‘नेशनल डे कन्सर्ट’ सम्पन्न

श्रीलंकालाई हराउँदै भारत काभा भलिबलको फाइनलमा

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा भारतले श्रीलंकालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै भारत फाइनलमा पुगेको हो । भारतले खेलको पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो । 

त्यस्तै, खेलको तेस्रो तथा अन्तिम सेट भारतले श्रीलंकामाथि २५–२३ को जित निकाल्यो । खेलको तेस्रो सेटमा भने श्रीलंका प्रदर्शन उत्कृष्ट रहेको थियो । श्रीलंकाले १२–८ को अग्रता लिएपछि भारतलाई केही समय कठिन परेको थियो तर त्यो अग्रता श्रीलंकाले लामो समयसम्म जोगाउन सकेन । त्यसपछि भारतले लगातार चार अंका बटुल्दै खेललाई १२–१२ को बराबरीमा ल्यायो ।

त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट अन्त्यमा भारतले २५–२३ ले आफ्नो पक्षमा पा-यो । आजै हुने दोस्रो सेमिफाइनल खेलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुँदै छ  । उक्त खेलको विजेतासँग भारतले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । 

दोस्रो सेमिफाइनल खेल आज सवा ५ बजेदेखि सुरु हुनेछ । यसअघि समूह चरणको खेलमा इरानसँग नेपाल ३–२ ले पराजित भएको थियो । सोही हारको बदला लिँदै नेपाल फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ६ : ०३ बजे