ढंगले सुशासन र समृद्धिको पक्षमा काम गर्ने बनाउनुपर्छ । कुनै वहानाबाजी गर्ने छुट छैन । त्यसैले ‘राजनीतिक स्थिरता र संवैधानिक गतिशीलता, सुशासन र समृद्धि सुनिश्चित गर्ने दृष्टिकोण र योजनाका साथ सरकार सक्रिय बन्नुपर्छ ।’

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ५ : ०१ बजे