रौतहट । सादा पोशाक अर्थात् घुमुवा प्रहरीको करामतले बद्नाम रौतहटको चन्दरनिगाहपुरमा एकजना नक्कली घुमुवा प्रहरी पक्राउ परेको प्रहरीले आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय माधव नारायण नगरपालिका १ का रामबली साहको छोरा २४ वर्षीय रमेश साह रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन् ।
उनलाई सार्वजनिक मुद्दा अन्तर्गत अभद्र व्यवहार मुद्दा दायर गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिएकी छन् ।
गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत डुमरिया बजारमा गत मंगलबार राती ११ बजे आरोपी रमेशले आफू सादा पोसाकको घुमुवा प्रहरी हूँ भन्दै केही मानिसको जिउको खानतलासी गर्ने र पैसा वसुल गर्ने योजनामा रहेको भनी इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरमा सूचना आएको थियो ।
सूचना लगत्तै प्रहरी टोलीले आरोपी रमेश साहलाई नियन्त्रणमा लिएर उसले बोकेको झोला चेकजाँच गर्दा सशस्त्र प्रहरीको एकथान तयारी पोसाक समेत बरामद भएको थियो ।
हाल आरोपी इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार १२ : ५१ बजे
प्रतिक्रिया