युवाशक्तिको हैसियत के हो र युवासँग देशवासीले कस्तो अपेक्षा लिएका हुन्छन् भन्ने कुरा सन् १९४९ मा सफल भएको चिनियाँ क्रान्तिका विचारक माओ त्से तुङले युवालाई गरेको निम्न सम्बोधनबाट छर्लंग हुन्छ—
संसार तिम्रो हो, हाम्रो पनि हो तर अन्तिम विश्लेषणमा तिम्रो हो । जोश र शक्तिले भरिएका युवाहरू, बिहान आठ वा नौ बजेको घामजस्तै जीवनको फूलमा छौ । हाम्रो आशा तिमीसँग छ । संसार तिम्रो हो ।
सामाजिक–आर्थिक रूपान्तरणमार्फत विश्वमै सबैभन्दा ठूलो अर्थतन्त्र निर्माणको प्रतिष्पर्धामा होमिएको चीनले युवाशक्तिको सही परिचालन गरेको थियो, गर्दै छ र गर्ने छ भन्नेमा उसका नीति र व्यवहारले प्रस्ट पार्दछन् । छिमेकी मुलुकको उक्त अनुभवबाट नेपली समाजले समेत प्रेरणा लिनुपर्दछ । अन्यथा हामीहरू समृद्धि हासिल गर्ने नारामा मात्र सीमित हुन्छौं । ठूलो राजनीतिक परिवर्तनपछि हासिल भएको लोकतान्त्रिक गणतन्त्रका आयामहरूलाई सबैतिर विस्तारित गर्ने दिशामा समेत युवाको ठोस योगदान हुन सक्ने भएकाले राज्यका नीति–निर्माता र यसका कार्यान्वयनकर्ता गम्भीर बन्नुपर्दछ । यसका निम्ति अब ढिला गर्नु हुँदैन बरु भएका असल नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्दै युवाशक्तिलाई राष्ट्र निर्माणको महाअभियानमा लगाउनैपर्दछ ।
विगत केही अवधिदेखि नै नेपाली युवाहरू ठूलो संख्यामा विदेश गइरहेका समाचारहरू आइरहेका छन् । दैनिक दुई हजारभन्दा बढी युवा तथा विद्यार्थीहरूले खाडी तथा युरोपका देशहरू एवं अमेरिकासहित विभिन्न मुलुकमा रोजगारी र शिक्षा आर्जनका लागि स्वदेश छाडिरहेका हुन् । सन् २०२३ मा मात्र आठ लाखभन्दा बढी युवाहरू रोजगारीका लागि विदेश गएको आँकडाले बताउँछ । यति व्यापक मात्रामा आर्थिक रूपमा समेत उत्पादनशील युवाशक्तिको विदेश गमनले यहाँको अर्थतन्त्र, सामाजिक–सांस्कृतिक बनोट तथा राष्ट्रियताको विषयमा नकारात्मक प्रभाव पर्ने भनेर राजनीतिज्ञ, विशेषज्ञ र बुद्धिजीवीले चिन्ता प्रकट गर्न थालेको पनि निकै भइसक्यो ।
विद्यार्थी तथा युवा लक्षित नीति तथा कार्यक्रम ल्याएर उनीहरूको क्षमता र जाँगरलाई स्वदेशमै सदुपयोग गर्ने प्रयास पनि हुँदै आएका छन् । तर पनि काठमाडौंमा अवस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र होइन केही संख्यामा अरू देश भएर समेत मुलुकको भाग्य र भविष्यका जिम्मेवार युवाको लर्कोले मातृभूमि छाड्ने क्रम नरोकिनु गम्भीर विषय बनेको छ । त्यसो त भूमण्डलीकरण र सूचना तथा सञ्चारको यस युगमा आफ्नो र समाजको हितका खातिर विदेश जाने प्रवृत्तिलाई चटक्कै रोक्न भने सकिँदैन । अनि उनीहरूले आर्जन गरेको ज्ञान तथा सीपलाई विभिन्न माध्यमबाट स्वदेशको सेवामा लगाउन नसकिने पनि होइन ।
युवाहरू विद्यार्थी नहुन सक्छन् तर उच्च शिक्षा आर्जन गर्ने एकाध छाडेर बहुसंख्यक विद्यार्थी युवा नै हुन् । यस अर्थमा युवाहरू संगठित रूपमा रहेका हुन्छन् । प्रवृत्तिगत रूपमा युवा तथा विद्यार्थीहरू चेतना र जागरणका संवाहक समेत हुन् । विगतमा यहाँका युवालाई कुलतमा फसाउने तथा हिंसा र द्वन्द्वतर्फ भड्काउने प्रयास भएकै हुन् । तर आम रूपमा नेपाली युवाहरू प्रगतिशील कार्यदिशातर्फ नै उन्मुख भएको पाइन्छ । यदि यो समुदायलाई उचित शिक्षा र मार्गदर्शन दिने हो भने आफू मात्र चलायमान हुँदैन बरु सिंगो राष्ट्रका सम्पूर्ण पेसा, वर्ग, समुदायलाई उत्प्रेरित गर्न सक्षम बनाउन सकिन्छ । त्यसैले देशको समष्टिगत उन्नति र प्रगतिका निम्ति युवाशक्तिको सही परिचालन अपरिहार्य छ । तर खै किन हो लामो अवधिदेखि राज्यले उचित पथप्रदर्शन गर्न नसक्दा युवाहरूले देशको सामाजिक–आर्थिक विकासमा उल्लेखनीय योगदान गर्न सक्ने वातावरण बन्न सकिरहेको देखिँदैन । त्यसो त राष्ट्रियताको संवद्र्धन एवम् लोकतन्त्रको प्राप्तिका निम्ति युवा विद्यार्थीले निर्वाह गरेको भूमिका अतुलनीय र अविस्मरणीय छ ।
हाम्रो देशमा १४ देखि ४० वर्ष उमेर समूहको जनसंख्या कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी नै छ । यस उमेर समूहको जनसंख्या उल्लेख्य मात्रामा हुनु देशको समग्र विकासका निम्ति एउटा अवसरको रूपमा ठानिन्छ । युवाको समग्रमा विकास गर्ने हेतुले युवा तथा खेलकुद मन्त्रालयसमेत स्थापना गरिएको छ । राष्ट्रिय युवा नीति, २०७२ ले गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले युवाको सर्वांगीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरूरी छ भन्ने विश्वास लिएको छ । युथ भिजन २०२५ को कार्यान्वयन कार्ययोजना २०७५ ले युवालाई सबल, सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै उनीहरूको सार्थक सहभागिता र नेतृत्व क्षमताको विकासमार्फत आधुनिक, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण हुनेछ भन्ने सोच लिएको छ । युवाको चातुर्दिक विकासका लागि जारी यी नीतिहरूको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो ।
मुलुकबाट युवाहरू विदेश पलायन हुनुको प्रमुख कारण रोजगारीको अवसर नै हो । स्वदेशमा रोजगारीको मौका नपाउँदा आफ्नो र परिवारको जीविका र उन्नयनका लागि युवाहरू विदेसिने गरेका छन् । तर जुन उत्साहका साथ युवाहरू परदेश हेलिएका छन् सो अनुसारको कमाइ नहँुदा परिवारको आर्थिक अवस्था सुध्रिन सकेको छैन भने युवाहरू पारिवारिक विग्रहसहित अनेकौँ कष्टहरू झेल्नसमेत विवश छन् । अलि पढेलेखेका, ज्ञानसीप आर्जन गरेका युवाले तुलनात्मक रूपमा राम्रो रोजगारी पाउन सफल भए पनि शिक्षादीक्षा र कौशल नभएका युवाहरू येनकेन वैदेशिक रोजगारीमै टाँसिनुपर्ने बाध्यता छ । पराई देशमा बगाएको पसिना स्वदेशका लागि होइन अर्कैको विकासका लागि उपयोग भएको छ ।
स्वदेशमा गुणस्तरीय शिक्षाको व्यवस्था गर्न नसक्दा शिक्षा आर्जनका साथै राम्रो रोजगारी पाउने आशामा नेपाली विद्यार्थीहरू मोटो रकम खर्चेर युरोप, अमेरिका, अष्ट्रेलिया, क्यानडाजस्ता विकसित देशहरूमा गइरहेका छन् । यस्ता विकसित मुलुक गएका अधिकांश युवाहरू अनेकाँै उपाय निकालेर त्यतै बसोवास गर्ने प्रवृत्तिसमेत छ । कतिपयले उच्चकोटीको शिक्षा आर्जन गर्न सफल भए पनि अधिकांशले कमाएको ठूलो रकम विश्वविद्यालय र कलेजमा खर्च गर्ने तर अनेकौँ दबाबले गर्दा राम्रो शिक्षा पनि नपाउने र पैसासमेत नकमाउने प्रवृत्ति देखिएको छ । यी देशहरूमा गएका केहीले त आत्महत्या गरेर जीवन नै समाप्त पार्ने र परिवारलाई समेत जिन्दगीभर आँसुको भेलमा डुबाइरहेको अवस्था छ ।
यसरी समग्रमा चाहे शिक्षा आर्जन गर्न होस्, चाहे श्रम गरेर घरको आर्थिक अवस्था सुधार्नका लागि गएको युवा विद्यार्थी होस् दुवै खाले प्रवृत्तिबाट मुलुकले उल्लेख्य लाभ लिन सकेको छैन । यति चाहिँ पक्कै भन्न सकिन्छ कि विप्रेषणबाट नेपाली अर्थतन्त्र अस्थायी रूपमै भए पनि लाभान्वित भएको छ । नेपाली युवा विद्यार्थीका गन्तव्य देशहरूमा अर्थिक समस्या, राजनीतिक जटिलता उत्पन्न हुनासाथ निन्याउरो अनुहार लिएर उनीहरू स्वदेश नै फर्किनुपर्ने बाध्यता देखिएको छ । हालै बंगलादेशमा राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनका कारणले त्यहाँ मूलतः चिकित्सा शिक्षा अध्ययनरत हजारौँ विद्यार्थीहरूले ज्यान जोगाउन पढाइ छाडेर घर फर्किनुपरेको छ । यसबाट विद्यार्थीको आर्थिक क्षति मात्र भएको छैन पारिवारिक चिन्ता र अब पठनपाठनको अवसर कहिले मिल्ने हो र पढाइ सक्ने हो भन्ने थप तनाव सिर्जना भएको छ ।
नेपाल प्राकृतिक सम्पदाले सम्पन्न मुलुक भएकाले जलविद्युत् मार्फत ऊर्जा उत्पादन, खानीबाट खनिज उद्योग सञ्चालन, जडीबुटी प्रशोधन, कृषियोग्य जमिनबाट खाद्यान्न उत्पादन तथा कृषि आधारित उद्योगको प्रवद्र्धन गर्न सकिने ठूलो सम्भावना रहेको छ । यसको सही सदुपयोग हुन सक्दा हरेक वर्ष श्रम बजारमा आउने करिब पाँच लाख युवा जनशक्तिलाई स्वदेशमै रोजगारी दिन कुनै गाह्रो हुँदैन । यसैगरी यहाँ पर्यटन रोजगारी सिर्जना गर्ने क्षेत्र हो । खेल पर्यटन, खाद्य पर्यटन, साहसिक पर्यटन, योग तथा प्राकृतिक चिकित्साबाट लाभ लिने गरी स्वास्थ्य पर्यटन, बुद्ध जन्मस्थल तथा पाशुपत क्षेत्रको धार्मिक पर्यटन जस्ता क्षेत्रमा मनग्य रोजगारी दिन सकिने अवस्था छ । आर्थिक उपार्जन हुने यी उर्वर क्षेत्रको सदुपयोग गर्नु आजको आवश्यकता हो ।
मुलुकको आर्थिक विकासका लागि राजनीतिक स्थायित्व अति आवश्यक विषय भएको सन्दर्भमा नेकपा (एमाले) र नेपाली कांग्रेसजस्ता लामो इतिहास बोकेका ठूला राजनीतिक दलहरूले अरू दलसमेत लिएर संयुक्त सरकार गठन गरी सुशासनसहित सामाजिक आर्थिक विकासमा समर्पित हुने प्रण गरेका छन् । नेपाली जनतालाई आफ्नै बलबुतामा विकास हुन सक्छ भन्ने आशा र भरोसा जगाउन सफल राजनेता केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा बलियो सरकार गठन भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा संकल्प साकार पार्ने दिशामा केही वर्ष पहिलेदेखि नै समर्पित हुनुभएका प्रधानमन्त्री ओलीले यसपटक ठूलो सफलता हासिल गर्नुहुनेछ भन्नेमा धेरैले विश्वाससमेत लिएका छन् । देशमा हुने यस्तो विकासबाट युवा विद्यार्थीहरू अवश्य लाभान्वित हुनेछन् र उनीहरू विदेशतर्फ लर्को लाग्न बाध्य हुनुभन्दा स्वदेशमै पढ्न र श्रम गर्न प्रेरित हुनेछन् । अर्थात् सामाजिक–आर्थिक रूपान्तरणसहितको स्वाधीन, सबल र आत्मनिर्भर अर्थतन्त्र भएको मुलुक नै यस्तो परिवेश हो, जसले युवा विद्यार्थीलाई स्वदेशमै टिकाउँछ र उनीहरूले निर्धक्क भएर आफ्नो योग्यता र क्षमतालाई मातृभूमिकै सेवामा सदुपयोग गर्न सक्ने अवस्था हुन्छ । त्यसैले नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, कर्मचारीतन्त्र लगायत राज्य र समाजका सम्पूर्ण अंग र निकायहरू यस दिशामा परिचालित हुनैपर्दछ ।
प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार २ : ३४ बजे
प्रतिक्रिया