साफ यू–१७ च्याम्पियनसिप आजदेखि

चोर बाटोबाट चामल आयात, भन्सार विभाग बेखबर

काठमाडौं । चोर बाटोबाट चामल भित्रिएको कारण आयात घटेको छ । प्रत्येक वर्ष बढ्दै आएको चामल आयात गत वर्ष घटेको हो । 

आर्थिक वर्ष २०७९/८० को तुलनामा चामल आयात ४८ दशमलव ५५ प्रतिशतले घटेको छ । त्यसअघि आव २०७८/७९ को तुलनामा चामल आयात ६९ प्रतिशतले घटेको छ । 

चामल आयात उच्च दरले घट्नुमा चोरी पैठारीलाई कारणलाई मानिएको छ । भारतले चामल निकासीमा लगाएको प्रतिबन्ध र निकासी शुल्क २० प्रतिशत पु-याउँदा नेपाली व्यापारीले भन्सारबाट चामल आयात गर्न छोडेर चोरीपैठारीको बाटो अपनाएको देखिएको छ । 

गैरभन्सारबाट चामल आयात बढ्नुमा राजनीतिक संरक्षण र कर्मचारीको मिलेमतो हुन सक्ने बताइएको छ । यो वर्ष भारतले केही महिना चामल निर्यातमा लगाएको प्रतिबन्धले पनि चामल आयात केही घटेको छ । 

भन्सार विभागको तथ्यांकअनुसार आव २०७८–७९ मा १३ लाख ३४ हजार ३३० टन चामल आयात भएको थियो । यस्तै आव २०७९/८० मा करिब आधा घटेर ७ लाख ९६ हजार ७३१ टन चामल आएको थियो । 

आव २०८०–८१ मा आउँदा चामल आयात ४ लाख ९ हजार ८४२ टनमा झरेको छ । यो तथ्यांकअनुसार आव २०७८/७९ का तुलनामा गत आव ९ लाख २४ हजार ४८८ टन चामल कम आएको देखिन्छ । यस्तै अघिल्लो आवको तुलनामा गत आवमा ३ लाख ८६ हजार ८८९ टन चामल थोरै आयात भएको छ ।

आव २०७८/७९ मा ५० अर्ब ७८ करोड ६९ लाख रुपैयाँबराबर आयात भएको चामल गत आवमा २२ अर्ब २३ करोड ३० लाख रुपैयाँमा झरेको छ । आयातमा गिरावट देखिए पनि नेपाली बजारमा चामल अभाव छैन । 

यसले चामल भन्सार छलेर चोरीपैठारी भई आएको आशंका गरिएको छ । भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार चामल आयातमा कमी आउनुमा भारत सरकारले निकासीमा लगाएको प्रतिबन्ध रहेको हुन सक्छ । 

भारतमा धान उत्पादनमा कमी आएको र आन्तरिक माग धान्न नसक्ने अवस्था आएपछि निकासीमा केही समय प्रतिबन्ध लगाइएको थियो । जसको कारण चोरीपैठारी बढेको आकलन गरिएको छ । खुला सीमाको फाइदा उठाएर चोरीपैठारी गर्दा चामल आयातमा कमी आएको हुन सक्ने देखिएको छ । 

चामल आयातमा कमी भए पनि बजारमा अभाव देखिएको छैन । बरु मूल्यवृद्धि बढेको छ । ठूलो परिमाणमा चामल आयातमा कमी आउनुलाई आन्तरिक उत्पादन वृद्धि भएको र चामल उपभोग गर्ने मानिसले अरू नै खाद्यान्न उपभोग गरेको हुनुपर्ने खाद्य विज्ञहरूले बताउने गरेका छन् । 

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आव २०७८/७९ मा ५६ लाख २१ हजार टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार टन धान उत्पादन भएको छ । यो दुई वर्षमा धान उत्पादन १ लाख ३ हजार टन मात्र बढेको छ ।

२०७९/८० मा ५४ लाख ८६ हजार ४ सय ७२ टन उत्पादन भएको थियो । गत वर्षभन्दा यो वर्ष २ लाख ३७ हजार टन मात्र धान बढी फलेको देखिन्छ । तर, यो वर्ष चामल आयात गत वर्षभन्दा ३ लाख ८६ हजार टन कम भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १२ : १६ बजे