‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

रासायनिक मललाई भन्सार जाँचपासमा प्राथमिकता दिन कृषिमन्त्री अधिकारीको निर्देशन

वीरगञ्ज (पर्सा) ।  कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले विदेशी मुलुकबाट आयात हुने रासायनिक मलको भन्सार जाँचपास प्रक्रियालाई उच्च प्राथमिकतामा राख्न वीरगञ्जका दुवै भन्सार कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । 

आज सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको छुट्टाछुट्टै अनुगमन गर्नुहुँदै मन्त्री अधिकारीले आयातीत रासायनिक मलको भन्सार जाँच प्रक्रियालाई सहज र सरल बनाउनसमेत आग्रह गर्नुभयो । “रासायनिक मलको भन्सार जाँचपासमा ढिलासुस्ती हुँदा कृषकले मल अभावको सास्ती भोग्नुपर्ने हुन्छ । त्यसैले जाँचपासमा उच्च प्राथमिकतामा राखेर छिटोछरितो बनाउनुहोला”, मन्त्री अधिकारीले भन्नुभयो । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले रासायनिक मलको प्राविधिक जाँचको रिपोर्ट आउनेबित्तिकै भन्सार पास हुने गरेको जानकारी गराउनुभयो । “विदेशी मुलुकबाट आयात गरिने रासायनिक मलको ल्याबमा प्राविधिक जाँच गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “प्रयोगशालामा मलको जाँच नगरीकन कृषकलाई वितरण गर्न मिल्दैन । त्यसैले रिपोर्ट आएपछि सोहीअनुसार छिटोछरितो काम गरिरहेका छौँ ।”

एकीकृत जाँचचौकीमा भारतबाट मालवाहक सवारीसाधन तथा ट्रेलरमा रासायनिक मल र अन्य वस्तु तथा सामान आउने गरेको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख धनबहादुर बरुवालले कार्गाेबाट आउने रासायनिक मलको भन्सार जाँचपास प्रक्रियामा आवश्यक सहजीकरण भइरहेको जानकारी दिनुभयो । 

कृषि सचिव दीपककुमार खरालले केरा र अन्य फलफूलको ‘एचएस कोड’ एउटै हुँदा स्वदेशी केराखेती गर्ने कृषक मर्कामा परेकाले पनि यो समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्न आग्रह गर्नुभयो । 

मन्त्री अधिकारीले आजै खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, क्वारेन्टाइन कार्यालय (आईसीपी) र कृषि सामग्री केन्द्र प्रादेशिक कार्यालयलगायतको अनुगमन गर्नुभएको थियो । 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ६ : ४६ बजे