‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विकास र समृद्धिको प्रश्नले मात्र जनतालाई बाँधेर राख्न सकिँदैन : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिको प्रश्नले मात्र जनतालाई बाँधेर राख्न नसक्ने बताउनुभएको छ । 

बुधबार आयोजित पार्टीको जनसंगठन संयन्त्रको बैठकमा बोल्दै महासचिव पोखरेलले पछिल्लो अवधिमा शेख हसिनाको नेतृत्वमा बंगलादेशले गरेको विकास र समृद्धि दक्षिण एसियाकै नमुना विकास भएको बताउनुभयो । त्यति हुँदाहुँदै पनि हसिनाले देशबाटै लखेटिनुपर्ने स्थिति आएको पोखरेलले बताउनुभयो । ‘एउटा मुद्दाले उहाँले देश छाड्नुपर्‍यो’, पोखरेलले भन्नुभयो । 

त्यो घटनाले राजनीति गर्नेले जनभावनालाई आत्मसात् गर्नुपर्ने शिक्षा लिनुपर्ने पोखरेलको भनाइ छ । ‘जनभावनालाई आत्मसात् गर्ने कुरा राजनीति गर्नेका लागि महत्त्वपूर्ण शिक्षा हो भन्ने कुरा देखाउँछ, विकास र समृद्धिका मुद्दाले मात्रै सबै कुरा हल हुँदैन’, पोखरेलले भन्नुभयो । 

आज बंगलादेशमा जुन प्रकारको राजनीतिक परिवर्तन भएको छ, त्यो अस्वाभाविक भएको पोखरेलले बताउनुभयो । तर जनताले नै अस्वीकार गरेपछि शासन गर्ने अर्को आधार हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।

बंगलादेशमा चुनावको बेला दुईतिहाई मत ल्याउन सफल पार्टीले केही समय पछि सत्ता छाड्नुपर्ने स्थिति आउनु जनताको मुड कतिखेर परिवर्तन हुन्छ भन्ने कुरा भन्न नसकिने उदाहरण भएका पोखरेलले सुनाउनुभयो । 

एउटा घटनाले जनताको भावना कति चाँडो परिवर्तन हुन सक्छ भन्ने कुरालाई सधैँ ख्याल राख्नुपर्ने पोखरेलले बताउनुभयो । यस्तो परिस्थितिलाई विश्लेषण गरेर जनसंगठनहरूलाई पार्टीलाई बेलाबेलामा सुझाव दिन पोखरेलले आग्रह गर्नुभयो । 

पोखरेलले नेपाल र बंगलादेशको अवस्था फरक रहेको पनि बताउनुभयो । बंगलादेशमा एकल शक्ति निर्माण भइसकेको अवस्था भएको बताउँदै पोखरेलले नेपालमा बलियो स्वीकार्य राष्ट्रिय शक्ति समेत बन्न नसकेको बताउनुभयो । ‘यहाँ शक्ति नै बनेको छैन, त्यहाँ शक्ति केन्द्रीकरण भएर दुरुपयोग भन्ने कुरा हो’, उहाँले भन्नुभयो ।  

सामाजिक मनोविज्ञानलाई प्रभाव पार्ने विषय भने सबै ठाउँमा कुनै न कुनै हिसाबले उस्तै हुने कुरामा भने सचेत हुनु पर्ने पोखरेलले बताउनुभयो । त्यसले सामाजिक सञ्जाललाई सही बाटोमा डोर्‍याउने कुरामा जनसंगठनको भूमिका  महत्त्वपूर्ण हुने उहाँले स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ६ : ३१ बजे